निर्माणाधीन कमलपोखरीलाई ,आगन्तुकको माया

पर्यटन बजार१९ श्रावण २०७८, मंगलवार मा प्रकाशित

निर्माणाधीन कमलपोखरीलाई ,आगन्तुकको माया

साउन १९ ,काठमाडौँ।सदैब आगन्तुकको मनमा बस्न सफल कमलपोखरी पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । कमलपोखरी कुरुप हुँदा पनि यस स्थानमा धाउने आगन्तुक उत्तिनै हुन्थे भने बिस्तारै सुन्दरताले भरिन सुरु गरेको कमलपोखरीमा आउने आगन्तुकको संख्या झन् झन् बढ्दो छ।

सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने काम पनि भइरहेको काठमाडौँ महानगरपालिका भौतिक पुर्वाधार महाशाखा प्रमुख राम थापाले जानकारी दिए । एक वर्षभित्र सक्ने गरी अघिल्लो असार १९ गते कमलपोखरी पुनःनिर्माणका लागि शिलान्यास भएको थियो ।

पोखरी पुनःनिर्माणको जिम्मा धनञ्जय कँडेल जेभी रानीबारीले पाएको छ । निर्माण कम्पनीले पोखरीसँगै उद्यान निर्माणको काम पनि गरिरहेको छ । उद्यान अपाङ्गमैत्री हुनेछ भने बीचमा पानीको फोहोरा हुनेछ । पोखरीको चारै कुनामा कमल रोप्नका लागि साना–साना पोखरी बनाइनेछन् । आगन्तुकलाई बस्नका लागि चौतारा पनि निर्माण गरिनेछन् ।

वरिपरि बिजुली जडान गरेर झिलीमिली पारिनेछ । त्यहाँ खुला व्यायाम गर्ने ठाउँ, ब्याडमिन्टन र बास्केटबल खेल्ने ठाउँ हुनेछ । पूर्वतिर मूलगेट हुने पोखरी प्रवेश गर्न तीनवटा प्रवेशद्वार बनाइने योजनाअनुरुप काम भइरहेको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने कार्य तिब्रताका साथ अघि बढेको छ । त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौँ । उनले बाहिर चर्चा गरेजस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग नगरिएको पनि दाबी गरे । कामपाले करिब २४ रोपनीमा कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट शुरु गरेको हो ।

तस्बिर : वर्षा सिवाकोटी

Facebook Comment

छुटाउनुभयो कि?