नेपालकै सबैभन्दा होचो ठाउँ “केचना”

पर्यटन बजार२१ असार २०७८, सोमबार मा प्रकाशित

नेपालकै सबैभन्दा होचो ठाउँ “केचना”

असार २१,दमक। झापाको कचनकवल गाउँपालिकामा अवस्थित केचनालाई नेपालको सबभन्दा होचो ठाउँ मानिन्छ । पर्यटकीय महत्व बोकेको केचना समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको भन्ने उल्लेख छ । कतैकतै केचनाको उचाइ फरक लेखिएको पनि पाइन्छ । केचना दक्षिणपूर्व कुनामा र बङ्गालको खाडीबाट सबैभन्दा नजिक छ ।

केचनामा २०४४ साल पुस १६ गते तत्कालीन राजा वीरेन्द्र शाहको भ्रमणको अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृतिमाथि स्थापना गरिएको थियो । यो स्तम्भ नेपाल–भारत सिमानाको ५ सयमिटर वर रहेको छ ।

तर, केचना अझैसम्म पनि ओझेलमै छ । यो क्षेत्रमा ४ बिघा जमिन अत्यन्त होचो भएका कारण वर्षायाममा पानी जमेर दलदलमा परिणत हुने गरेको छ । नेपालकै अल्पसङ्ख्यक आदिवासी गनगाई जातिकोसमेत बसोबास रहेको केचना क्षेत्रमा २ ओटा ऐतिहासिक पोखरी छन् ।

महाभारत कालमा विराट राजाले राज्य बिस्तार गर्दा उनका निर्माण गरेको विश्वास गरिने यी पोखरीहरूका कारणले पनि यस क्षेत्रको महत्व अझ बढेको छ । भीमले किच्चकको वध गरेपछि ती २ पोखरीहरू पुर्न खोजेका थिए भन्ने किंवदन्ती पनि छ । धेरै विशेषता रहेको केचना सबैले हेला गरेझैँ भएको पाइएको छ ।

नेपालको सबैभन्दा होचो ठाउँ कुन हो ? भनेर कहिलेकाहीँ हाजिरीजवाफ प्रतियोगितामा सुन्नुबाहेक कहीँ कतै पनि यस ठाउँको नाम धेरै लिन नचाहेको स्थानीयको गुनासो छ ।

किनकि यो होचो ठाउँ तराईमा भएर पनि दुर्गम ठाउँमा छ ।
पर्यटकीय र धार्मिक स्थल विकास हुँदै जाने हो भने झापालाई पर्यटकीय स्थलको हबमा कल्पना गर्न सकिन्छ । अहिले नाम चलेका २ दर्जनभन्दा बढी पर्यटकीय तथा धार्मिक स्थल झापामा छन् । यसर्थ पर्यटनको विकास गर्न सके झापा समृद्ध बन्ने निष्कर्षमा जो–कोही पुग्न सक्छ ।

पर्यटन व्यवसायीले पनि मिहिनेत र जाँगरका साथ काम गर्ने हो भने पूर्वको पर्यटकीय क्षेत्रमा झापाको नाम अग्र स्थानमा आउनेमा दुईमत छैन । पर्यटन वर्ष २०२० शुरु हुन २ महिना बाँकी छ ।

मुलुकभर एक वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य राखिएको छ । झापाका यी पर्यटकीय स्थलमा लगानी गरी प्रचार गर्न सके सरकारको लक्ष्य पूरा गर्न केही सहयोग पुग्ने देखिन्छ । साथै स्थानीयले पनि फाइदा लिन सक्ने थिए ।

यी पर्यटकीय स्थलको संरक्षण, प्रचार र यी क्षेत्रमा पूर्वाधारको विकास गर्न सकेमा आय आर्जनसँगै कला संस्कृतिको उत्पादन र व्यापार अन्तराष्ट्रियस्तरसम्म पुग्ने पर्यटन व्यवसायीको भनाइ छ ।

Facebook Comment

छुटाउनुभयो कि?