देशैभरी अविरल वर्षा , सतर्कता अपनाउन आग्रह

पर्यटन बजार१८ असार २०७८, शुक्रबार मा प्रकाशित

देशैभरी अविरल वर्षा , सतर्कता अपनाउन आग्रह

असार १८,काठमाडौं। मनसुन सक्रिय भएसँगै पछिल्ला केही दिनदेखि देशैभरी अविरल वर्षा भैरहेको छ ।

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गहरु क्षतीग्रस्त भएका छन् ।

कतिपय स्थानमा पहिरो गएर जनधनको समेत क्षती भैरहेको छ ।

यसैबीच, निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मनसुनजन्य विपत बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय बनाइएको जानकारी पनि मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज दाहालका अनुसार जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक र मनाङलगायत २६ वटा जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेका छन्, जसको खोज तथा उद्धार र राहत कार्य निरन्तर जारी छ ।

बाढी पहिरोका कारण हालसम्म देशभरीमा २७ को मृत्यु, २६ बेपत्ता, १९ जना घाइते भएका छन् ।

हेलिकप्टरबाट २६८ जना र सुरक्षाकर्मीले चार सय जनाको उद्धार गरेका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरोपीडित एक हजार छ सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै ४६२ घर तथा भवन पूर्ण रूपमा र ११० आंशिक रूपमा क्षति पुगेको छ ।

सम्भावित मनसुनजन्य जोखिम कायमै रहेकाले नदी किनार, खोला–खोल्सा, खहरे नजिकका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभिन्न जिल्ला तथा बस्तीमा सम्भावित जोखिमबाट सुरक्षित राख्न र रहन, राहत वितरण कार्यलाई प्रभावकारी बनाउन, खोज तथा उद्धार चुस्त र प्रभावकारी पार्न सम्बन्धित जिल्ला विपत् व्यवस्थापन समितिलाई निर्देशन गरिएको प्रवक्ता दाहालले जानकारी दिनु भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?