रौतहटमा आज मध्यराति १२ बजेबाट निषेधाज्ञा जारी

पर्यटन बजार२४ बैशाख २०७८, शुक्रबार मा प्रकाशित

रौतहटमा आज मध्यराति १२ बजेबाट निषेधाज्ञा जारी

वैशाख २४, काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रौतहटमा पनि आज मध्यराति १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार साँझ एक सूचना जारी गरी उक्त जानकारी गराएको हो । जिल्ला प्रशासन कार्यालय गौरमा बिहीबार बसेको बैठकले वैशाख ३१ गते सम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

रौतहटका प्रजिअ ईन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले सो अवस्था रोक थामको लागि निषेधाज्ञा गरिएको जानकारी दिएका छन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । 

पसल तथा हाटबजार तत्काललाई सञ्चालनमा ल्याउन नपाइने रौतहट प्रशासन द्वारा जारी सूचनामा उल्लेख छ । होटल तथा रेष्टुरेन्ट, जीमखाना, पार्लर, शैक्षिक संस्था, ट्युसन सेन्टरहरु पूर्णरुपमा बन्द गराउन निर्देशन दिइएको प्रजिअ ईन्द्रदेव यादवले बताएका छन् । सरकारी कार्यालयको हकमा अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका कार्यालयले आलोपालो काम सुचारु गर्ने भनिएको छ ।

विवाहमा बढीमा १५ जना दुई गाडीमा बेहुला र बेहुलीसहित ब्यानर राखेर हिँड्न पाइने छ । प्रशासनले संक्रमण दर बढ्दै गएकाले निषेधाज्ञाको आदेश कडाइका साथ पालना गर्ने र गराउने गरी निषेधाज्ञा जारी गरिएको जनाएको रौतहट प्रहरी प्रमुख एसपी सिद्दी बिक्रम शाहले जनाएका छन् । निषेधाज्ञा जारी भएको अवस्थामा अत्यावश्यक सेवा र कामकाज बाहेक पैदलयात्री हिँडडुल गर्न पाइने छैन ।

निषेधाज्ञाको बेवास्ता गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारवाहीको दायरामा ल्याइने उनले चेतावनी दिएका छ । बिहीबार साँझसम्म रौतहटमा कोरोना को कारण ९ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या २५१ पुगेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?