पाचन प्रणाली मजबूत बनाउन अब्बल ज्वानो

पर्यटन बजार२५ जेष्ठ २०७८, मंगलवार मा प्रकाशित

पाचन प्रणाली मजबूत बनाउन अब्बल ज्वानो

जेठ २५, काठमाडौं। भान्सामा प्रयोग गरिने ज्वानो, मसला मात्रै नभएर धेरै प्रकारका स्वास्थ्य समस्याहरू पर्दा औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । आयुर्वेद चिकित्सा पद्धतीमा यो ‘यवानी’ को रूपमा प्रसिद्ध छ ।

झट्ट जिव्रोले स्वाद लिँदा नमिठो लाग्ने भएपनि ज्वानोमा अत्यधिक मात्रामा पोषणतत्वहरू पाइन्छ । यसमा अत्यधिक प्रोटिन पाइने भएकोले शाकाहारी भोजन गर्नेहरूका लागि राम्रो मानिन्छ । ज्वानोमा अन्य पोषक तत्वहरूमा प्रोटिन, आयोडिन, चिल्लो पदार्थ, कार्वोहाइड्रेट, क्याल्सियम, र अन्य भिटामीन तथा खनिज पदार्थहरू पाइन्छ ।

यसले मुख्यरूपमा शरीरमा पाचन प्रणालीका अंगहरूलाई मजवुत बनाउँछ । यसमा रहेका विभिन्न रसायनिक तत्वहरूले पाचन अंगहरूमा ग्रन्थीहरूमार्फत रस निकाल्न मद्दत पु¥याउछन् । यसमा वातनासक गुण भएकोले विभिन्न स्वास्थ्य समस्याहरू जस्तै जोर्नीका दुखाई कम गर्न मद्दत गर्नुका साथै शारीरिमा हुने अन्य दुखाईलाई पनि कम गर्न यसको प्रयोग गरिन्छ ।

धेरै मानिसहरूले रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि खकार निकाल्न यसले मद्दत गर्ने भएकोले श्वासप्रश्वास एवं रुघाको समस्याका लागि उपयोगी छ । सुत्केरी हुँदा ज्वानोको झोल बनाएर खुवाउने त हाम्रो समाजको पुरानो चलन नै हो । सुत्केरीहरूको स्वास्थ्यको दृष्टिकोणले यसको झोल लाभदायी मानिन्छ ।

महिलाहरूलाई बेलाबेलामा हुने पीडादायी महिनावारी तथा प्रसुति ज्वरमा पनि विभिन्न आयुर्वेदिक समिश्रण औषधीका साथ प्रयोग गरिन्छ । ज्वानोसँगको अन्य समिश्रण आयुर्वेद उपचार प्रणालीमा पेटको पीडा एवं ग्यास हटाउने, जुका मार्न आदिमा औषधीको रूपमा पनि प्रयोग गरिन्छ ।

हामीले प्रयोग गर्ने मसलाहरूमा ज्वानोको दाना मसिनो हुन्छ । स्वाद पिरो, पर्पराउने र केहि मात्रामा तितो पनि हुन्छ तर वासनादार हुन्छ । यसको खेती समुन्द्र सतहभन्दा ४५०० फिट उचाइमा हुन्छ । खासगरी भारत, इजिप्ट र अल्जेरीया यसको खेतीको लागि प्रसिद्ध छन् ।

नेपालीहरूले पनि धेरै प्रयोग गर्ने भए तापनि ज्वानो भारतबाट आयात हुन्छ । ज्वानो सानो र ठूलो गरी दुइप्रकारका हुन्छन् । विभिन्न उपचार प्रयोजनका लागि यसको फल र पातबाट विशेष प्रकारको तेल पनि निकालिन्छ।

Facebook Comment

छुटाउनुभयो कि?