कोरोना कहरकै बीचमा सेवा दिन थाले सौराहाका होटलले

पर्यटन बजार२८ असार २०७८, सोमबार मा प्रकाशित

कोरोना कहरकै बीचमा सेवा दिन थाले सौराहाका होटलले

असार २८ , सौराहा। सौराहाका पर्यटकीय होटलले कोरोनाको कहरकै बीचमा सेवा दिन थालेका छन् । होटलको क्षमताअनुसार एक तिहाइसम्म पर्यटक राख्न पाउने जिल्ला प्रशासन कार्यालय चितवनको आदेशसँगै सौराहाका होटल सरसफाइ तथा रङरोगन गर्दै सेवा दिन थालेको क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।

“हामीले कोभिड–१९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ,” महासचिव थपलियाले भन्नुभयो, “आन्तरिक पर्यटक आउने क्रम सुरु भएको छ । ”

सवारी साधन सञ्चालन सहज नभएको र नारायणगढ–मुग्लिन सडकमा पहिरो जारी रहेकाले तल्काल पर्यटक आवगमन कमै भए आउने क्रम भने सुरु भएको उहाँले जनाउनुभयो ।

सौराहाकै राम्रा होटलमध्येको एक ल्यान्डमार्क फरेस्ट पार्कका सञ्चालक ओमप्रकाश पाण्डे होटल खुलेको पहिलो दिनमै आफूहरूले १८ वटा कोठा बिक्री गरेको जनाउनुभयो । “पर्यटक आउन थालिसके, पहिलो दिनमै हामीले १८ वटा कोठा बेचेका हौँ,” सञ्चालक पाण्डेले भन्नुभयो ।

कोरोना कहरले थला परेका बेला बाढीबाट डुबान भएपछि सौराहाको सरसफाइ र रङरोगन गरेर होटल सञ्चालन ल्याइएको पनि उहाँले जनाउनुभयो । “लामो समय बन्द रहेका होटल सञ्चालनमा ल्याउन आवश्यक सरसफाइ, रङरोगन र मर्मतसुधारमा हामीले १५ लाख रुपियाँ खर्च ग(यौँ,” पाण्डेले भन्नुभयो ।

महासचिव थपलिया ठूला होटलको खर्च बढे पनि सबै होटलको सरसफाइ र मर्मतसुधार खर्च १५ लाख रुपियाँ नै नहुने बताउनुहुन्छ । “ठूला होटलको रङरोगन र सफाइमा उल्लिखित रकम खर्च भयो होला तर साना होटल एक लाख रुपियाँ मात्रै खर्च गरेर पनि सञ्चालनमा ल्याउने अवस्था छ,” उहाँले भन्नुभयो ।

अहिलेको अवस्थामा सौराहाका ११० वटा होटलले सरसफाइ तथा मर्मतसुधार र आवश्यकता अनुसारको सामान खरिदमा मात्रै १० करोड रुपियाँ खर्च गरेको उहाँले जनाउनुभयो ।
कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै गत वैशाख १७ देखि सौराहाका ११० होटल बन्द थिए । होटल बन्द हँुदा छ हजारभन्दा बढी कर्मचारी पनि कामविहीन थिए ।

खोपको माग
क्षेत्रीय होटल सङ्घले कोरोनाको जोखिम न्यूनीकरण गर्न होटलमा अग्रपङ्क्तिमा काम गर्ने कर्मचारीलाई खोप उपलब्ध गराउन माग गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र चितवनका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सङ्घले खोपको व्यवस्था मिलाउन आग्रह गरेको सङ्घका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो ।

घुमौँ सौराहा अभियान जारी
कोरोनाबाट थला परेको पर्यटन व्यवसाय उकास्न सौराहाका होटल व्यवसायीको छाता संस्था क्षेत्रीय होटल सङ्घले सञ्चालन गरिएको ‘घुमौँ सौराहा’ अभियान जारी छ । पर्यटकलाई विशेष छुटसहितको यस अभियानले विशेष त आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास होटल व्यवसायीमा छ । “हाम्रो उद्देश्य आन्तरिक पर्यटन विकासको माध्यमबाट कोरोनाले थला परेको चितवनको पर्यटनको विकासमा टेवा पुर्याओस् भन्ने हो,” अध्यक्ष भट्टराईले भन्नुभयो ।

Facebook Comment

छुटाउनुभयो कि?