थप २८९२ जनामा संक्रमण पुष्टि

पर्यटन बजार१६ असार २०७८, बुधबार मा प्रकाशित

थप २८९२ जनामा संक्रमण पुष्टि

असार १६, काठमाण्डौ। नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता फेरि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या मंगलबार संक्रमण पुष्टि भएको २६३६ भन्दा २५६ जनाले बढी हो । त्यस्तै सोमबार २,४४४ जना संक्रमित भेटिएकामा आइतबार १,९२० जनामा मात्र भेटिएका थिए । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले नेपालमा संक्रमणदर २६ प्रतिशत पुगेको छ । प्रवक्ता कृष्णप्रसाद पौडेलले जोखिम अझै नहटेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५९७ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् ।

हालसम्म कोरोना संक्रमणका कारण ९११२ जनाको मृत्यु भएको छ । हालसम्म १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।

Facebook Comment

छुटाउनुभयो कि?