रेष्टुराँ व्यवसायीहरु घरबेटीको दबाबमा

पर्यटन बजार२९ असार २०७८, मंगलवार मा प्रकाशित

रेष्टुराँ व्यवसायीहरु घरबेटीको दबाबमा

असार २९, काठमाण्डौ। कोरोना भाइरस महामारीका (कोभिड १९) कारण दुई वर्षदेखि व्यवसाय ठप्प भएर मारमा परेका रेष्टुराँ व्यवसायीहरु अहिले घरबेटीको दबाबमा परेका छन् । रेष्टुराँ व्यवसाय बन्द भए पनि नियमित रुपमा घरभाडा तिर्दैै आएको व्यवसायीलाई सम्झौता अवधि सकिएको भन्दै घर जग्गा खाली गर्न घरवेटीहरुले सार्वजनिक सूचना टास गर्न थालेका छन् । 

महामारीका कारण व्यवसाय बन्द भएपछि समस्यामा परेका व्यवसायीहरुलाई घरबेटीले दबाब दिन थालेसँगै उनीहरुलाई तनाब भएको छ। ललितपुरको झम्सिखेलमा रहेको सेभेन सिजन्स रेष्टुराँको सम्झौता अवधि सकिएको भन्दै साउन १ गतेबाट घर जग्गा खाली गराउन घरबेटी सरोजिनी श्रेष्ठले मुल गेटमा सूचना टासेकी छिन् । 

रेष्टुराँका सञ्चालक नरेशध्वज श्रेष्ठले कोरोना भाइरसको महामारीले दुई वर्षसम्म व्यवसाय बन्द हुँदा पनि नियमित रुपमा भाडा तिरेको र व्यवसाय सञ्चालन हुने बेलामा घरबेटीलाई घर जग्गा खाली गर्न दबाब दिएको बताए । नियमित रुपमा घरभाडा तिर्दा पनि घरबेटीले घर जग्गा छोड्न दबाब दिएको र सम्झौता अवधि थप गर्न आनाकानी गरेको प्रति आपत्ती जनाएका छन् ।

जब व्यवसाय सञ्चालन हुने बेला भयो त्यही बेला घरबेटीले छोड्नका लागि सूचना टासेर आफुमाथि अन्याय गरेको भन्दै यस विषयमा सरकारकोसमेत ध्यानाकर्षण गराएका छन् ।

सोमबार रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) ले सोही रेष्टुराँमा पत्रकार सम्मेलन गरी घरबेटीको उक्त निर्णय खारेज गर्न माग गरेका छन् । रेबानका अध्यक्ष अरनिको राजभण्डारी र महासचिव एकराज अधिकारीले कम्तिमा ५ वर्षसम्म रेष्टुराँहरुलाई एकै ठाउँमा सञ्चालन गर्ने वातावरण सरकार र घरबेटीले मिलाउनु पर्ने माग अघि सारेका छन् ।

सेभन सिजन्समा टासेको सूचना प्रतिनिधिमुलक मात्र भएको व्यवसायीको भनाई छ । अन्य रेष्टुराँमा पनि यस्तो समस्या देखिन थालेको सो अवसरमा जानकारी गराइएको थियो  नेपालमा सञ्चालित रेष्टुराँ मध्ये ९५ प्रतिशत भाडामै रहेको बताइएको छ ।

अधिकाशं रेष्टुराँका घरबेटीहरुले घर र जग्गा खाली गर्न दबाब दिइरहेको भन्दै सरकारले यस विषयमा गम्भिर भएर व्यवसायीको समस्याको समधानमा लाग्न महासचिव अधिकारीले अनुरोध गरेका छन् ।

रेबानका उपाध्यक्ष संघर्ष बिष्टले सरकारले सबै व्यवसाय खुला गरिसकेको अवस्थामा रेष्टुराँहरुलाई मात्र रोक लगाएको प्रति आपत्ति जनाएका छन् । उनले रेष्टुराँमा दैनिक ४ करोड ५० लाख रुपैयाँ भन्दा बढिको कृषि जन्य उत्पादन खपत हुदै  आएको छ ।

यस्तै १ लाख ५० हजार भन्दाबढीलाई रोजगारी दिएको क्षेत्रलाई सरकारले बन्देज लगाउनु गम्भिर विषय भएकोले यस विषयमा तत्कालै नयाँ निर्णय लिन सुझाव दिएका छन् । 

देशभरका करिब ३ हजार ५०० वटा रेष्टुराँहरु रेबानमा आबद्ध छन् । तीनिहरुबाट दैनिक १२ देखि १३ करोड रुपैयाँको कारोबार हुने गरेकोमा अहिले आम्दानी शुन्यमा झरेको व्यवसायीहरुले बताएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?