फेवाताल बचाउने ड्याम बाढीले बगायो

पर्यटन बजार२४ असार २०७८, बिहीबार मा प्रकाशित

फेवाताल बचाउने ड्याम बाढीले बगायो

असार २४ , काठमाडौं । फेवातालमा वर्षेनि जम्मा हुने गेग्य्रान रोक्न भन्दै पोखरा महानगरले बनाएको सिल्ट्रेसन ड्याम बाढीले बगाइदिएको छ । पोखरा २३ स्थित हर्पनखोलामा बनेको ड्याम निर्माण पूरा भएको दुई वर्ष नपुग्दै बाढीले बगाइदिएको हो ।

‘राति आएको बाढीले ड्याम नै बगाइदियो । बढेको पानी अहिले ठूलाखेतको बस्तीमा छिरिसक्यो’ पोखरा २३ का वडाध्यक्ष भरतराज भण्डारी भन्छन्, ‘मान्छेलाई अहिलेसम्म केही क्षति पुर्‍याएको छैन । तर, बस्तीका ६ घरलाई भने क्षति पुर्‍याउन सुरु गरिसक्यो ।’

हर्पन खोला फेवातालको मुख्य मुहान खोला मानिन्छ । हर्पनजस्तै तालका अन्य सहायक मुहानहरुबाट वर्षेनि १ लाख २४ हजार मेट्रिक टन गेग्य्रान फेवा पुग्ने तथ्यांक छ । तिनै गेग्य्रान रोक्ने र ताल बचाउने भन्दै महानगर र प्रदेशले दुई वर्षअघि ड्याम बनाएका थिए ।

फेवा मुहानका विभिन्न खोलामा ५ वटा सिल्ट्रेसन ड्याम बनेका छन् । २०७६ पुस महीनादेखि शुरु गरेको बाँध बनाउने काम १५ महीनाभित्र सक्ने सम्झौतासहित सिल्ट्रेसन ड्याम निर्माण शुरु भएको थियो । गण्डकी प्रदेश र पोखरा महानगरको संयुक्त २८ करोड १६ लाख रुपैयाँमा ती ड्याम बनेका हुन् ।

फेवा मुहानका बेत्यानी खोलामा दुई वटा, खहरे खोला, घाँटीछिना र लौरुक खोलामा एक/एक गरी पाँच वटा ड्याम बनाउने गरी पोखरा २४ स्थित बेत्यानी खोलामा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखराका मेयर मानबहादुर जिसीले शिलान्यास गरेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?