भेडेटार, यस सिजनमा पनि सुनसान !

पर्यटन बजार१४ असार २०७८, सोमबार मा प्रकाशित

भेडेटार, यस सिजनमा पनि सुनसान !

असार १४, काठमाण्डौ। गर्मीयाममा नेपाल तथा भारतीय पर्यटकको रोजाइमा पर्ने धनकुटाको भेडेटार यस वर्ष पनि सुनसान बनेको छ । पर्यटकीय स्तरका ६५ र खाना तथा रेस्टुरेन्टका रूपमा रहेका १५६ होटलका सञ्चालकहरुले यो सिजनमा समेत नराम्रोसँग मार खेप्नु परेको छ ।

होटल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र राईका अनुसार स्वरोजगार र रोजगारी प्रदान गरिएका छ सय कर्मचारी तथा कामदार तीन महिनायता बेरोजगार छन् । गर्मीको सिजनमा भारतमा दोस्रो लहर बढेसँगै भारतीय पर्यटकको आगमन रोकिएको थियो, अध्यक्ष राईले भन्नुभयो, “दुई महिनायता आन्तरिक पर्यटकको समेत चहलपहल छैन । ”

गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी गरिएको थियो । यस वर्ष वैशाख १८ यता निषेधाज्ञा जारी भएपछि पर्यटकीय क्षेत्रले नराम्रोसँग मार खेप्नु परेको हो । पर्यटकीय क्षेत्रका रूपमा चाप बढ्दै गएपछि लगानी गर्नेहरूको आकर्षणसमेत उस्तै रहेको भेडेटार क्षेत्रमा पाँच ठूला होटल निर्माणाधीन छन् ।

अध्यक्ष राईका अनुसार बिस्तारै भेडेटार नाम्जेतर्फ विस्तार हुँदै सहरीकरण बन्दै गएका बेला कोरोना कहरको मारले थामिनसक्नु भार थपिदिएको हो । आफ्नै स्वामित्वमा भएको संरचनाभन्दा अहिले भाडामा लिएर व्यवसाय गर्नेहरूलाई भाडा तथा बैङ्कको किस्ता बुझाउन समस्या परिरहेको अध्यक्ष राईको दाबी छ ।

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मौद्रिक नीतिले सहुलियत दिनुपर्ने पर्यटन व्यवसायीको माग छ । औद्योगिक क्षेत्रले गत वर्षको मौद्रिक नीतिबाट धेरै फाइदा लिन सकेको बताउँदै राईले आगामी वर्ष पर्यटन र यातायात क्षेत्रले त्यो लाभ लिने अवसर दिनुपर्ने बताउनुभयो । ऋणको किस्ता बुझाउने म्याद कम्तीमा छ महिना सारिनुपर्ने, ब्याजलाई ऋणमा रूपान्तरण गरेर सहजीकरण गरिनुपर्ने माग उनीहरूको छ ।

“सरकारले सबै क्षेत्रलाई सुरक्षित बनाउन आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन जरुरी छ,” अध्यक्ष राईले भन्नुभयो, “महामारीका कारण सबै क्षेत्र बिस्तारै सुस्त बन्दै जाँदा अर्थतन्त्रसमेत बिस्तारै निष्क्रिय हुँदै जान्छ । ” त्यसलाई जोगाउन बैङ्कबाट लिएको ऋण तिर्ने सहज वातावरण सरकारले नै बनाउनुपर्नेमा अध्यक्ष राईको जोड छ ।

भेडेटार पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै यसले तीन किलोमिटर पूर्वको नाम्चे हुँदै ओख्रे र राजारानीसम्मलाई चम्काएको छ । होटल एसोसिएसनका पूर्वअध्यक्ष विष्णुराज श्रेष्ठले होटल व्यवसायसँग जोडिएका धनकुटाका ग्रामीण बस्तीसमेत अहिले समस्यामा परेका छन् ।

स्थानीय उत्पादनको खपत गराउने भेडेटार पर्यटकीय क्षेत्रलाई ग्रामीण कृषि उत्पादनसँग जोडिएकाले त्यसको मार धेरैलाई पर्दै गएको पूर्वअध्यक्ष श्रेष्ठको दाबी छ ।

भेडेटारसँग जोडिएर सुरु गरिएका वैकल्पिक पर्यटनका थप लगानीसमेत निरुत्साहित हुने अवस्थामा पुगेको छ । हाइकिङ, पाथीभरा दर्शन हवाई उडान, माउन्टेन फ्लाइट, जिप लाइन, प्याराग्लाइडिङ र तमोर–चतरा ¥याफ्टिङ पर्यटकीय क्षेत्र भेडेटारको विकाससँग लगानी आकर्षित भएका क्षेत्र माानिन्छन् ।

त्यसबाहेक भेडेटारमा जिप लाइन, स्काई वाक र थाउजेन्ड बुद्ध स्तूप निर्माणका लागि लगानी थपिएको होटल अरुण भ्यालीका सञ्चालकसमेत रहनुभएका पूर्वअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comment

छुटाउनुभयो कि?