२८ हजारको साउदीको टिकटलाई ६५ हजार

पर्यटन बजार१० बैशाख २०७८, शुक्रबार मा प्रकाशित

२८ हजारको साउदीको टिकटलाई ६५ हजार

बैशाख १० ,काठमाडौं । नेपालबाट साउदी अरब जाने एयरलाइन्सहरुले टिकटको आफूखुसी मूल्य राखेपछि नेपाली कामदारहरु प्रभावित भएका छन् ।नेपालबाट साउदी अरब जान २८ हजार रुपैयाँ रहेको टिकटको मूल्य अहिले ६० देखि ६५ हजार रुपैयाँसम्म पुर्याइएको छ ।

भारतबाट साउदी अरब जान प्रतिबन्ध भएपछि भारतीय कामदार नेपाली बाटो हुँदै साउदी अरब जान थालेपछि यात्रुको चापको कारण देखाउँदै एयरलाइन्स कम्पनीहरुले टिकटको मूल्य दोब्बरले बढाएका हुन् ।

कतार एयरवेज, ओमान एयरवेज, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले २८ हजार टिकटलाई ६० देखि ६५ हजार रुपैयाँ लिएर कामदार लैजाने गरेका छन् । धेरै एयरलाइन्सले नेपालबाट कतार ट्रान्जिट बनाएर त्यहाँबाट साउदी पुराउने गरेका छन् ।

भारतमा कोरोना भाइरस संक्रमण तीव्र भएपछि साउदीले भारतीय कामदारलाई साउदीमा रोक लगाए पनि कोभिड परीक्षण र नेपालमा क्वारेन्टाइन बसेको कागज बनाएर भारतीय कामदार काठमाडौंबाट साउदी जान थालेपछि एयरलाइन्स कम्पनीहरुले आफूखुसी टिकटको महँगो बनाएका हुन् ।

एयरलाइन्स कम्पनीहरुले महँगोमा भारतीय कामदारलाई टिकट बेच्न थालेपछि नेपाली कामदारले टिकटसमेत पाउन मुस्किल रहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

संघका सचिव सुजित श्रेष्ठले एयरलाइन्स कम्पनीहले मनपरी टिकटको मूल्य लिन थालेपछि यस विषयमा वैदेशिक रोजगार विभागमा पनि ध्यानाकर्षण गराएको बताए । एयरलाइन्सहरुले पहिले २८ हजार रहेको टिकट अहिले ६५ रुपैयाँ हजार लिइरहेका छन । ट्राभल एजेन्सी र एयरलाइन्स कम्पनीहरुको मिलेमतोमा टिकट महँगो बनाइएको उनले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले टिकटको मूल्य बढेपछि अहिले साउदीले कामदार होल्ड गरिरहेको बताए । ‘उतैबाट टिकट आउने भए पनि भाडा महँगो भएका कारण कामदार नपठाउ भन्न थालेको छ,’ उनले भने ।

भारतमा कोरोना बढी भयो भनेर भारतबाट जान रोक लगाएको हो तर नेपालबाट भारतीय कामदार पठाउँदा नेपाली कामदारलाई पनि रोक लगाउन सक्ने उनले बताए । ‘यहि बहानामा टिकट पनि महँगो बनाएको छ, सरकारले यसमा निगरानी गरेर कारबाही गर्नुपर्ने हो तर चासो राखेको पाइँदैन,’ उनले भने ।

नेपालस्थित कतार एयरवेजका एक अधिकारीले महँगो टिकट भारतीय कामदारलाई मात्र लिइएको र अरू एयरलाइन्सले १ लाख रुपैयाँसम्म लिइरहेको बेला आफूहरुले ६५ हजार रुपैयाँ मात्र लिएको बताए ।

Facebook Comment

छुटाउनुभयो कि?