अब चिम्पु र चम्पालाई हेर्न पाइने

पर्यटन बजार२२ असार २०७८, मंगलवार मा प्रकाशित

अब चिम्पु र चम्पालाई हेर्न पाइने

असार २२,काठमाडौँ — तस्करको नियन्त्रणबाट उद्धार गरिएका दुई चिपान्जीलाई अब आगन्तुकहरूले हेर्न पाउने भएका छन् । जावलाखेलस्थित सदर चिडियाखानाले हेर्न दिने व्यवस्था मिलाउन लागेको हो ।

चिम्पु र चम्पा नाम दिइएका भालेपोथी चिपान्जीलाई एसीजडित खोरमा राखिने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले केही साताअघि करिब एक करोड बराबरको अत्याधुनिक खोर (चिपान्जी इन्क्लोजर) निर्माणका लागि ठेक्का आह्वान गरिसकेको सदर चिडियाखानाका प्रमुख डा. चिरञ्जीवी पोखरेलले बताए ।

‘बढ्ने जन्तु हुन् । खेल्न–बस्न अलि फराकिलो ठाउँ चाहिन्छ,’ उनले भने, ‘खोर वातावरण अनुकूल र मजबुत चाहिने भएकाले एसी राख्‍नुपरेको हो ।’ खोर बनिसकेपछि सर्वसाधारणले हेर्न पाउने उनले बताए । संकटापन्न सूचीमा सूचीकृत चिपान्जीसँग मानिसको डीएनए ९८ प्रतिशत मिल्ने उनले बताए ।

चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले मानिसहरुसँग घुलमिल हुन थालिसकेकाले सर्वसाधरणहरुले देख्न पाउने गरी राख्ने तयारी भइरहेको बताइन् ।

‘पहिला यिनीहरु साना थिए,मानिसहरुसँग पनि घुलमिल गर्न डराउथे,’उनले भनिन्,‘मानिसहरुसँग अब यिनीहरु युज्ड टू भएका छन् । त्यही भएर देख्न मिल्ने ठाउँमा राख्छौं । खोर निर्माण र अन्य प्रक्रिया पुरा बढीमा एक वर्ष लाग्छ ।’

चिम्पु र चम्पाको हेरचाहका लागि चिडियाखानाले कर्मचारी खटाएको छ । हाल यिनीहरूलाई चिडियाखानामा वन्यजन्तु अस्पतालभित्रको एउटा खोरमा राखिएको छ । करिब ४ वर्ष उमेर अनुमान गरिएका यी चिपान्जी २०७४ असोज ३१ मा चिडियाखानामा ल्याइएका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?