कृषि उत्पादनमा मानसरोवरको छलाङ

पर्यटन बजार२१ जेष्ठ २०७८, शुक्रबार मा प्रकाशित

कृषि उत्पादनमा मानसरोवरको छलाङ

जेठ २१, काठमाडौं। कृषि पनि मर्यादित पेसा, व्यवसाय हो भन्ने मान्यता सिर्जना गर्दै छ , मानसरोवर कृषि सहकारी संस्था ले । झट्ट सुन्न साथ ऋण तथा बचत सहकारी को भ्रम धेरैलाई पर्ने भएतापनि मानसरोवर कृषि बालीको उत्पादन कर्ता हो । जहाँ ५०० जना स्थानिय सदस्यहरू रहेका छन्।

हाल सम्म करिब ५ करोडको लगानी गरिसकेको यस सहकारीले नमुना कार्य गरेर जिल्लालाई नै चर्चामा ल्याउन सफल भएको छ ।

खुला खेती सुरु गरेको सहकारीले यस वर्ष थप ३ ओटा टनेल थपेर १३ वटा टनेल निर्माण गरिसकेको छ । सहकारीले टनेल, नमुना र खुलाखेती गरेर तीन तरिकाले खेती गरेको छ । नमुना खेतीमा टनेलबाहिर जमिनलाई व्यवस्थित गरी प्लास्टिकको मल्चिङ प्रविधि प्रयोग गरेर खेती गरिएको छ । टनेलभित्र बोडी, काँक्रा खेती लगाइएको छ ।

निर्माण सम्पन्न टनेलमा हाल बोडी, रायोको साग,  तयारी गरिएको छ । सहकारीले खुला रूपमा कुरिलो, भिन्डी, करेला, फर्सी, बेसार ,घिरौंला लगाएको छ । यस वर्ष एक बिघा जमिनमा ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादित कोलाको बिरुवा लगाउने तयारीसमेत छ ।

स्थानीय किसानलाई विभिन्न उपसमूहमा विभाजन गरेर सहकारीलगायतले विगत केही समयदेखि बाख्रापालनसमेत गर्दै आइरहेका छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश–१ ले नमुना बाख्रापालन कार्यक्रमका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ भने बाँकी २५ प्रतिशत लगानी सदस्यले गरेका छन् । अहिले खोरमा १२० वटा बाख्रा रहेका छन् । बाख्रामा बोयर जातको बाख्रा सँग ब्रीड  गराई ५० बाट बढाएर १२० पुर्याइएको हो ।

सहकारीले खेती गर्ने योजना बनाएपछि दमक नगरपालिकाले कृषि प्राविधिकसमेत व्यवस्था गरिदिएको छ । कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणसमेत सहकारीले नै गर्दै आइरहेको छ, जसले गर्दा एकीकृत खेती गर्न सहज हुने भएकाले किसान आकर्षित हुने क्रम पनि बढ्दो छ ।

विश्वभर फैलिएको कोरोना महामारीमा सहकारीले उत्पादन गरेको अर्गानिक तरकारी होम डेलिभरीमार्फत उपभोक्ताको घर–घरमा पु-याइएसँगै जनस्तरमा सहकारीको लोकप्रियतासमेत बढेको छ ।

मानसरोवर कृषि सहकारी संस्थाका अध्यक्ष विश्वनाथ बराल कृषिबाट समृद्धि सम्भव छ भन्ने विषयमा ढुक्क छन् । बरालले आजभन्दा २४ वर्ष पहिले पशुपालन सुरु थिए तर बजारको व्यवस्था गर्न नसक्दा लगानी डुब्यो । लगानी डुबे पनि उनको कृषिप्रतिको सपना टुटेन ।

सोही सपनाले डोर्याएर अहिले उनी मानसरोवर सम्म मा आइपुगेका छन् । एकीकृत रूपमा  मानव स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर काम गर्दै आइरहेका उनले कृषि उत्पादन गर्ने कृषक र सहकारी धेरै भएपनि व्यवस्थित नभएको बताए । 

हाम्रो उत्पादनले बजार अभाव झेल्नुपरेको छैन । “अर्गानिकमा थोरै फल्छ, फल्दैन भन्ने भ्रम मानिसमा छ । त्यसले गर्दा हामीले अर्गानिक उत्पादनसँगै प्राङ्गारिक चेतनालाई समेत जोडेका छौँ उनी भन्छन् ।”

  मानसरोवर ले यस्तै खेती गर्न चाहनेका लागि सहकारी अर्गानिक कृषि पाठशाला समेत सञ्चालनमा ल्याएको छ । यस सहकारीले उत्पादन, बजार र चेतना तीन विषयलाई सँगै अघि बढाएको छ ।

भावी दिनमा सहकारी नरहे पनि कृषि उत्पादन बढाउने हाम्रो मुख्य उद्देश्य हो । कृषकहरूले खेतमा काम गर्दा नै नयाँ खेतीबारे अध्ययनसमेत गर्न पाएका छन् । सहकारीभन्दा पनि कृषि र कृषकको समृद्धिका लागि व्यवसाय सुरु गरेको उनी बताउँछन् ।

कृषि पर्यटनमा जोड

कृषिबाटै आम्दानी लिन सकिन्छ भन्ने प्रमाणित गर्न सफल भइरहेको यस संस्था को अर्को महत्वपूर्ण उदेश्य भनेको यस स्थानलाई पर्यटकीय स्थल बनाउने। ।  उपभोक्तहरू तथा पर्यटकहरूलाई खेतीबाली, आधुनिक कृषि विधि, लटरम्मै फलेका तरकारीको अवलोकन सँगै घुम्ने वातावरण मिलाउँदै छ मानसरोवर ले । 

घुमघाम गर्न कृषि फार्म पनि उपर्युक्त स्थान बन्न सक्छ भन्ने उदाहरण दिनकै लागि र कृषि र पर्यटन एक अर्काका पूरक हुन भन्ने कुरालाई मध्यनजर गर्दै यी योजना बनाएको अध्यक्ष बरालले पर्यटन बजार लाई बताए।

आगामी योजना

अहिले हामी अझै पनि निर्माण कै क्रममा छौं। पर्यटन क्षेत्र बनाउने हाम्रो प्राथमिकतासँगै हामीले कोल्डस्टोर, गोदाम सहितको एउटा अफिस बिल्डिङ निर्माण गरिरहेका छौ। माछापालनको योजना गरेर पोखरी निर्माणको पनि तयारी गर्दै छौं भने केही क्षेत्रफलमा लोकल कुखुरा पालनतर्फ पनि हाम्रो ध्यान गएको छ ।

यो सँगै हामीले बच्चा हरुको मनरोञ्जन को लागि एउटा चिल्ड्रेन पार्क  निर्माणको पनि योजना बनाएका छौँ। चाँडै नै त्यसको काम पनि सुरु हुन्छ ।

त्यस्तै पाकघर र गेस्ट रुमको पनि हामीले परिकल्पना गरेका छौँ। यो सबै कुराको निर्माण पूरा गर्न हामीलाई केही समय लाग्नेछ , अध्यक्ष बरालले जानकारी गराए।

त्यसैगरी ड्रागन खेतीको लागी पनि हामी तिब्रताका साथ लागिरहेका छौं । प्राङ्गारिक मल बनाउने स्थान पनि बढाएका छौं । अब को केही वर्षमै हराभरा र सब्जीमय पार्क बन्ने छ यो स्थान ।

सन्तुष्ट हुनुहुन्छ ?

लामै समयको सपना लाई नयाँ ढंगले प्रस्तुत गरेर अघि बढ्न पाउँदा एकदमै खुशी छु। डटेर लागिपरेको अढाइ वर्ष भयो, लगानी गरिराछौ, उत्पादन राम्रै भइरहेको छ र बजारीकरण पनि उत्कृष्ट छ ।

सहकर्मी साथीहरु, काम गर्ने करिब २० जना साथीहरु, उपभोक्ताहरु , स्थानिय तथा प्रदेश सरकार सबैको राम्रो साथ पाएको छ मानसरोवरले ! सोही अनुरूप कन्जुस्याइँ नगरी काम गर्न पाउँदा हाम्रो टीम एकदमै उत्साहित छ। हाम्रो यो संस्थाबाट धेरै विदेश पलायन भएका युवालाई आधुनिक एकीकृत खेतीतर्फ फर्काउन सहयोग गर्नेमा पनि हामी उत्तिकै सकारात्मक छौं।

Facebook Comment

छुटाउनुभयो कि?