महिला ,बालबालिका र युवालाई लक्षित गर्दै संचालनमा आयो पासाङ ल्हामु स्पोर्ट्स सेन्टर

पर्यटन बजार१ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

महिला ,बालबालिका र युवालाई लक्षित गर्दै संचालनमा आयो पासाङ ल्हामु स्पोर्ट्स सेन्टर

श्रावण १ , काठमाडौँ।पासाङ ल्हामु स्पोर्ट्स सेन्टरको पुन: उद्दघाटन गरिएको छ । केही समय देखि बन्द अवस्थामा रहेको पासाङ ल्हामु स्पोर्ट्स सेन्टरको बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले वाल क्लाइम्ब गरी उद्दघाटन गर्नुभएको हो।

मन्त्री  नेपालले भने “सिन्धुपाल्चोककै बिषयमा जुगलको पर्यटन क्षेत्र विगतको भन्दा भिन्न हुँदै गएको छ । मान्छे भिडभाड भन्दा एकान्त प्रेमी भएका छन्न । जसको फलस्वरूप हाम्रो हिमाल पहाडहरू बिस्तारै पर्यटकीय गन्तव्यहरू बन्न थालेका छन्न । यही आजको पुस्ताको आवश्यकतालाई मध्यनजर गर्दै यसैलाई कसरी गुणस्तरीय बनाउने र स्तरीय सेवा कसरी प्रदान  गर्ने भन्ने योजना बनाउन जरुरी छ ।” 

बाग्मती प्रदेशमा धेरै पर्यटन पुर्वाधारको विकास गर्ने छलफलमा रहेको बताउँदै  मन्त्री नेपालले  छिट्टै  नै यसमा काम  गर्ने योजना रहेको सुनाए । युवाहरू साहसिक पर्यटन तर्फ बढि आकर्षित छन् । मन्त्री शर्माले  हेलम्बु र पर्यटनको पुरानो पर्यटकीय सम्बन्ध रहेको समेत बताएका छन्। उनले  पर्यटकीय प्रवर्द्धन सङै पर्यटकीय स्थलहरू सफा हुनुपर्ने कुरालाई मध्यनजर गर्दै  बाग्मती प्रदेशका हिमाल सरसफाईको निमित्त प्रदेश सरकारले डेढ करोड रुपैया छुट्ट्याएको जानकारी गराए  ।

पर्यटन हामी सबैको साझा सम्पत्ति हो यसलाई हामी आफै मिलेर प्रवर्द्धन र संरक्षण गर्नुपर्छ र यो हामी गर्दै छौ पनि । यसैलाई टेकेर हामीले समृद्धि प्राप्त गर्ने हुनाले निजी पर्यटकीय क्षेत्रहरूलाई  व्यापक ढंगले प्रचारप्रसार गर्न जरुरी रहेको समेत मन्त्री  नेपालले बताए। 

उद्घाटन समारोहमा बोल्दै नेसनल स्पोर्ट्स काउन्सिलका बोर्ड सदस्य गोविन्द भट्टराईले संसारमा ३ ओटा चीज रक क्लाइम्विङ , वाल क्लाइम्विङ ,र आइस् क्लाइम्विङ रहेको बताउँदै उहाँले यी क्लाइम्विङको बारेमा विस्तृत जानकारी गराए । क्लाइम्विङ ले मानिसको जीवनमा नकारात्मक कुरालाई हटाएर सकारात्मक र स्वस्थ्य बन्न सहयोग पुर्‍याउने समेत उनले  बताए। नेपाल हिमालै हिमालको देश भएकाले नेपालमा पदक र पर्यटन ल्याउने भए क्लाइम्विङको क्षेत्रलाई फराकिलो बनाउनु पर्ने समेत उनले बताए ।

पर्यटन पत्रकार तथा सगरमाथा आरोही कल्पना महर्जनले लामाद्वारा पूजा गरिएको खादालाई वालको चुचुरो मा पुगेर बाँधेकी थिइन् । क्लाइम्विङ पछि नयाँ  टिम लाई  बधाई तथा शुभकामना दिँदै साहसिक पर्यटनको क्षेत्रमा यसले नयाँ आयाम थप्नेमा आफू बिस्वस्त रहेको बताइन।  

प्रदेशसभा सदस्य निमा लामाले वाल क्लाइम्ब गर्दै युवा पर्यटन क्षेत्रमा संलग्न भाइ बहिनीको यो सराहनीय काम देखेर अत्यन्तै खुसी लागेको बताए । सांसद  लामाले  हिजो सगरमाथा आरोहण गर्दा होस् या आजको स्पोर्ट्स सेन्टरको उन्नतिमा होस नेपालको पर्यटन क्षेत्रमा लागिपरेको यस टिम लाई सधैँ सहयोग गर्न आफू तत्पर रहेको बताए। उनले भने ” तपाईहरु नेपालको पर्यटन क्षेत्रको विकास का लागि दिनरात नभनी काम  गरिरहनुभएको छ त्यस कार्यमा हामीले पनि केही सहयोग गर्न सक्यौँ भने समस्त नेपाल र सिन्धुपाल्चोकको प्रगतिमा मद्दत पुग्ने छ। “

उनले थपे ” विगतमा जुगल हिमाल आरोहण गर्न हामीले सफल प्रयास गरेका छौ अन्य धेरै हिमालहरू प्रदेश नम्बर ३ मा अझै छन् तिनलाई आवश्यक रुट र प्रचारप्रसार गर्न हामिले नयाँ नयाँ विधेयक बनाउँदै छौ । नेपाल मा धेरै हिमालहरू आरोहण गर्न लायक छन् चुचुरोमा पुग्न नसकेपनी हामी बेसक्याम्प सम्म पुग्नु जरुरी छ ।”

त्यस्तै युवा नेता तथा सगरमाथा आरोही सरल सहयात्रीले अत्यन्तै राम्रो कामको सुरुवात भएको बताएका छन्। पर्यटकको प्रचुर सम्भावना बोकेको नेपालमा वाल क्लाइम्बिङका यस्ता स्पोर्ट्स सेन्टरहरु ठाउँ ठाउँमा संचालनमा आउनु पर्ने कुरामा नेता सहयात्रीले जोड दिए। यस्ता स्पोर्ट्स सेन्टरले ट्रेकिङमा जान इच्छुक , हिमाल यात्रामा जान इच्छुकलाई मार्गदर्शन दिने काम गर्ने उनले बताए। त्यसैगरी जिम , साइकलिङ, जुम्बा जस्ता ब्यायाम मा माध्यमहरु नेपालमा रहँदै गर्दा वाल क्लाइम्बिङले पनि मानिसको स्वास्थ्य मा बिभिन्न तवरबाट अचुक फाइदा पुग्नेमा कुनै दुई मत नरहेको उनको भनाई छ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक माया गुरुङले पासाङ्ग ल्हामु शेर्पा राष्ट्रिय विभूति र आफ्नो हिमाल मोह प्रतिको मुख्य प्रेरणा को स्रोत रहेको बताइन। पासाङ ल्हामुले हिमाल यात्रालाई  सफल बनाएकै कारण धेरै महिलाले हिमाल यात्रालाई  सपनाको रूपमा सजाएको र यात्रा गर्न प्रेरणा प्रदान गरेको कुराहरू सबैलाई सर्वविदितै छ र आज पासाङकै नाममा आफू पनि जोडिन पाउँदा अत्यन्तै गौरवान्वित महसुस भएको छ , उनले भनिन ।

यस स्पोर्ट्स सेन्टरमा जुनसुकै उमेर समूहका व्यक्तिहरूले आएर वाल क्लाइम्ब  गर्न सक्ने सञ्चालक गुरुङले बताइन। ” हाइकिङ , ट्रेकिङ , हिमाल यात्रा गर्न चाहने  वा शारीरिक रूपमा फिट  र फ्रेस रहन चाहने  जो कोहीले यहाँ आएर सेवा लिन सक्ने समेत उनले जानकारी गराइन। 

पासाङ ल्हामु स्पोर्ट्स सेन्टरमा वाल क्लाइम्ब गर्न चाहने पुरुषले पुरै दिनको प्रति व्यक्ति ४०० रुपैयाँ तिर्नुपर्ने हुन्छ भने महिला र विद्यार्थीले ३५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै बालबालिकाले रु ३०० शुल्क मै वाल क्लाइम्ब गरेर साहसिक गतिविधिको अनुभव लिन सक्नेछन्।

Facebook Comment

छुटाउनुभयो कि?