झापाका उत्कृष्ट ५ पर्यटकीय गन्तब्य

पर्यटन बजार१५ असार २०७८, मंगलवार मा प्रकाशित

झापाका उत्कृष्ट ५ पर्यटकीय गन्तब्य

असार १५, दमक।  पर्यटकीय दृष्टिकोणले पूर्वी नेपालको झापाको छुट्टै विशेषता छ । नेपालको सबैभन्दा होचो स्थान केचनादेखि धार्मिक, पौराणिक एवम् ऐतिहासिक पर्यटकीय स्थलको अनुपम संगमले नेपालको पर्यटन क्षेत्रमा झापाले छुट्टै पहिचान बनाउन सफल भएको छ ।

झापामा जामुनखाडी सिमसार क्षेत्र, दोमुखा, अर्जुनधारा धाम, किच्चकबध, केचना, बाँसबारी सिमसार क्षेत्र, सुखानी शहीद स्मृति पार्क, भेलागडी, सतासीधाम प्रमुख पर्यटकीय क्षेत्र रहेका छन् ।

१ हजार ६ सय वर्ग किमी क्षेत्रफल रहेको झापाको पूर्वमा मेची नदीले भारतको पश्चिम बङ्गालसँग सिमाना छुट्याएको छ । जिल्लाको दक्षिणमा भारतको बिहार रहेको छ । उत्तरमा इलाम र पश्चिममा मोरङ जिल्ला रहेको छ । यी हुन् झापाका गन्तव्यहरु :

सिमसारमा रम्दै पर्यटक
झापाको जामुनखाडी सिमसार नमूना सिमसारको रूपमा चिनिने गर्छ । पछिल्लो समय आन्तरिक पर्यटकले निकै रुचाएको स्थल हो जामुनखाडी । कनकाई नगरपालिका –१ र २ मा अवस्थित रहेको जामुनखाडी पूर्व पश्चिम महेन्द्र राजमार्गबाट १ किलोमिटर उत्तरमा पर्छ ।

स्थानीयले जामुनखाडी सामुदायिक वनभित्रको केही भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रूपमा विकास गरेका हुन् ।

सिमसार क्षेत्रमा रहेको तालमा डुङ्गा चढ्न र संरक्षित वन्यजन्तुको अवलोकन गर्न आउनेबाट उठाउने शुल्कको आम्दानीले उक्त सिमसार क्षेत्र समृद्ध बन्दै गएको छ ।
सिमसारमा दैनिक १ हजारको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ३४ हेक्टर क्षेत्रफलको जामुनखाडी सामुदायिक वनअन्तर्गत ४ सय हेक्टर क्षेत्र ओगटेको यो सिमसार पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

जामुनखाडी सिमसार क्षेत्रमा ऐतिहासिक महत्वका गङ्गा–जमुना पोखरी छन् ।

४ बिघा क्षेत्रफलको मध्यभागमा रहेको जमुना पोखरी पर्यटकहरूको आकर्षणको केन्द्रको रूपमा विस्तार हुँदैछ । पोखरीमा डुङ्गा सञ्चालन गरिएको छ । विभिन्न ठाउँबाट हरिण, चितुवा, भालु, अजिङ्गर, अस्ट्रिच, खरायो लगायतका जीवजन्तु ल्याएर ‘मिनी जू’ समेत निर्माण गरिएको छ । एकै दिनमा २ सय बढी अट्ने पिकनिक स्पट पनि रहेको छ ।

जामुनखाडीमा वार्षिक तीन करोडको कारोबार हुने गरेको छ । सिमसार क्षेत्रमा नौका बिहार, बाल उद्यान, झोलुङ्गे पुल, गार्डेन, व्यवस्थित फलैँचा, विभिन्न किसिमका मूर्ति, मिनी रेल निर्माण गरिएको छ ।

२०५२ सालमा स्थापना भएको उक्त सिमसार क्षेत्रलाई स्थानीयबासीको सक्रियतामा २०६० बाट ताल उत्खनन् गर्ने काम गरेको स्थानीय मञ्जु सिटौला बताउँछिन् । उक्त सिमसार क्षेत्रको ४ सय ५० हेक्टर जमिनमा ताल फैलिएको छ । सिमसार क्षेत्रको संरक्षण गरेबापत जामुनखाडीलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७३ सालमा पुरस्कृत पनि गरेको थियो ।

इतिहास बोकेको सुखानी
झापाको अर्जुनधारा नगरपालिका स्थित सुखानी शहीद स्मृति पार्क झापाको महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । झापा विद्रोहका ५ जना शहीदको प्रतिमासहितको सो पार्कले झापाको उदीयमान पर्यटकीय क्षेत्रको परिचय बनाइसकेको छ ।
पार्कमा मनोरञ्जनात्मक सामग्री र लोपोन्मुख जीवजन्तुको दृश्यावलोकनसमेत गर्न सकिन्छ । जङ्गलभित्र सुन्दर र आकर्षक बाटोको निर्माण, ५ शहीदहरूको मूर्ति, ठूलो पोखरीभित्र बोटिङ, आकर्षक काठको पुल रहेको सालबारी आन्तरिक तथा बाह्य पर्यटककोे रोजाइ बन्न थालेको छ । अहिले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक सुखानी शहीद स्मृति पार्क आउने गरेका छन् ।
यस क्षेत्रमा २२ हेक्टर जमिनलाई संरक्षण गरी वनभोज तथा अध्ययन स्थलको रूपमा पनि विकसित गरिएको छ । पार्कसँगै रहेको कछुवा उद्धार तथा प्रजनन केन्द्र पनि जैविक विविधताबारे अध्ययन गर्ने थलो हो ।

शहीदको योगदानको सम्मान र वातावरणीय संरक्षणका लागि पार्क स्थापना गरिएको व्यवस्थापन समितिको भनाइ छ । पार्कलाई सबैको साझा र आकर्षक पर्यटकीय गन्तव्य बनाउन सरकारी तथा विभिन्न निकायसँग पनि समन्वयको प्रयास भइरहेको जनाइएको छ ।

जङ्गलको बीच र शान्त स्थलमा रहेकाले शहीद उद्यान पर्यटकीय क्षेत्रका रूपमा स्थापित हुने सम्भाव्यता प्रशस्त रहेको स्थानीयको भनाइ छ । अहिले यो स्थान मनोरञ्जन अध्ययन, र अनुसन्धान केन्द्रको रूपमा स्थापित भएको छ । अन्य स्थलजस्तो घुम्ने र रमाइलो गर्ने मात्र नभई इतिहास अध्ययन गर्ने तथा जैविक विविधताबारे अनुसन्धान गर्नेे बहुद्देश्यीय लक्ष्यका साथ पर्यटक यहाँ पुग्ने गर्छन् ।

सामाजिक क्षेत्रका अगुवाले पनि सालबारी तथा शहीद पार्कलाई पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न स्थानीय र सरकारको समान भूमिका औंल्याएका छन् । पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण रहेको स्थानलाई पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न सके आर्थिक समृद्धिमा टेवा पुग्ने उनीहरू बताउँछन् । पार्क आसपासका क्षेत्रमा होमस्टेको व्यवस्थासमेत गर्न सके यो पर्यटकीय क्षेत्रको परिचय फेरिने स्थानीयको बुझाइ छ ।

अर्जुनधाराधामको महिमा
पूर्वको पशुपतिनाथ नामले चिनिने झापाको अर्जुनधारा–जलेश्वरधामको महत्व व्यापक छ । बिर्तामोडको मुक्ति चोकबाट ५ किलोमिटर उत्तरमा रहेको अर्जुनधारा–जलेश्वरधाम झापाको मात्र नभएर देशकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रमध्ये एक हो ।
अर्जुनधाराधामको ऐतिहासिक पृष्ठभूमि महाभारतको कथासँग जोडिएको छ । महाभारतको कथासँग इतिहास जोडिएको अर्जुनधारा–जलेश्वरधाममा अर्जुनले वाण हानेपछि पानी निस्किएर पोखरी बनेको विश्वास गरिन्छ । त्यहाँ रहेको पोखरीमा गाईले पानी पिउन लागेको प्रतिमाले पनि पर्यटकलाई मोहित पार्छ । यहाँ प्रत्येक वर्ष बालाचतुर्दशी, शिवरात्री र साउन महिनाको प्रत्येक सोमबार ठूलो धार्मिक मेला लाग्ने गरेको छ ।

२०५५ सालमा हुलाक टिकटमा समेत चित्राङ्कित गरिएको अर्जुनधारा धाममा नेपाल, भारत, भुटान, बङ्गलादेशलगायत पश्चिमी देशका लाखौँ धार्मिक पर्यटक आउँछन् । धामका अध्यक्ष नवीन गट्टानीका अनुसार यहाँ बर्सेनी लाखौँ धार्मिक पर्यटक आउने गरेका छन् । यहाँ शिव, नाग, हनुमान र सरस्वती आदि देवीदेवताका मूर्ति, यज्ञकक्ष, धार्मिक कार्यक्रम वाचन तथा स्रोताकक्षको निर्माण गरिएको छ ।

समृद्धितर्फ बाँसबारी
झापाको मेचीनगर नगरपालिका –११ को बाँसबारी सिमसार पनि पर्यटकीय स्थलका रूपमा विकास भएको छ । उक्त सिमसारलाई सङ्घीय सरकारले उत्कृष्ट एक सय पर्यटकीय क्षेत्रको सूचीमा समेत समेटेको छ ।

वन समितिका उपभोक्ता, नगरपालिका, पर्यटन मन्त्रालय, साबिक धाइजन गाविसलगायतको आर्थिक सहयोगमा सिमसारलाई व्यवस्थित पर्यटकीय स्थल बनाइएको हो । सिमसारमा मासिक १० हजार पर्यटक आउने गरेको वन समितिका अध्यक्ष शम्भु राजवंशी बताउँछन् । सिमसारको पोखरीलाई व्यवस्थित गरी बोटिङ गर्न मिल्ने बनाइएको छ । पोखरीमा ट्रस्ट ब्रिज राखिएको छ । फाउन्टेन, शिव मूर्ति, चिडियाखाना र गार्डेन बनाइएका छन् । वरिपरि फलैँचा, सेल्फी हाउस र चिल्ड्रेन पार्क पनि बनाइएको छ ।

सो सिमसारमा एकै पटक १ सय पिकनिक टोली अटाउन सक्ने क्षेत्र पनि रहेको छ । सिमसार क्षेत्रमा व्यवस्थित पार्क, हात्ती, डाइनासोरलगायत विभिन्न जीवजन्तुको मूर्ति राखिएको छ । सिमसार क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गराउँदा वन संरक्षण, उपभोक्तालाई रोजगारी, बाटो, खानेपानी, विद्युतको सुविधा तथा समग्रमा स्थानीय क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने देखिन्छ ।

आकर्षक भेलागढी
झापाको हल्दीबारी गाउँपालिकाले सिमसारसहितको जङ्गललाई पर्यटकीय स्थलको रूपमा विकास गरेको छ । हल्दीबारी –२ मा रहेको भेलागढी सामुदायिक वनलाई गाउँपालिकाले ‘लोकतान्त्रिक शहीद स्मृति पार्क’को रूपमा विकास गरेको छ । वनलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजनाअन्तर्गत अहिले वन क्षेत्रमा पर्यटकीय स्थाल बनाउने कार्य धमाधम भइरहेको छ ।

गाउँपालिकाको दोस्रो गाउँसभाबाट ‘हल्दीबारीको दृष्टि कृषि र पर्यटनमार्फत् समृद्धि’ को नारालाई अघि बढाइएको छ । उक्त नाराअन्तर्गत सोही गाउँसभाले भेलागढी वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने निर्णयसमेत गरेको थियो । वनभित्र १९ दशमलव ७ हेक्टर क्षेत्रफलमा सिमसार रहेको छ । लोकतान्त्रिक शहीद स्मृति पार्क निर्माणका लागि प्रदेश १ सरकारले गत आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले पार्क निर्माणका लागि ८ करोड ३९ लाख ३१ हजार ४ सय ५६ रुपैयाँको लागतमा बहुवर्षीय योजना सञ्चालन शुरु गरेको छ । चालु गाउँपालिकाबाट १ करोड रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए । जङ्गललाई पर्यटकीय स्थलको रूपमा विकास गराउन भेलागढी सामुदायिक वन उपभोक्ता समूह र गाउँपालिकाबीच साझेदारीमा काम भइरहेको अधिकृत घिमिरेले जनाए ।

पार्र्किभत्र पर्यटकका लागि २६ ओटा टहरा, २५ ओटा सोलार बत्ती जडान गर्ने काम गर्नुका साथै १ सय ८५ फिट लम्बाइको आकर्षक काठको पुल निर्माण भएको छ । सिमसार क्षेत्रलाई स्थानीय रैथाने जातको अन्धाबाम माछाको प्रजननस्थलको रूपमा विकास गर्ने योजना गाउँपालिकाको छ ।

सम्भावना बोकेको यस जङ्गललाई हल्दीबारीकै प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । भेलागढी जङ्गल छिमेकी बिर्तामोड नगरपालिका –८ र भद्रपुर नगरपालिका –१० को सङ्गमस्थल हो । जङ्गल नजिकैबाट हर्चना र देउनिया खोला बग्ने गर्छन्  । जङ्गलभित्र साल, टिक, मसला, लालीकाठ, करम, जमुनालगायतका रूखबिरुवासमेत रहेका छन् ।

होचो स्थान केचना
झापाको कचनकवल गाउँपालिकामा अवस्थित केचनालाई नेपालको सबभन्दा होचो ठाउँ मानिन्छ । पर्यटकीय महत्व बोकेको केचना समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको भन्ने उल्लेख छ । कतैकतै केचनाको उचाइ फरक लेखिएको पनि पाइन्छ । केचना दक्षिणपूर्व कुनामा र बङ्गालको खाडीबाट सबैभन्दा नजिक छ ।

केचनामा २०४४ साल पुस १६ गते तत्कालीन राजा वीरेन्द्र शाहको भ्रमणको अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृतिमाथि स्थापना गरिएको थियो । यो स्तम्भ नेपाल–भारत सिमानाको ५ सयमिटर वर रहेको छ ।

तर, केचना अझैसम्म पनि ओझेलमै छ । यो क्षेत्रमा ४ बिघा जमिन अत्यन्त होचो भएका कारण वर्षायाममा पानी जमेर दलदलमा परिणत हुने गरेको छ । नेपालकै अल्पसङ्ख्यक आदिवासी गनगाई जातिकोसमेत बसोबास रहेको केचना क्षेत्रमा २ ओटा ऐतिहासिक पोखरी छन् ।

महाभारत कालमा विराट राजाले राज्य बिस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरूका कारणले पनि यस क्षेत्रको महत्व अझ बढेको छ । भीमले किच्चकको वध गरेपछि ती २ पोखरीहरू पुर्न खोजेका थिए भन्ने किंवदन्ती पनि छ । धेरै विशेषता रहेको केचना सबैले हेला गरेझैँ भएको पाइएको छ ।

नेपालको सबैभन्दा होचो ठाउँ कुन हो ? भनेर कहिलेकाहीँ हाजिरीजवाफ प्रतियोगितामा सुन्नुबाहेक कहीँ कतै पनि यस ठाउँको नाम धेरै लिन नचाहेको स्थानीयको गुनासो छ । किनकि यो होचो ठाउँ तराईमा भएर पनि दुर्गम ठाउँमा छ ।

पर्यटकीय र धार्मिक स्थल विकास हुँदै जाने हो भने झापालाई पर्यटकीय स्थलको हबमा कल्पना गर्न सकिन्छ । अहिले नाम चलेका २ दर्जनभन्दा बढी पर्यटकीय तथा धार्मिक स्थल झापामा छन् । यसर्थ पर्यटनको विकास गर्न सके झापा समृद्ध बन्ने निष्कर्षमा जो–कोही पुग्न सक्छ ।

पर्यटन व्यवसायीले पनि मिहिनेत र जाँगरका साथ काम गर्ने हो भने पूर्वको पर्यटकीय क्षेत्रमा झापाको नाम अग्र स्थानमा आउनेमा दुईमत छैन । पर्यटन वर्ष २०२० शुरु हुन २ महिना बाँकी छ । मुलुकभर एक वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य राखिएको छ । झापाका यी पर्यटकीय स्थलमा लगानी गरी प्रचार गर्न सके सरकारको लक्ष्य पूरा गर्न केही सहयोग पुग्ने देखिन्छ । साथै स्थानीयले पनि फाइदा लिन सक्ने थिए ।

यी पर्यटकीय स्थलको संरक्षण, प्रचार र यी क्षेत्रमा पूर्वाधारको विकास गर्न सकेमा आय आर्जनसँगै कला संस्कृतिको उत्पादन र व्यापार अन्तराष्ट्रियस्तरसम्म पुग्ने पर्यटन व्यवसायीको भनाइ छ ।

Facebook Comment

छुटाउनुभयो कि?