सुकेटार विमानस्थलमा दुई महिनापछि जहाज अवतरण

पर्यटन बजार२७ असार २०७८, आईतवार मा प्रकाशित

सुकेटार विमानस्थलमा दुई महिनापछि जहाज अवतरण

असार २७, ताप्लेजुङ । कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा शनिबार नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो ।

नेपाल वायु सेवा निगमको जहाजले काठमाडौंबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए।

निगमले गत सोमबारदेखि नै नियमित उडान सुरु गरेको थियो । गत सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौँ फर्केको थियो ।

सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले बताए। सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ ।

तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म ७ हजार ५० रूपैयाँ भाडा र ताप्लेजुङदेखि काठमाडौँ ७ हजार १ सय ९० रूपैयाँ भाडा तोकिएको कार्यालयले जनाएको छ ।

निगमले ताप्लेजुङदेखि १ नम्बर प्रदेश राजधानी विराटनगरमा पनि नियमित उडानको लागि प्रक्रिया आगाडि बढिरहेको लिम्बुल बताए । रासस

Facebook Comment

छुटाउनुभयो कि?