सहमतिको सरकार बनाउनुस् म साथ दिन तयार छु – प्रधानमन्त्री ओली

पर्यटन बजार७ जेष्ठ २०७८, शुक्रबार मा प्रकाशित

सहमतिको सरकार बनाउनुस् म साथ दिन तयार छु – प्रधानमन्त्री ओली

जेठ ७, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कायम गर्ने र सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले सहमतिको सरकार बनाउने प्रस्ताव गरेका हुन् ।

उनले अघि भने, ‘म त अहिले पहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड १९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’

त्यस्तै ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएकोप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको दावी गरे ।

‘राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपति अपमान गर्ने काम राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो’ उनले भने ‘आफ्नो अनुकुल भएन भनेर …।’

प्रधानमन्त्री ओलीले विरोध गर्नेहरुले राष्ट्रपतिको संवैधानिक काम कर्तव्य नबुझेको दावी गरे ।

‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’

उनले आफ्नो कदमको अदालतले ब्याख्या गर्ने पनि जिकिर गरे । ‘संविधानको ब्याख्या गर्ने, स्वतन्त्र न्यायपालिका होला पहिले पनि ब्याख्या गरेको देखकै हो’ उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा गर्न नपर्ने बताएका छन् ।

उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा दिनुपर्ने संविधानमा व्यवस्था नभएको जिकिर गरे । ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’ उनले प्रश्न गरे ।

आफूले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था भए पनि आफूले लिन नचाहेको प्रधानमन्त्री ओलीले बताए । ‘मैले विश्वासको मत लिन आवश्यक ठानिन भने के गर्ने ? संविधानमा त छैन, संविधानमा छैन भने अर्को विकल्पमा जाने, विकल्प रोकिएको छैन’ उनले भने ।

आफूले राजीनामा दिए पनि, मार्गप्रशस्त गरे पनि, त्यसै गए पनि धारा ७६ (५) कै प्रक्रियामा जानुपर्ने प्रधानमन्त्री ओलीले बताए । उनले आफूले राजीनामा नदिए पनि र विश्वासको मत नलिए पनि सरकार गठनका लागि सबै विकल्प खुला गरेको जिकिर गरे ।

Facebook Comment

छुटाउनुभयो कि?