पुनहिल की पुनमाया

पर्यटन बजार२५ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

पुनहिल की पुनमाया

जेठ २५, काठमाडौँ। “तिम्रो सारै माया लाग्छ सरदार ”,

फक्रेको लाली गुरास जस्तो मुस्कान सहित बोलिन पुन मायाले । 

होर भनेको ? 

मेरो माया किन लागेको नि? अरू ह्यान्ड्सम ह्यान्ड्सम गाइडहरू छन् । म बाहुन तिमी मगर जात मिल्दैन, संस्कार  फरक अनि कसरी ?? 

म किसानको छोरो तिमी लाहुरे  ( पेन्सन वाला ) कि छोरी ।  मेरो प्रश्नहरू खस्न नपाउँदै पुनमाया आफ्नो सुकोमल हातले मेरो मुख थुनी दिन्छे र भन्छे “ अब धेरै नबोल मेरो मन चोर्ने  लुरे बाहुन ।  

लक्ष्मी प्रसाद देवकोटाको कविता पढेको छैनौ ?

  मानिस  ठुलो दिल ले हुन्छ जात ले हुँदैन  ।  अनि मन परेसी लाटोकोसेरो पनि ह्यन्ड्सम हुन्छ नि” हल्का  नखरा देखाउँदै बोलिन पुनमाया । 

आजको दिन रमाइलो छ त्यही माथि  अन्नपूर्ण हिम शिखर साँझपखको सुर्यकिरणले धपक्क बलेकी छिन ।  बादलको घुम्टो र  रङ्गी विरङ्गी लालिगुरास पाखा भरी फुल्दा लाग्छ अन्नपूर्ण सिफनको सारी र मलमलको पछ्यौरीले सजिएकी दुलही हुन ।  त्यही हिम श्रृङ्खला नियाली रहेकी पुन माया आज औधी सुन्दरी देखिएकी छिन ।

अन्नपूर्ण हिम शिखर जस्तै सुन्दर सेता दन्त लहर । गहुँगोरो बाटुलो चन्द्रमुखी अनुहार, ठुला ठुला ओठहरू र सुन्दर नयन ।  उनको सुन्दरतालाई शब्दहरूले वर्णन गर्नै नसकिने। 

बस यती भन्छु, पुन माया तिमी अन्नपूर्णकी मन छोरी मोनालिसा हौ ।  अरू सबै गाइड र बिदेसी आगन्तुकहरूलाई खाना खुवाइन् पुनमायाले तर मलाई चाहिँ खाना नपुगेर फेरी बसाएको रे । गाइड दाइहरू धेरै भोकाएका रहेछन् रे ।  

त्यो उनको पुरानो बानी नै थियो मलाई एक्छिन भने पनि अबेर सम्म रोक्ने अनि जिस्कने । मेरो नजिकै बसेर मन्द मुस्कान छर्दै अन्डा ( अम्लेट ) सहितको स्वादिष्ट भोजन गराइन आफ्नो प्यारो बाहुन लाई पुनमायाले गाइड र सहयोगी मित्रहरूलाई पुनमाया कि आमाले किट्लीमा तताएको नारी पा ( रक्सी ) रसास्वादन गराइन्। 

म भने पुनमायाको अनुहारको सौन्दर्य मै भुलिरहेको थिए ।  पुनमायालाई सत्य कथा /तथ्य कथा  जस्ता पुस्तक औधी मन पर्छ ।  कथाका पात्रहरू र वियोगान्त घटना पढेर निकै भावुक हुन्छिन् उनी ।  आज पनि मैले काठमाडौँ 

बाट लगिदिएको तथ्य कथाको केही अंस पढि सकिछन ।  सहरका मानिसहरू त कति निस्ठुरी ! भनेर म तिर व्यङ्ग्य गर्दै थिइन ।  

मैले उनको कुरामा सहमत जनाए ।  हो सहरमा निस्ठुरी, अबसर्बादी र कपटी धेरै छन् ।  गाउका मानिसहरू झरनाको पानी जस्तै कन्चन हुन्छन् । 


 तिमी पनि रुप्छे छहरा जस्तै सुन्दर र कन्चन छौ पुनमाया भनेर तारिफ गरे । मेरो कुरा सुनेसी पुनमाया कर्के नजर ले हेर्दै जवाफ फर्काइन् “ हेर न मलाई फुर्क्याएको फेरी “ ।  
सदा झैँ उनी मलाई सोध्छिन् ” अब फेरी कहिलेलाई छ ट्रेकिङ   ”? 

छन् त कम्पनी मा ट्रेकिङ जाने छन् तर मेरो साहु जि को साला, जेठान र भाइ भारदारहरू पनि  काम गर्छन् ।  उनीहरूलाई सकेसम्म राम्रा गोराहरू दिन्छन र व्यस्त पनि उनले सुनाए ।  हामी त प्राथमिकता  मा पर्दैनौ ।  खोइ कहिले पो हो ? प्याकेजमा नभए न हायरिङ्ग भए पनि आउने हो पुनमायालाई भेट्न भनेनी । यति भनेको मात्र के थिए उनी मुस्कुराइन । 

मलाई घोरे पानी पदयात्रा निकै मन पर्छ ।  साँच्चै  किन किन मलाई बिरेठाटी बाट तर्पङे उकालो हिँडेर माताठाटिको कलधाराको टुटीमा मुख गाडेर कल कल पानी पिउन मन लाग्छ । 

राम दाइको , बेली सरा दिदीको घर आगमनको पेटी मा टुसुक्क बसेर पसिना पुछ्न औधी मन पर्छ ।  हिलेको ममता लजकी ममता  कि आमा अनि तिखेढुङाको चन्द्र लजको माइली दिदीले लेमन जुस राखेर दिएको चिसो पानी  ठमेलको मिन्ट कुलर भन्दा अब्बल लाग्छ ।  

सल्लेरीको नाकै ठोक्किने उकालो त मामाघर गए बराबरै हो ।  उल्लेरी कटी नाग्गेठाटीको हाङ्री आई रेस्टुरेन्टमा  कुखुराको झोल भातले काठमाडौँको बटर मसलालाई माथ गर्छ ।  अनि घोरेपनी को पुनमायाको गेस्ट हाउस त मेरै घर जस्तो लाग्छ । 

प्राकृतिक छटाले सजिएकी घोरेपानीमा तिलोत्तमा जस्ती पुन माया सँग प्रेम बस्यो । जात नमिलेर के भो मन मिलेपछि ।  धन थोरै भए पनि मन ठुलो भएपछि । 

पुनमायाको मन सफा छ ।  छल कपट कुन चरीको नाम हो उनलाई थाहा छैन ।
 

बिरेठाटीको झरना जस्तै सुन्दर र सितल छिन उनी । सल्लेरीको पा सुनाखरी जस्तै बहुमूल्य छ उनको मुस्कान ।  घोरेपानीको पाखामा फुल्ने गुरास जस्तै फक्रेकी उनको योबनमा म भिर माहुरी बन्ने छैन , जो रस चुसेर उड्छ । पुन माया सुन्दर फूल हुन अनि म त्यो फूलको हेरचाह गर्ने माली ।  म फूल हेरिरहन्छु आफूलाई नै बिर्सिएर  ।  

म टोलाएको देखेर पुनमायाकी आमा भन्छिन् “ निकै टोलाइछ त केटा  ।  नारी पा पनि खाउन्न केरे “ ?

 म झल्यास्स हुन्छु ।  पुन माया मेरो एकोहोरो हेराईले रातोपिरो हुन्छे ।  हैट , त्यो क्षण शायद सबै भन्दा मन पर्ने क्षण हो जीवनको !

 भोलि  बिहानै  गोरेहरु लिएर पुन हिल जानु ईछ ।  चाडै सुत्नुपर्ने छ ।  ल म सुत्न जान्छु है भन्न पाउँदा नपाउँदै नाटकीय  पाराले पुनमायाको मायालु झटारो आयो “ गए भयोन्त कस्लाई सुनाएको “? 

सुनाउन त तिमी लाई नै सुनाएको हो नि ।  एक्लै त्यो पट्यारिलो निस्पट्ट रात कसरी छिचल्नु ?  मन मनै गुनगुनाएर लागे ओछ्यान  तिर ।  
 लेखक : सुदर्शन न्यौपाने

Facebook Comment

छुटाउनुभयो कि?