गेट बाहिरैबाट पशुपतिनाथ को दर्शन गर्दै भक्तजन

पर्यटन बजार४ श्रावण २०७८, सोमबार मा प्रकाशित

गेट बाहिरैबाट पशुपतिनाथ को दर्शन गर्दै भक्तजन

साउन ३,काठमाडौँ।आज साउन महिनाको पहिलो सोमबार अर्थात शिवालयमा भक्तजनको भिडभाड हुने दिन। तर गतसाल जस्तै कोरोनाले यसपाली पनि भक्तजनको मनमा निराशा छाईदिएको छ । अन्य वर्ष शिवजीको दर्शन गर्न राती ३ बजे देखि लाइन हुने पशुपतिनाथमा यस साल भने गेट बाहिर बाटै दर्शन गरेर मन बुझाउन बाध्य छन् भक्तजनहरू।

कोरोनाका कारण करिब ४ महिना देखि बन्द अवस्थामा रहेको पशुपतिनाथमा सिधै दर्शन गर्न पाइँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि भक्तजन हरुको मनले नमानेको लामो समय देखि पशुपतिमा फूल बेच्दै आएकी मनमायाले बताईन। उनी भन्छिन् ” पहिले पहिले एकदमै भिँड हुन्थ्यो भक्तजनको लाइन देख्दा पनि एक किसिमको आनन्द लाग्थ्यो तर अहिले त्यस्तो छैन , सबैले बाहिर बाटै हेरेर फर्किनु पर्ने अवस्था छ ।

” गेट बाहिरै धूप बत्ती बालेर शिवको दर्शन गर्न आतुर वसुन्धरा निवासी कल्पना पशुपतिनाथ खुल्ने दिनको पर्खाइमा छन् । हरेक वर्ष व्रत बसी पशुपतिनाथ को दर्शन गर्न आइन्थ्यो तर यस वर्ष गेट बाटै पूजा गरेर , बत्ती बालेर चित्त बुझाए , के गर्ने महामारीको अघि हामी सबैले झुक्नै पर्ने भएको छ , उनले भनिन्।

यसपाली पशुपतिनाथ भन्दा साना शिवालय मन्दिरहरूमा दर्शन गर्ने भक्तजनहरूको संख्यामा भने वृद्धि भएको छ । सँधै नजिकको शिवालय छाडेर विशेष त पशुपतिनाथ मै आउने भक्तजनहरू हाल भने आफ्नै घर छेउका शिवालयको दर्शन गरेर फर्किने गरेका छन् ।

तस्विर : वर्षा सिवाकोटी

Facebook Comment

छुटाउनुभयो कि?