करोडौंको होटल डुबानको दुःख भुल्दै राहत तथा उद्धारमा खटिएका सागर श्रेष्ठ

पर्यटन बजार५ असार २०७८, शनिबार मा प्रकाशित

करोडौंको होटल डुबानको दुःख भुल्दै राहत तथा उद्धारमा खटिएका सागर श्रेष्ठ

असार ५, काठमाडौं। पहिलो पटक सिन्धुपाल्चोकको मेलम्ची मा सुविधासम्पन्न होटल ” मेलम्ची हेरिटेज ” सञ्चालनमा आउन तयारी अवस्थामा रहेको थियो । सम्पूर्ण तयारी पूरा गर्दै वैशाखमा होटलको उद्दघाटन गर्ने सञ्चालक सागर श्रेष्ठको योजना थियो ।

तर पहिलो पटकको उद्दघाटन मितिलाई कोरोनाको दोस्रो भेरियन्ट को नजर लाग्यो । केही समय पछि पुन साधारण अवस्थामा फर्किने र होटललाई उद्दघाटन गरेर समस्त सिन्धु वासीलाई नै खुशी दिने उनको योजनालाई पूर्ण रूपमा विफल बनाइदिएको छ असार १ गते इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीले।

करिब ३० करोडको लगानीमा अत्यन्तै सुविधासम्पन्न होटलको निर्माण गर्न सागरले वर्षौं कडा मेहेनत गरेका थिए। पर्यटकलाई राम्रो सुविधा दिएर सिन्धुपाल्चोकका विभिन्न गन्तव्य( पाँचपोखरी, हेलम्बु, जुगल ) हरुमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढाउने उनको सपना लेदो सहितको पानीले चकनाचुर बनाएको छ ।

करिब २० करोड जतिको विनाश भइसकेको छ अब कुन समय बाढी र कटानले सम्पूर्ण क्षति हुने हो पत्तो छैन। एक महिना अघि सम्म हराभरा , सुन्दर हेलम्बु र मेलम्ची अहिले खण्डहरमा परिणत भएको दुःखद घटनालाई सुनाउँदै सागरले बचेको संरचना र मानवजातिको उद्दारका लागि अबको समय केन्द्रित गर्ने बताए।

बाढीको दोस्रो दिन देखि नै उद्दार र राहतमा आफ्ना सारा दुःख भुलेर लागिपरेका छन् सागर श्रेष्ठ। जे नहुनु भइसक्यो अब जे बाँकी छ त्यसलाई जोगाउनतर्फ लाग्नुपर्ने सोचका साथ आफू अघि बढेको उनले बताएका छन् ।

आज पुलिस स्टेशन समेत बाढीकै कारण भत्किएको छ , होटलको अवस्था पनि नाजुक नै छ , साना ठूला घर सबै कुनबेला नदीमै विलीन हुने हुन कुनै अत्तोपत्तो छैन, अबको एक दुई दिन सम्म यस्तै अवस्था रहे यातायातका माध्यम पनि बन्द हुनसक्ने उनले आशंका गरेका छन्।

यदि त्यस्तो भयो भने कसैले राहत लगेर उपलब्ध गराउन सक्ने अवस्था पनि रहने छैन । जतिसक्दो छिटो सिन्धुपाल्चोक मा राहत , खाधान्न , टेन्ट, मेट्रेस लगायतका सामाग्रीहरु पुर्याउनु पर्ने उनले जिकिर गरेका छन् र सहयोग गर्न इच्छुकले ढिला नगरी सही माध्यमबाट सहयोग गर्न आग्रह समेत गरेका छन्।

Facebook Comment

छुटाउनुभयो कि?