पर्यटकको सुरक्षीत यात्रा , हाम्रो प्रतिबद्दता – डिएसपी पाण्डेय

पर्यटन बजार३ श्रावण २०७८, आईतवार मा प्रकाशित

पर्यटकको सुरक्षीत यात्रा , हाम्रो प्रतिबद्दता – डिएसपी पाण्डेय

साउन ३ ,काठमाडौँ। पर्यटक प्रहरी इकाई भृकुटीमण्डपमा डिएसपी तर्क राज पाण्डेयले पदभार ग्रहण गरेका छन् । गत सोमबार पर्यटक प्रहरीहरूले डिएसपी पाण्डेयलाई स्वागत गरेका थिए । पर्यटक प्रहरीले पर्यटकको सुरक्षा, पर्यटकको महत्त्वपूर्ण कागजात हराएमा खोजिगरी हस्तान्तरण गर्ने, पर्यटकीय स्थलमा सुरक्षा दिनुको साथै पर्यटनसँग सम्बन्धित सङ्घ संस्थासँग सहकार्य गर्ने गरेका छन् । प्रस्तुत छ डिएसपी पाण्डेय सँग पर्यटक प्रहरीको आगामी योजना बारे पर्यटन बजार डट  कमले गरेको कुराकानी :


१. भर्खरै मात्र पदभार ग्रहण गर्नुभएको छ ,कस्तो लागिरहेको छ ? 

पर्यटक प्रहरी प्रमुख भएर काम गर्ने अवसर प्राप्त गर्दा पर्यटक एवं पर्यटकीय स्थलहरूको सुरक्षा व्यवस्थापन गर्ने तथा पर्यटकको सुरक्षा प्रति थप जिम्मेवार भएको महसुस गरेको छु । पर्यटकहरूलाई पर्यटक प्रहरी चाहिँ हाम्रै सुरक्षा र सहजताका लागि अनवरत खटिरहेका छन् भनेर ढुक्क सँग नेपाल भ्रमण गर्न सक्ने सुरक्षित वातावरण सृजना गर्ने पर्यटक प्रहरी जिम्मेवारीलाई  उच्चो राख्न प्रयत्नशील रहने छु ।  

२. पर्यटक प्रहरीका मुख्य मुख्य कार्यहरू के के रहेका छन् ?

नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूलाई आवश्यक सेवा, सुरक्षा एवं सूचनाहरू उपलब्ध गराउनुका साथै सुरक्षित र सहज वातावरण सृजना गरी पर्यटकहरूलाई पर्न आएका कुनै पनि किसिमका समस्याहरूको समयमै समाधान गरी पर्यटकहरूको नेपाल बसाई सुरक्षित एवं भयरहित रहेको अनुभूति दिलाई दिगो पर्यटन विकासमा टेवा पुर्‍याउने पर्यटक प्रहरीको मूल उद्देश्य हो ।

नेपाल भ्रमणमा रहेका पर्यटकहरू माथि हुन सक्ने हैरानी, अभद्र व्यवहार आदिको रोकथाम एवं नियन्त्रण गर्ने, पर्यटकीय स्थलहरूमा सुरक्षाको अनुभूति दिलाउन गस्ती गर्ने, पर्यटकहरू उपर हुने ठगी, कुटपिट, चोरी जस्ता सामान्य अपराधिक घटनाको प्रारम्भिक अनुसन्धान गरी आवश्यक कारवाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउने, पर्यटकहरूको सामान हराएमा वा चोरी भएमा अनुसन्धानका लागी सम्बन्धित स्थानीय प्रहरी निकाय सँग समन्वय गरी प्रतिवेदन उपलब्ध गराउने समेत गर्दछौ।  यसका साथै हिमाल यात्राका क्रममा उद्धारको आवश्यकता परेमा वा कुनै पनि स्थानमा अलपत्र परेमा सम्बन्धित सङ्घ संस्थासँग समन्वय गरी  उद्धारको लागी पहल गर्ने  गरिएको छ ।  

३.  पर्यटकको सुरक्षित बसाइ , सुरक्षित यात्राका  लागि पर्यटक प्रहरीको आगामी योजनाहरू बताई दिनुहोस् न  ?
नेपाल भ्रमणमा रहेका पर्यटकको सुरक्षामा कमी नहोस् भन्ने उद्देश्यले काठमाडौँ उपत्यकाका मुख्य मुख्य पर्यटकीय स्थलहरूमा १० वटा पर्यटक प्रहरी पोस्टहरू  रहेका छन्।  काठमाडौँ उपत्यका बाहिर चाहिँ झापाको काकडभित्ता, सोलुखुम्बुको लुक्ला, धनुषाको जानकी मन्दिर, चितवनको सौराहा र पटिहानी, रसुवाको स्याफ्रुवेशी, पर्साको वीरगन्ज, कास्कीको पोखरा, बिरेठाँटी, धम्पुस र घान्द्रुक, मनाङको चामे र धारापानी, मुस्ताङको जोमसोम, रुपन्देहीको लुम्बिनी र बेलहिया, म्याग्दीको घोडेपानी र तनहुँको बन्दीपुर गरी १८ स्थानहरूमा पर्यटक प्रहरी इकाई स्थापना गरी सेवा प्रदान गर्दै आइरहेका छौ । 

यसका अलावा पर्यटकहरूको चाप  बढी हुने मौसम र पर्यटकीय स्थलहरूमा थप सुरक्षाका गतिविधिहरू बढाउने र पर्यटनसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने निकायहरूसँग अन्तरक्रिया, गोष्ठी, सार्वजनिक सुनुवाइ लगायतका कार्यक्रमहरू सञ्चालन गरी पर्यटक सुरक्षालाई थप प्रभावकारी बनाउने र पर्यटन मैत्री व्यवहारको विकासमा जोड दिने ।  नेपालको विभिन्न स्थानहरूमा अलपत्र परेका पर्यटकहरूको व्यवस्थापनको लागि पर्यटन विभाग सँगको समन्वयमा यसै वर्ष देखि “सेफ हाउस”  सञ्चालनमा ल्याउने योजना रहेको छ । 

टुरिस्ट पुलिसलाई टेक्नोलोजी फ्रेन्डली बनाउने हाम्रो योजना रहेको छ जसले गर्दा नेपाल भित्रिएका पर्यटकको बारेमा जानकारी सहजै प्राप्त गरी सो अनुसारको सुरक्षा प्रदान  गर्न सकियोस् । विश्व महामारीको रूपमा फैलिएको कोभिड(१९ को कारण प्रभावित पर्यटन क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन नेपाल सरकारद्वारा अवलम्बन गरिने नीति  अनुसार भरपर्दो सुरक्षा व्यवस्थापन गर्ने योजना समेत रहेको छ  ।

  अर्को भनेको चाहिँ हामीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पर्यटक सँग कुरा गर्नुपर्ने हुँदा भाषा को समस्या हुनसक्छ।  त्यसैले पर्यटक प्रहरीलाई अङ्ग्रेजी , फ्रेन्च  लगायतका भाषाको पनि तालिम दिने योजना रहेको छ।  अहिले पनि केही प्रहरी साथीहरूले तालिम लिई रहनुभएको छ तर यसलाई अझै बृहत् बनाउने तर्फ हामी लागेका छौँ। 

४. हालसम्म धेरै स्थानमा पर्यटक प्रहरीका कार्यालयहरू भएता पनि प्रहरीको सङ्ख्या अत्यन्तै कम रहनुको कारण के होला ?

बि।सं। २०३५ सालमा पर्यटक प्रहरीको स्थापना हुँदा जम्मा ७ जनाको दरबन्दी मात्रै थियो भने २०७८ साल सम्म आइपुग्दा पर्यटक प्रहरीको दरबन्दी सङ्ख्या २७७ जनामा आइपुगेको छ । यसरी हर्दा विगतमा भन्दा अहिले पर्यटक प्रहरीको संङख्यामा वृद्धि भएको देखिन्छ, तथापी पर्यटकहरूको बढ्दो चापको तुलनामा उपत्यका लगायत उपत्यका बाहिरका पर्यटकीय स्थलहरूको सुरक्षार्थ यो सङ्ख्या कम रहेता पनि हामी हाम्रो डीउटी आवर बढाएर भए पनि पर्यटकीय  स्थलहरूमा गस्ती ” Vehicular तथा Foot Patrolling” का माध्यमद्वारा सुरक्षित वातावरण सृजनाका लागी कटिबद्ध छौ । 

५. अझै सम्म पनि पर्यटक प्रहरीको बारेमा सर्वसाधारणहरू अनविज्ञ रहेको देखिन्छ , यसको कारण के होला ? 

पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरीको व्यवस्था गरिएको छ ।  विगतमा भन्दा हाल पर्यटक प्रहरी र पर्यटक प्रहरीले प्रदान गर्ने सेवाको बारेमा जनमानसमा राम्रो जानकारी भएको पाइन्छ । राज्यका प्रमुख पर्यटकीय हबहरू  काठमाडौँ , लुक्ला, सौराहा, पोखरामा पर्यटक प्रहरीको बारेमा सर्वसाधारण तथा पर्यटन व्यवसायी समेतलाई राम्रो जानकारी भएको देखिन्छ।

यस बाहेकका अन्य पर्यटकीय स्थानमा अझै पनि पर्यटक प्रहरीको काम कर्तव्यका बारेमा यथेष्ट मात्रामा जानकारी नभएको अवस्था रहेको छ तसर्थ ती स्थानहरूमा पर्यटक प्रहरी, स्थानीय प्रहरी, पर्यटनसँग सरोकारवाला निकायहरूसँग पर्यटकहरूलाई दिनु पर्ने सेवा तथा गर्नु पर्ने व्यवहारका बारेमा अन्तर क्रियात्मक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने सोच बनाएका छौँ ।    

६. पर्यटक प्रहरीले “हामी छौँ” भनेर , कुनै जनचेतना मूलक कार्यहरू गर्नुभएको छ ?

मैले चाहिँ भर्खरै मात्र टुरिस्ट पुलिस जोइन गरेको हुँदा मैले त्यस्तो कुनै कार्यक्रम सञ्चालन गर्न पाएको छैन । कार्यालयको अभिलेख हेर्दा पर्यटकीय स्थलहरू चितवन, मनाङ, मुस्ताङ, सोलु, धनुषा, लुम्बिनी, काठमाण्डौमा रहेका पर्यटक प्रहरी, स्थानीय प्रहरी, पर्यटनसँग सरोकारवाला निकायहरूसँग मिलेर अन्तरक्रियात्मक कार्यक्रम गरेको पाइएको छ।  पर्यटकहरूलाई दिनु पर्ने सेवा तथा गर्नु पर्ने व्यवहारका बारेमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीनुका साथै पर्यटकसँग सम्बन्धित सवारी चालकहरूलाई पर्यटकहरूलाई दिनु पर्ने सेवा तथा गर्नु पर्ने व्यवहारका बारेमा अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेको पाइएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई हामीले निरन्तरता दिने छौँ। 

७. नेपाल पर्यटकको लागि कतिको सुरक्षित देश हो ?

पर्यटकका लागी नेपाल अति सुन्दर एवं सुरक्षित गन्तव्य हो  । पर्यटकको सुरक्षित तथा सुखद यात्राका लागी पर्यटक प्रहरी दृढताका साथ सुरक्षा सेवामा प्रतिबद्ध रहेको छ । त्यसैले म पर्यटकलाई के भन्न चाहन्छु  भने नेपालमा अझै पनि अतिथि लाई भगवान् सरह “guest is god “मान्ने चलन छ, नेपाल आउनुहोस्, नेपालका रमणीय प्राकृतिक एवं सांस्कृतिक महत्त्वका गन्तव्यहरूको भ्रमण गरी अविस्मरणीय यादहरू सँगालेर सुरक्षित साथ आफ्नो देश फर्कनुहोस् हामी तपाईँहरूको सुरक्षामा २४ सै घण्टा तम्तयार छौँ ।   

Facebook Comment

छुटाउनुभयो कि?