कोभिड- १९ ले थलिएको पर्यटन क्षेत्र र अबको चुनौती !

पर्यटन बजार१९ श्रावण २०७८, मंगलवार मा प्रकाशित

कोभिड- १९ ले थलिएको पर्यटन क्षेत्र र अबको चुनौती  !

साउन १९, काठमाडौँ। पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र हो । अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदा र विविधताको कारण यस क्षेत्रमा तुलनात्मक लाभ रहेको छ । खासगरी हिमाली प्राकृतिक सुन्दरता, हाम्रो नेपाली मौलिक संस्कृति, नेपाली विशेषता बोकेका महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल, मौलिक सांस्कृतिक तथा पुरातात्विक सम्पदा नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेका क्षेत्र हुन् ।

नेपालको संविधानले यी स्थल र सम्पदाको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचारप्रचारमार्फत राष्ट्रिय अर्थतन्त्र विकासको प्रमुख आधारको रूपमा यस क्षेत्रलाई विकसित गर्ने नीति लिएको छ । पर्यटन प्रवर्द्धनको माध्यमबाट रोजगारीका अवसर वृद्धि, गरिबी निवारण र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न यस क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले पनि र पर्यटन क्षेत्रमा हाम्रासामु प्रचुर मात्रामा स्रोतसाधनको उपलब्धताले गर्दा यो क्षेत्रलाई समृद्ध नेपालको संवाहकको रूपमा अर्थ्याउन सकिन्छ ।

पर्यटन क्षेत्रमा कोभिड- १९ को प्रभाव
चीनको बुहानबाट सुरु भई विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड- १९ को आकस्मिक प्रकोपबाट नेपाल र यहाँको पर्यटन क्षेत्र अछुतो रहन सकेन । २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ सञ्चालन गरिएको नेपाल भ्रमण वर्ष २०२० सुरुवाती चरणमै स्थगित हुन पुग्यो । नेपाल भ्रमण वर्षका लागि राज्यले यथेष्ट लगानी गरे तापनि त्यसको प्रतिफल लिन सक्ने अवस्था रहेन ।

विश्वव्यापी रूपमै बजार अर्थतन्त्रमा गम्भीर असरहरू देखा परिरहँदा वस्तु तथा सेवाको उत्पादन र विनिमय प्रभावित भयो । बन्दाबन्दीको घोषणाले सडक तथा हवाई यातायात आवातजावतका क्षेत्रमा समेत असर पर्दा होटेल, रेस्टुरेन्ट, हाइकिङ, ट्रेकिङ, पर्वतारोहण तथा अन्य साहसिक पर्यटनमा समेत अवरोध हुँदा मूलतः अघिल्लो दुई वर्षको तुलनामा सन् २०१९ मा विदेशी पर्यटक आगमनमा २.१ प्रतिशतले बढेकोमा सन् २०२० मा यस्तो आगमन ८०.८ प्रतिशतले घटेको देखिन्छ । सोही अवधिमा पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्रा आर्जनमा करिब ७० प्रतिशतले कमी आएको छ । सन् २०१९ मा कुल विदेशी पर्यटक आगमनको संख्या ११,९७,१९१ रहँदा सो संख्या सन् २०२० मा २,३०,०८५ र सन् २०२१ मा ३२,९९७ जनामा मात्र सीमित भएको देखिन्छ ।

तुलनात्मक रूपमा अघिल्लो वर्षमा भन्दा यो वर्पमा मात्रै ८० प्रतिशतले यो संख्यामा कमी आएको छ । त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ यात्रु आगमनको संख्या करिब ७३ प्रतिशतले घट्दा सन् २०२० को अन्तसम्ममा २४ अर्ब ९५ करोड ५९ लाख आम्दानी भइरहँदा यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले कमी हो ।

कोभिड- १९ का कारणले भएको क्षति हानि–नोक्सानीका सन्दर्भमा विभिन्न अड्कल र अनुमान भइरहँदा नेपाल पर्यटन बोर्डले गरेको अनौपचारिक सर्वेक्षणअनुसार नेपालमा पर्यटन र उड्ययन क्षेत्रमा गरी करिब ११ लाख मानिस रोजगार रहेको देखिन्छ । त्यसैगरी यस क्षेत्रमा सन् २०२० को अन्त्यसम्ममा मात्रै १५ खर्ब लगानी भएको देखिन्छ । त्यसैगरी यस क्षेत्रमा कोभिड १९ संक्रमण महामारीसँगै प्रतिमहिना १० अर्ब नोक्सानी भएको उक्त अध्ययन प्रतिवेदनले प्रस्तुत गर्दा नेपाली अर्थतन्त्रको एउटा बलियो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा भएको यो नोक्सानीको असर सिंगो अर्थतन्त्रमा पर्न गएको छ ।

चुनौतीहरू
विश्वव्यापीकरणको प्रभावबाट मौलिक संस्कृति र नेपाली पहिचानको जगेर्ना गर्दै सबै भाषा, संस्कृतिको संरक्षण संवर्द्धन गर्नु, संस्कृति एवं सम्पदा संरक्षणको क्षेत्रमा पर्याप्त लगानी बढाई अध्ययन–अनुसन्धानलाई मूर्तरूप दिनु, संघीय संरचनामा आधारित राज्य संरचनाअनुसार नै प्रादेशिक र स्थानीयस्तरमा पर्यटन संरचना तयार गरी नयाँ पर्यटकीय स्थलको पहिचान, विकास र विविधिकरण गरी ग्रामीण पर्यटनलाई विकसित र आधुनिक बनाउन संरचना तयार गर्नु, हवाईमार्गबाट हुने आवागमनले आज विश्वलाई नै एउटा गाउँको रूपमा विकास गरेको सन्दर्भमा पर्यटन क्षेत्रको प्रमुख चुनौती नै विमानस्थलको विस्तार सुदृढीकरण, चेकजाँचमा कडाइ, नियमित उडानलाई प्राथामिकता दिनु, उच्च हिमाली भेग तथा हिमालहरूमा हुने विभिन्न प्राकृतिक प्रकोप जोखिम तथा विपद्को अवस्थामा उद्धार, राहत र व्यवस्थापन गर्नु, मुलुक संघीय शासन प्रणालीमा रहेकाले स्थानीय निकायको संग्लनता र सक्रियताविना पर्यटन क्षेत्रको विकास दिगो हुन नसक्ने कटु यथार्थतालाई भुल्नुहुँदैन । पर्यटन विकासमा स्थानीय सरकारहरूले व्यवस्थापकीय, नीतिगत र कानुनी व्यवस्था गरी जिम्मेवारी र स्वामित्व सिर्जना गर्न सक्नुलाई पनि चुनौतीको रूपमा अर्थ्याउन सकिन्छ ।

सबै पर्यटकीय स्थलहरूमा सूचना प्रविधिको विस्तार र आधुनिक प्रविधिको पहुँच पुर्‍याउनु, जलवायु परिवर्तनबाट सिर्जना भएका जोखिमहरूको न्यूनीकरण गर्नु, कोभिड- १९ बाट पर्न गएको मूलतः आर्थिक क्षति र व्यावसायिक नोक्सानीलाई द्रुत गतिमा न्यूनीकरण गरी पर्यटनको पुनरुत्थान गर्नुजस्ता विविध चुनौतीहरू रहेका छन् ।

आगामी कार्यभार
नयाँ नीतिको आवश्यकता : सर्वप्रथम पर्यटन क्षेत्रमा विकासका निम्ति पुराना कानुन तथा नीतिहरूलाई विस्थापित गरी मुलुकको परिवर्तित संरचनाबमोजिम बदलिँदो विश्व परिवेश र मानिसका आवश्यकता चाहनालाई समेत दृष्टिगत गरी नयाँ कानुनको निर्माण गरी त्यसको सफल र जिम्मेवारीपूर्वक कार्यान्वयन गर्नु आजको पहिलो कार्यभार हो ।

मुलुकमा नयाँ संविधान बनेर कार्यान्वयन भइरहेको, संक्रमणकालको अन्त्य भएर दिगो शान्ति, स्थायित्व र विकासको चरणमा प्रवेश गरेको आजको समयमा पर्यटन विकासका लागि बन्ने कानुनले ग्रामीण पर्यटकीय क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने र त्यसका लागि नयाँ पर्यटनस्थलको खोजी, पहिचान, पर्यटन पूर्वाधार विकास, पर्यटकलाई उपलब्ध गराउने सेवासुविधामा वृद्धि, उनीहरूको भौतिक सुरक्षाको प्रत्याभूति, सत्कार र सम्मान, बसाइ अवधि लम्ब्याउँदै पर्यटन क्षेत्रलाई संख्यात्मक र गुणात्मक वृद्धि गरी विकास गर्नुपर्ने पृष्ठभूमिमा पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याई आर्थिक परिवर्तनको आधारशिला तयार गर्न विद्यमान कानुनी संरचनामा परिवर्तन गरी नयाँ नीति ल्याउनु आवश्यक देखिन्छ ।

ग्रामीण पर्यटनको विकास : पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पुर्‍याउन स्थानीय जनतालाई पर्यटन सेवामा सहभागी गराई व्यक्ति तथा समुदायको जीवनस्तर सुधार गर्न होमस्टे कार्यक्रम आजको दिनमा प्रमुख पर्यटनको गन्तव्य देखिन्छ । ग्रामीण जनजीवन र हाम्रो मौलिक संस्कृतिबारे जानकारी दिँदै नेपाली रीतिरवाज, कला, संस्कृति र रहनसहनको अवगत गराउँदै पर्यटकलाई मोहित पार्नुपर्दछ । स्थानीय समुदायमा उत्पादित मौलिक र परम्परागत सामग्रीको बिक्री–वितरणका लागि स्थानीय बजारको व्यवस्थापन गर्दै एक स्थान एक पहिचानको नीति अवलम्बन गर्ने ।

जस्तै पूर्वको भेडेटारमा एभोकाटो, धनकुटाको हिलेमा तुम्बा, वसन्तपुरमा गुराँस, इलामको फिक्कलमा चियाको प्रवर्द्धनात्मक तस्बिर राखेको पाइन्छ । स्थानीय स्तरमा मौलिक आकर्षण भएका सम्भाव्य क्षेत्र र वस्तुलाई दृष्टिगत गरी एक स्थानीय तह एक पर्यटन विकास कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

आन्तरिक पर्यटनको विकास : कोभिड- १९ महामारीले पर्यटन व्यवसाय धराशायी बनेको परिप्रेक्ष्य र संक्रमणको स्थिति जारी रहेको र यो क्रम विश्वव्यापी रूपमै रहेकाले तत्काल विदेशी पर्यटक नेपाल आगमनको सम्भावना न्यून रहेकाले सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नयाँ कार्यक्रमहरू तत्काल सार्वजनिक गरी आमनागरिकलाई आफ्नै देशको विभिन्न पर्यटकीय स्थलको भ्रमणमा सहुलियत, बिदाको उपलब्धता गर्नुपर्छ ।

यसको पछिल्लो उदाहरणका रूपमा नेपाल सरकार र विभिन्न प्रदेश सरकारहरूले बजेटमार्फत घोषणा गरेका सरकारी कर्मचारीलाई पर्यटन बिदा उपलब्ध गराउनेलगायतका कार्यक्रमलाई कार्यान्वयन गर्नु पनि आवश्यक देखिन्छ । पर्यटन व्यवसायीहरूलाई कर छुटलगायत वस्तु तथा सेवामा विशेष सुविधा र सहुलियतका कार्यक्रमहरू सञ्चालन गरी पर्यटन व्यवसायलाई सुचारु गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्ने देखिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न नेपाल सरकार, प्रदेश र स्थानीय सरकार साथै निजी क्षेत्रले व्यावसायिक पर्यटन, पर्वतारोहण, पदयात्रा पर्यटन, जलयात्रा, साहसिक पर्यटन जल, स्थल र वायुमा आधारित, सांस्कृतिक पर्यटन, धार्मिक, खेल, चलचित्र, शैक्षिक पर्यटन र कृषि पर्यटन हाम्रो पर्यटनका सम्भाव्य क्षेत्रहरूको विकासमा लगानी गरी, यी क्षेत्रहरूको प्रसारप्रचार, विकास र पहिचान गर्न सकेमा देशको पर्यटनले आर्थिक, सामाजिक विकासमा टेवा पुर्‍याई समग्रमा देश, समुदाय र जनताको जीवनस्तर वृद्धिमा ठूलो टेवा पुर्‍याउनेछ ।

Facebook Comment

छुटाउनुभयो कि?