मेलम्ची बाढी अपडेट : करिब पाँच सय जना विस्थापित,स्थानिय अझै त्रसित

पर्यटन बजार२ असार २०७८, बुधबार मा प्रकाशित

मेलम्ची बाढी अपडेट : करिब पाँच सय जना विस्थापित,स्थानिय अझै त्रसित

असार २, सिन्धुपाल्चोक (मेलम्ची) । बाढी–पहिरोबाट विस्थापित सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् ।

तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको छ ।

मानिसहरुले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरु सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् ।

मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा एक सय घरधुरी डुबानमा परेको स्थानीय जनप्रतिनिधिले जानकारी दिए ।

बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् ।

अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् । खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हेलिकप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिएको छ ।

स्थलगत रुपमा पनि नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित छ ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोका कारण हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । केही घाइतेहरुलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?