भाग्यले पाएको दोस्रो जीवनलाई सुदुर चिनाउन खर्चिन्छु – भरत बिक्रम शाह

पर्यटन बजार१९ श्रावण २०७८, मंगलवार मा प्रकाशित

भाग्यले पाएको दोस्रो जीवनलाई सुदुर चिनाउन खर्चिन्छु – भरत बिक्रम शाह

साउन १९ , कैलाली। सामान्यतया महिलाहरू २५ कटेपछि आफ्नो करियर बनाउने समय सकियो , अब विवाह गरेर घरजम मै मेरो बाँकी को जीवन बित्ने भो भन्दै आसहीन बन्छन् भने पुरुषहरू यस्तै सोचाइ ३० कटेपछि राख्ने गर्दछन्। तर मानिसको जीवनमा कुन समय कोल्टे फेर्छ र आफ्नो लक्ष्य विहीन दैनिकीमा सुन्दर सपना भरिदिन्छ थाहै हुँदैन ।

के होला यदि अलमल र अलपत्र जीवनशैलीमा रातारात परिवर्तन आयो भने ? के होला यदि अब म बाच्नु भन्दा मर्न पाए हुन्थ्यो भन्ने अवस्थाले रातारात आशा भरिदियो भने ?

र यदि के होला जब केही वर्ष अघि मात्र भित्र्याएकी  दुलहीलाई , म  मरे भने तिमि अर्कै सँग विवाह गर है भन्ने भावनात्मक समय परिवर्तन भई आज उनी जीवनसंगिनी जीवनको मार्गदर्शक बनिन भने ?

हो यस्तै कहालीलाग्दो जीवनलाई बिदा गरेर अहिले भरत बिक्रम शाह नयाँ  जीवन बिताइरहेका छन्। हेर्दा २८/२९ का जोसिला युवा देखिन्छ भरत  , साइकल यात्रा बाट सिङ्गो  सुदूरलाई  बिकटबाट  पर्यटकीय गन्तव्य सुदूर बनाउने लक्ष्य बोकेर अघि बढेका छन्।

प्यारालाइसिसका दिन

लामो सयको वैदेशिक यात्रा सकाएर भरत नेपाल फर्किए।  नेपाल आएको केही समय पछि उनका शरीरको विभिन्न ठाउँमा निलो दाग आउन थाल्यो। बिस्तारै  निलो भएको ठाउँ फुट्न थाल्यो र मासु झरेर प्वाल पर्न थाल्यो। 

स्थानीय अस्पतालको दबाईले काम  नगरेपछि उनी भारतको पोलो अस्पतालमा पुगे। दिन बित्यो , महिना बित्यो , साल बित्यो तर उनको उपचारले कुनै गति लिन सकेन , धेरै एक्सपर्ट  डक्टर ले उनको रिपोर्ट हेरे दबाइ दिए तर उनको अवस्था सुध्रिनु को साटो झन् बिग्रँदै गयो। हात  खुट्टा नचल्ने ,शरीर उठाउन नसक्ने , कसैले फोन गर्‍यो भने समेत जवाफ फर्काउन नसक्ने अवस्थामा उनको जीवन पुग्यो। भर्खरै मात्र विवाह गरेर ल्याएकी श्रीमतीले उनको अत्यन्तै ख्याल गरिन यस्तो देख्दा उनी भावुक बन्ने गर्दथे  र भन्थे म  मरे भने तिमि अर्को बिहे गर्नु है।

बिस्तारै उनले बाँच्ने आशा गुमाउँदै गए अब यसरी  श्रीमती र परिवारको बोझ बनेर बाँच्नु भन्दा मर्न पाए हुन्थ्यो भन्दै प्रार्थना गर्न थाले। बर्सौँ अर्काको देशमा बसेर कमाएको पैसा सकिएर ऋण लागिसकेको अवस्था  र यत्रो उपचार पछिको शून्य नतिजाले कसलाई पो निराशा नपार्ला र ?

जीवनको हारको पोकोलाई यथावतै बोकेर भारतको पोलो बाट  बिदा लिएर घर नै फर्किए भरत। शरीर भरी  प्वालै  प्वाल , के रोग लग्यो पत्तै लागेन , दिनरात आँसु मै डुब्यो भरतको दैनिकी।  भरत  ले हार माने पनि उनको परिवारले मानेन , अन्तिम आशा बोकेर उनको परिवारले फेरी उनलाई काठमाडौँ को स्किन  हस्पिटलमा ल्यायो  तर उत्तर उस्तै स्तब्ध बनाउने। डक्टर  को उत्तर आयो , हामीले नसकेको बिरामी जाने हो भारत को एपोलोमा , तपाईँहरू त्यहीँबाट  आउनुभएको छ , हामी केही गर्न सक्दैनौँ।

काठमाडौँबाट फेरी निराश भएर उनको परिवार उनलाई लिएर पुन आफ्नै घर फर्कियो। आफ्नो अवस्था भन्दा भरतलाई श्रीमतीको चिन्ता ले सताइरहन्थ्यो र बारम्बार भनिरहन्थे म मरे भने तिमि अर्को बिहे गर्नु ल !

अन्धविश्वासको चमत्कार 

अचानक उनको जीवनमा मिराकल भयो।  कोही साथीले आएर उनलाई एक धामी कहाँ लैजान सल्लाह दिए। सबै स्थानमा देखाएर हार  मानिसकेको भरत को परिवारले ठिक भई पो हाल्छ कि भनेर मोटरसाइकल को बिचमा राखेर , सलले  बाँधेर धामी को मा पुर्याए। धामी ले ३ थप्पड हानेको भरतलाई अझै ताजा सम्झना छ। म त जिउँदो लास थिए , जति हानेनी  न रोक्न सक्थे न रुन कराउन।

पछि धामीकोमा जाँदै गर्न थालेपछि भरतको जीवन जादुमय बन्दै गयो उनी बिस्तारै अरूको सहारामा हिँड्न सक्ने भए। सामान्य हिँडडुल  गर्दा गर्दै ३ महिना पछि त उनी आफै बाइक चलाउन सक्ने भए। बिस्तारै आफ्नो कमजोर शरिरलाई दह्रो बनाउन उनले साइकलको सहारा लिए।  दिनहुँ साइकल चलाएर शारीरिक व्यायाम गरेर आफूलाई बलियो बनाउन लागिपरे  उनी। कहिले प्वाल परेको शरीरमा मासु पलाएर  घाउ भरियो त्यो समेत उनले पत्तो पाएनन्।

धामी झाँक्रीलाई अहिले पनि अन्धविश्वास मान्ने हाम्रो समाजले नपत्याउला कि यो उनको पुनर्जन्म उनै धामीको देन हो। साइकल लाई व्यायामका रूपमा चलाउँदै गर्दा उनी आफ्नो गाउँ  घुमे , सुन्दर गन्तव्य घुमे , आफ्नो गाउँको विकटता  सँगै त्यहाँको जातीय विविधता देखे , फरक भेषभुषा देखे , अलग रहनसहन लाई  नियाले, कलकल बग्ने खोलासँग मित लाए , झरनाकै तालमा आफ्नो साइकललाई दौडाए , ठुलाठुला पहाड र चट्टानलाई हेर्दै आफ्नो मनोबल उच्च बनाए , उनले सबथोक देखे सुदूरमा तर एउटा  कुरा उनले त्यहाँ देखेनन !

त्यो चिज हो पर्यटक , न आन्तरिक पर्यटक न बाह्य नै , केवल स्थानीय आगन्तुकको फाट्टफुट्ट अनुहार देख्न पाउँथे  उनी। अब उनको दोस्रो जीवनको नयाँ  अध्यायमा उनले सुदूरमा विविध कार्य गरेर विश्वमै चिनाउने अभियानलाई दर्ज गरे  र बने सुदूर चिनाउने साइकल यात्री भरत  बिक्रम शाह।

कुरा राखे तर कसैको चासो नदेखिएपछि उनले आफ्नो बाटो आफै बनाउने निर्णय गरे र अघि बढे। यात्रा त खर्चालु हुन्थ्यो नै तर सकभर कम  पैसाले व्यवस्थापन गर्ने गरेको उनी  सुनाउँछन्।

कहिले काहीँ बुढी लेउ न खर्च भनेर समेत माग्नुपर्ने अवस्था हुने सम्झिँदै लामै हाँसो हाँसे भरत।

अब भने साथ सहयोग आउन थालेको छ उनलाई , विभिन्न स्थानमा साइकल र्‍याली गर्न निमन्त्रणा आउन थालेको छ , स्पोर्ट्स एसोसिएसनमा समेत जोडिएर कार्य गर्न सुरु गरेका छन् उनले। जनप्रतिनिधिको सहयोग र प्रदेश सरकारको सहयोगमा छिट्टै नै सुदूरमा ठुलो इभेन्ट गर्ने सोच बनाएका छन्।

आगामी लक्ष्य

सुदूरमा विभिन्न इभेन्ट गरेर , साइकल र्‍याली गरेर , साइकल बाटै लुकेका गन्तव्यमा पुगेर त्यहाँको सत्यतथ्य निकालेर पर्यटन प्रवर्द्धन गर्ने उनले लक्ष्य लिएका छन्। केही समयमै बडिमालिका सम्म साइकल मा जाने उनले सोच बनाएका छन्। बडिमालिका, बुढी नन्दा सुदूरका महत्त्वपूर्ण गन्तव्य रहेको र यहाँ जोकोहीले एकपटक पुग्ने पर्ने उनको धारणा  छ।

सबैको आ – आफ्नै सोच र लक्ष्य हुन्छ मैले चाहिं खेल बाट  र साइकल बाट  आफ्नो यात्रा को खाका बनाएको छु। आशा छ यो पुनर्जन्ममा  आफ्नो गाउँ , ठाउँ र देशलाई नै चिनाउन सक्ने छु  र मलाई यसमा सबैले साथ दिनुहुनेछ। उमेर यति भयो अब कहिले गर्नु भन्ने कुराहरू त केवल बहाना हुन जस्तो लाग्छ उनलाई।

कुनै कार्य गर्न सोच्नुपर्छ, सोचेको कुरालाई पूरा गर्न मेहनत गर्नुपर्छ उमेर बढी छ म सक्दिन भनेर बस्यो भने जीवन यही बहानामा बित्ने उनी बताउँछन्। मैले पनि ३६ वर्ष बाट आफ्नो जीवनको नयाँ गाथा सुरु गरेको हुँ अहिले ४२ लागिसके तर जोस कति पनि घटेको छैन न त हिम्मत नै । 

जीवनको एउटा पाटो उनले घरपरिवार को जिम्मा , आर्थिक सम्पन्नताका लागि जिए आज सन्तुष्टि का लागि जिउन अघि बढेका छन् , उनलाई पर्यटन बजारको तर्फबाट  धेरै धेरै शुभकामना। 

Facebook Comment

छुटाउनुभयो कि?