निर्धारित यात्रा प्रभावित हुँदा नेपालमा पर्यटकको बसाई अवधि लम्बियो

पर्यटन बजार१७ असार २०७८, बिहीबार मा प्रकाशित

निर्धारित यात्रा प्रभावित हुँदा नेपालमा पर्यटकको बसाई अवधि लम्बियो

असार १७, काठमाण्डौ। कोरोना भाइरसको महाकारीका कारण निर्धारित यात्रा प्रभावित हुँदा नेपालमा पर्यटकको बसाई अवधि लम्बिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आंकडा अनुसार सन् २०२० मा नेपालमा एक जना पर्यटकको औसत नेपाल बसाई १५.१ दिन रहृयो । सन् २०१९ मा एक पर्यटक नेपालमा १२.७ दिन रहेको थियो ।

मन्त्रालयका अनुसार कोरोना भाइरसको महामारीका कारण यो वर्ष पछिल्लो तीन दशकयताकै कम पर्यटन नेपाल आएका थिए । सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

सन् १९८९ मा २ लाख ३९ हजार ९ सय ४५ पर्यटक आएकोमा त्यसयता निरन्तर पर्यटक आगमन बढी रहेको थियो । ११ चैत २०७६ मा सरकारले पहिलो पटक नेपालमा देशव्यापी लकडाउन घोषणा गर्‍यो ।

जसले गर्दा एक त नेपाल आउन चाहने पर्यटकको नेपाल आगमन प्रभावित बन्यो । अर्कोतर्फ नेपालमा रहेको पर्यटक आफ्नो मुलुक निर्धारित समयमै फर्कन पाएनन् ।

अर्कोतर्फ त्यसयता फाट्टफुट्ट काम विशेषले नेपाल आउने विदेशीले क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण समेत बसाई अवधि लम्बिएको हो । नेपालमा यो वर्ष पर्यटकको औसतः बसाई अवधि १८.९० प्रतिशतले बढ्दा आगमनमा भने ८०.८ प्रतिशत गिरावट आएको हो । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।

तथ्यांकअनुसार सन् २०२० को पहिलो तीन महिना (जनवरी-मार्च)मा मात्र पर्यटक आगमन औसतः थियो । त्यसपछि बन्द भएको आगमन अन्तिम महिना (डिसेम्बर)पछि मात्र आगमनमा केही सुधार भएको देखिएको छ । त्यो बीचको ८ महिना भने करीव शून्य आगमनमा नेपालको पर्यटन क्षेत्र गुजि्रएको थियो ।

बसाई अवधि बढ्दा पर्यटकको खर्च बढ्यो

मन्त्रालयका अनुसार कोरोनाले नेपालमा रोकिएका पर्यटक र क्वारेन्टिनको प्रावधानका कारण उनीहरुबाट हुने औसतः दैनिक खर्च समेत बढेको पाइएको छ । सन् २०२० मा नेपालमा एक पर्यटकले दैनिक औसतमा ६५ अमेरिकी डलर खर्च गरेका छन् ।

यस्तो खर्च सन् २०१९ मा ४८ डलर मात्र रहेको थियो । दैनिक खर्चमा यो वर्ष ३५.४ प्रतिशतको सुधार भएको पाइएको छ ।

तर, यो सुधार खर्चालु पर्यटक आगमन बढेर वा पर्यटकीय उत्पादनका माध्यमबाट खर्च बढेको नभई बाध्यतावशः गर्नुपर्ने खर्चका कारण दैनिक खर्च बढेको देखिएको छ ।

पर्यटनबाट हुने आम्दानीमा ठूलो गिरावट

सन् २०२० मा पर्यटन क्षेत्रबाट हुने आम्दानीमा समेत ठूलो गिरावट आएको देखिएको छ । तथ्यांक अनुसार सन् २०२० मा करीव २६ अर्ब रुपैयाँ -२१ करोड ७० लाख अमेरिकी डलर) मात्र आम्दानी भएको छ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट नेपालले करीव ८६ अर्ब (७२ करोड ४३ लाख ३७ हजार अमेरिकी डलर) आम्दानी गरेको छ ।

यो वर्ष पर्यटनबाट हुने आयमा ७० प्रतिशत गिरावट आएको हो । यो वर्ष पर्वतारोहणबाट हुने आम्दानीमा समेत ठूलो गिरावट आएको हो । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रले दुई प्रतिशत भन्दा पनि कम योगदान गरेको देखिएको छ ।

कुल गार्हस्थ उत्पादनमा आतिथ्य सेवाको योगदान गणना हुन्छ । सन् २०२० मा यो क्षेत्र पहिलो तीन महिनापछि करीव ठप्प रहृयो । त्यसयता समेत विदेशी पर्यटक आगमनमा अपेक्षित सुधार हुन सकेको छैन । महामारीको दोस्रो लहरसँगै पुनः पर्यटक आगमन ठप्प बनेको छ ।

यस्तो छ सन् २०२० को पर्यटकीय तथ्यांक

आगमन : २३००८५ (८०.८ प्रतिशत घटेको)

पर्यटन आय : २१७००७ हजार डलर (७० प्रतिशत घटेको)

औसत बसाई अवधि : ६५ दिन (३५.४ प्रतिशत बढेको)

अन्तर्राष्ट्रिय उडान : १०२५६ वटा (६८.४ प्रतिशत घटेको)

Facebook Comment

छुटाउनुभयो कि?