निषेधाज्ञापछि आन्तरिक उडानको पहिलो दिन – ९० प्रतिशत अकुपेन्सी, ५१ उडान सफल ८ उडान रद्द

पर्यटन बजार१८ असार २०७८, शुक्रबार मा प्रकाशित

निषेधाज्ञापछि आन्तरिक उडानको पहिलो दिन – ९० प्रतिशत अकुपेन्सी, ५१ उडान सफल ८ उडान रद्द

असार १८, काठमाण्डौ। निषेधाज्ञापछि बिहीबारदेखि खुलेको आन्तरिक उडानतर्फ पहिलो दिन ९० प्रतिशत अकुपेन्सीमा विमानहरू उडेका छन् । मौसमका कारण नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान संख्याभन्दा कम उडान भएको छ ।

पहिलाे दिन आज आठवटा उडान रद्द भएका छन् । बिहीबार एकतर्फी ५१ उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए । मौसमका कारण केही उडान ढिलो भए भने भरतपुरको उडान हुन नसकेको उनले बताए । कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी दैनिक ६४ उडान तालिका बनाइएको छ ।

कोभिड–१९ महामारीको जोखिमलाई मध्येनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सहज रूपमा आन्तरिक नियमित भएको तिवारीले बताए ।

विमानस्थलले आन्तरिक उडानमा यात्रुको भिडभाड कम गर्न तथा वर्षाको बेलासमेत भएकाले आन्तरिक टर्मिनल भवनको आगमन क्षेत्रमा थप ‘अस्थायी ब्यागेज क्लेम एरिया’ व्यवस्था मिलाएको तिवारी बताए ।

बुद्ध एयरलाइन्सका बजार प्रबन्धक रुपेश जोशीका अनुसार बिहीबार बुद्धको चारवटा उडान रद्द भए । मौसमका कारण भरतपुर उडान हुनै सकेन भने पोखरा उडेको विमानमा पनि बीच बाटोबाटै फर्किएको उनले जानकारी दिए । उनले ९० प्रतिशत अकुपेन्सीमा उडान भएको पनि बताए । 

यस्तै यती एयरलाइन्सले पनि ९० प्रतिशत बढी अकुपेन्सीमा उडान गरेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यती एयरलाइन्सको १५ वटा उडानको अनुमति पाएपनि १४ वटा मात्रै भएको उनले बताए । काठमाडौं–पोखराको एउटा उडान रद्द भएको हो । पोखराका लागि काठमाडौंबाट उडेको दिउँसोको उडान बिच बाटोबाटै डाइभर्ट भएको उनले बताए ।

यस्तै दिपालय, सिमिकोट र लुक्लाको उडान पनि रद्द भएकाे छ ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक उडान स्थगन गरेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?