कोरोना महामारी बिचमा कति पर्यटक नेपाल भित्रिए ?

पर्यटन बजार१ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

कोरोना महामारी बिचमा कति पर्यटक नेपाल भित्रिए ?

साउन १, काठमाडौँ। सरकारले २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रूपमा मनाउने घोषणासँगै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको थियो । यही लक्ष्य अनुरूप २०१९ देखि नै स्वदेश तथा विदेशमा विभिन्न पर्यटकीय गतिविधि सुरु गरिएको थियो ।

पर्यटन बोर्डको तथ्यांकअनुसार दोस्रो लहरको कोरोनासम्म आइपुग्दा ३० हजार ५९० जना भारतीय पर्यटक नेपाल भित्रिएका छन् । दोस्रोमा अमेरिकाबाट ६ हजार ९२७ जना नागरिकले नेपाल भ्रमण गरेका छन् । यस्तै, तेस्रो नम्बरमा चीनबाट ४ हजार ७१२ जना, युकेबाट १ हजार ९७२ र रसियाबाट १ हजार ७० जनाले नेपाल भ्रमण गरेका छन् ।  

यस्तै, सार्क मुलुकबाट कुल सङ्ख्याको ५५.४ प्रतिशत, एसियाबाट १०.२९ प्रतिशत, युरोपबाट ११.४१ प्रतिशत, ओसिएन अस्ट्रेलिया लगायतबाट ०.५९ प्रतिशत, अमेरिकन मुलुकबाट ११.९३ प्रतिशत र अन्य मुलुकबाट ९.४ प्रतिशतले नेपाल भ्रमण गरेको पर्यटन विभागका तथ्याङ्क शाखा प्रमुख कवीन्द्र भट्टले जानकारी दिए ।   

सो तथ्याङ्कलाई हेर्ने हो भने २०२० को जनवरीमा ७९ हजार २०२ जनाले नेपाल भ्रमण गरेका थिए भने २०२१ को सोही समय ८ हजार ८७४ जना मात्रै पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, २०२० को फेब्रुअरीमा ९८ हजार १९० जनाले नेपाल भ्रमण गरेका थिए भने २०२१ को सोही समय ९ हजार १४६ जनाले नेपाल घुमेका थिए ।  

२०२० को अप्रिलमा सबैभन्दा कम (१४ जना) मात्रै नेपाल आएका थिए । जति बेला नेपालमा कोरोना भाइरस त्रसित रूपमा फैलिएको थियो । यस वर्ष सोही समय भने २२ हजार ४५० जना नेपाल भित्रिएको देखिन्छ । यस समय दोस्रो लहरको कोरोना फैलिँदै थियो । 

यसपछि, २०२१ को मे महिनामा २२ हजार पर्यटकबाट १ हजार ४६८ जनाको सङ्ख्यामा झरेको थियो भने जुनमा १ हजार १४३ जनाले मात्रै नेपाल भ्रमण गरेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम बहादुर सुवेदीले कोरोनाको बिचमा पनि ट्रेकिङ र पर्वतीय क्षेत्रमा पर्यटक आउनु सुखद पक्ष भएको बताए । 

‘कोरोनाको कारण पर्यटन क्षेत्र पूर्ण रूपमा प्रभावित भएका छ । पर्यटन उद्योग पुरानै लयमा फर्काउनका लागि विभिन्न प्रवर्द्धनमुखी कार्यक्रमहरूको तर्जुमा गर्नुपर्छ’ , टानका अध्यक्ष सुवेदीले भने, ‘हजारौँ पर्यटन मजदुर, व्यवसायी, होटल क्षेत्र प्रभावित भएको छ । सरकारले कुनै न कुनै रूपमा राहतमुखी प्याकेज ल्याउनुपर्छ ।’ 

Facebook Comment

छुटाउनुभयो कि?