पर्यटकीय स्थल रेसुङ्गामा साउने मेला विशेष कार्यक्रम नहुने

पर्यटन बजार१ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

पर्यटकीय स्थल रेसुङ्गामा साउने मेला विशेष कार्यक्रम नहुने

साउन १ , काठमाडौँ । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा साउने मेलाका विशेष कार्यक्रम नहुने भएका छन् ।

कोभिडको दोस्रो लहरको सङ्क्रमणको सतर्कता अपनाउन चलेको निषेधाज्ञाले गर्दा साउन भर लाग्ने मेलाका विशेष कार्यक्रम नहुने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।

जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दथ्यो । धार्मिक स्थल रेसुङ्गामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि दैनिक पूजा सञ्चालन भने यथावत् रूपमा सञ्चालन हुने समितिले जनाएको छ ।

नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरू बाट पनि श्रद्धालु भक्तजन आउने गर्दछन् ।

अघिल्ला वर्षहरूमा साउन भर सञ्चालन हुने मेला अन्तर्गत साउन १ गते र साउने औँसी, एकादशीका दिन विशेष मेला लाग्ने गर्दथ्यो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेता युगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्य श्रृंगले तपस्या गरेको आध्यात्मिक महत्त्व रहेको जनश्रुति छ ।

रेसुङ्गामा द्वापर युग,त्रेता युगदेखि नै यसको महत्त्व रहेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख पनि रहिआएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋषि महर्षिहरूको तपस्या स्थल रेसुङ्गाको महत्त्व धेरै वेद पुराणहरुमा समेत उल्लेख छ ।

द्वापर युगदेखि नै सिद्ध स्थल बनेको रेसुङ्गा विभिन्न काल खण्डहरू पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ । समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?