खराब मौसमका कारण सगरमाथा आरोहण प्रभावित

पर्यटन बजार३ जेष्ठ २०७८, सोमबार मा प्रकाशित

खराब मौसमका कारण सगरमाथा आरोहण प्रभावित

जेठ ३, काठमाडौं। अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ ।

मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिएकी छन्।

‘मौसम प्रतिकुल हुँदा अहिले आरोहण भएको छैन’, आधार शिविरबाट आचार्यले भनिन, ‘यतिबेला सयौँ आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा हुनुहुन्छ ।’ यस वर्ष वसन्त यामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि सुरु भएको थियो ।

उक्त दिन शेर्पा आरोहीको टोलीले बाटो बनाउने क्रममा शिखर पुगेसँगै व्यावसायिक आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । त्यसपछि वैशाख २८ र २९ गते सयौँ आरोही सगरमाथाको शिखरमा पुगेका थिए। यो समयमा दुई विदेशी आरोहीको मृत्यु भएको छ ।

दुई दिनमा करीब १५० भन्दा बढी आरोहीले सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको अनुमान गरिए पनि कोरोना सङ्क्रमणका कारण यकिन तथ्याङ्क सङ्कलनमा समस्या भएको नर्देशक आचार्यको भनाइ छ । उनका अनुसार आमादब्लम हिमालको आरोहण सकिएको छ भने लोत्से, नुप्त्से लगायतको हिमाल आरोहण हुने क्रम जारी छ ।

मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएको भन्दै उनले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताए । मौसम अनुकूल हुने बित्तिकै पुनः शिखरतर्फ जाने क्रम शुरु हुने उनको भनाइ छ ।

अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न-नगराउन मौसमविद्ले सुझाव दिएका छन् । मौसमविद् मीनकुमार अर्यालका अनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ ।

‘भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ’, मौसमविद् अर्यालले भने, ‘यो समयमा उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना हुन्छ, त्यसैले सतर्कता अपनाउन आवश्यक छ ।’ यस वर्षको वसन्त याममा सगरमाथासहितका हिमाल आरोहणका लागि ८५ समूहका ७४२ आरोहीले अनुमति पाएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?