इतिहासकार अनुसार बुद्ध एक नभई, अठ्ठाइस !

पर्यटन बजार२१ श्रावण २०७८, बिहीबार मा प्रकाशित

इतिहासकार अनुसार बुद्ध एक नभई, अठ्ठाइस !

साउन २१, काठमाडौँ। दैलेखको दुल्लु नगरपालिकास्थित पादुकास्थानको खुला ठाउँमा राखिएका अनेक मूर्ति र कला जस्ता प्राचीन वस्तुको माझमा ८० X ४५ सेन्टिमिटरको शिलालेखको थालनी ‘ॐ स त बुध’ बाट गरिएको छ। ‘सतबुद्ध’ को अर्थमा प्रयुक्त भए पनि यसका बारेमा बुझ्न सकिएको छैन। इतिहासकार धनबज्र वज्राचार्यले आफ्ना दुई लेखमा यो अभिलेख प्रकाशन गर्दा शुरूको यही पंक्तिलाई अस्पष्ट वा अनुपलब्धको संकेत दिएर छाडेका छन्। जसका कारण ‘सतबुद्ध’ का बारेमा चर्चा नै भएन। जब कि यो शुरूको पङ्क्ति स्पष्ट पढ्न सकिन्छ। 

यस लेखमा एक नभई धेरै वटा बुद्ध र त्यसको अवधारणाबारे चर्चा गर्दै ‘सतबुद्ध’ को सम्बन्धमा विमर्श गरिएको छ। 

बुद्ध भन्ने बित्तिकै कतिपयले व्यक्तिविशेषको नाम बुझ्ने गर्छन्। उनीहरूको बुझाइमा बुद्ध भनेका इसापूर्व ५६३ मा मायादेवीको कोखबाट लुम्बिनी वनमा जन्मेका गौतम बुद्ध मात्रै हुन्। तर, बुद्धको सम्बन्धमा यो निकै संकुचित बुझाइ हो।

हालसम्म ज्ञात रूपमा २८ बुद्ध छन्। तीमध्ये पछिल्ला गौतम बुद्ध हुन्। जसरी गौतम बुद्धभन्दा अघि अनेकौं बुद्ध थिए, भविष्यमा पनि यसरी नै अन्य बुद्धहरू आउनेछन्। बुद्धको यो परम्परा चलिरहनेछ। वर्तमान बुद्ध गौतम बुद्धपछि निकट भविष्यमा आउने मैत्रेय बुद्ध हुन्।
बुद्ध कुनै व्यक्तिविशेषको नाम नभई ज्ञानले प्रदीप्त भएको अवस्था हो। बौद्ध दर्शन अनुसार, बुद्धत्व प्राप्त गर्ने सबै सत्व (प्राणी) बुद्ध हुन्। अर्थात्, बुद्धत्व कुनै व्यक्तिविशेषको पेवा होइन।

हालसम्म ज्ञात रूपमा २८ बुद्ध छन्। तीमध्ये पछिल्ला गौतम बुद्ध हुन्। जसरी गौतम बुद्धभन्दा अघि अनेकौं बुद्ध थिए, भविष्यमा पनि यसरी नै अन्य बुद्धहरू आउनेछन्। बुद्धको यो परम्परा चलिरहनेछ। वर्तमान बुद्ध गौतम बुद्ध हुन् भने उनीपछि निकट भविष्यमा आउने मैत्रेय बुद्ध हुन्। बुद्धहरूका सम्बन्धमा स्वयं गौतम बुद्धले गरेका वर्णनहरू ‘त्रिपिटक’ अन्तर्गतको ‘बुद्धवंश’ ग्रन्थका साथै अन्य स्रोतहरूमा पाइन्छ। बौद्धहरू बुद्धको पूजा गर्दा अतीत, वर्तमान र भविष्य गरी समुच्च रूपमा सबैलाई वन्दना गर्छन्।

गौतम बुद्धभन्दा अघिका ज्ञात २७ बुद्धमध्ये प्रथम चारको नाम हो, तण्हंकर, मेधंकर, शरणंकर र दीपङ्कर। दीपङ्कर बुद्ध समक्ष सुमेध नाम गरेका एक तपस्वीले आफू पनि साधना गरेर बुद्ध हुने याचना गरेका थिए। भविष्यमा बुद्ध चाहनेले साक्षात् बुद्धकै सम्मुख यस्तो याचना गर्नुपर्ने र उक्त ‘बुद्धयाचना’ पछि बुद्धले भविष्यवाणी गरेको हुनुपर्ने मान्यता छ। दीपङ्कर बुद्धसँग बुद्धयाचना गर्ने सुमेध नै उनीपछिका पच्चीसौं अर्थात् लुम्बिनी वनमा इसापूर्व ५६३ मा जन्मेका गौतम बुद्ध हुन्। जसको अर्को नाम शाक्यमुनि पनि हो। 

दीपङ्करपछि क्रमशः कौण्डण्य, मंगल, सुमन, रेवत, सोभित, अनोमदर्शी, पद्म, नारद, पद्मोत्तर, सुमेध, सुजात, प्रियदर्शी, अर्थदर्शी, धर्मदर्शी, सिद्धार्थ, तिष्य, पुष्य, विपश्वी, शिखी, विश्वभु, क्रकुछन्द, कनकमुनि, काश्यप र गौतम नामका बुद्धहरू बनेको उल्लेख भएको पाइन्छ। बौद्ध दर्शनले भने ‘बुद्धवंश’ मा उल्लिखित २८ बुद्धहरू मात्रै बुद्ध हुन् भन्ने कुरा मान्दैन।

गौतम बुद्धको गृहस्थ नाम सिद्धार्थ भएको आधारमा कतिपयले उनलाई सिद्धार्थ बुद्ध, सिद्धार्थ गौतम वा सिद्धार्थ गौतम बुद्ध भन्ने नाम दिने गरेका छन्। तर, यो गलत हो। किनकि, उनी अगाडि नै उन्नाइसौं बुद्धको नाम ‘सिद्धार्थ बुद्ध’ थियो।

अतीत बुद्धका सम्बन्धमा कतिपय महत्त्वपूर्ण ऐतिहासिक स्रोत भेटिएका छन्। कनकमुनि (‘कोनागमन’ पनि भनिने) को नाम तथा उनको ठाउँका बारेमा इसापूर्व २४९ मा मौर्य सम्राट् अशोकद्वारा राखिएको अभिलेखसहितको स्तम्भ प्राचीन कपिलवस्तु क्षेत्रको निग्लिहवामा सुरक्षित छ। त्यस्तै, गोटिहवामा प्राप्त अर्को शिलास्तम्भमा अभिलेख त पाइँदैन, तर चिनियाँ यात्री फाहियान र ह्वेनसाङले त्यसलाई क्रकुच्छन्द बुद्धको जन्मस्थल भनेर आफ्नो यात्रा वृत्तान्तमा उल्लेख गरेका छन्।

गौतम बुद्धसहित पछिल्ला सात बुद्धको समूहलाई ‘सप्त तथागत’ वा ‘सप्त बुद्ध’ का रूपमा काठमाडौं उपत्यकाको नेवार समाजमा विशेष स्थान छ। तथागत र बुद्ध पर्यायवाची शब्द हुन्। काठमाडौं उपत्यका तलाउका रूपमा रहेको समयमा सप्तबुद्धमध्येका पहिलो विपश्वी बुद्ध यहाँ आएको र अकनिष्ठ भुवनबाट प्राप्त कमलको बीज रोपेको स्थानीय बौद्ध कथा छ। उक्त बीज पल्लवित भई स्वयम्भू रश्मि उत्पन्न भएको र त्यसैलाई छोपेर स्वयम्भू स्तूपको निर्माण गरिएको ‘स्वयम्भूपुराण’ मा उल्लेख छ। स्वयम्भूको दर्शन गर्न यी सात बुद्ध काठमाडौं उपत्यकामा आएका कथा ‘स्वयम्भूपुराण’ मा बाहेक अन्य कुनै पनि बौद्ध साहित्यमा पाइँदैन।

तण्हंकर बुद्धदेखि गौतम बुद्धसम्मको चर्चा गरिरहँदा सम्झिनुपर्ने कुरा के हो भने, यी बुद्धहरूको कालगणना कल्पनाबाहिरको कुरा हो। यो इतिहासको अध्ययनको विषय हुनसक्दैन। अतीतका बुद्धहरूका सम्बन्धमा उठ्ने प्रश्नको जवाफ ऐतिहासिक वा भौतिक दृष्टिबाट सम्भव छैन। दार्शनिक कसीमा राखेर अध्ययन गर्दा मात्र जवाफ खोज्न सम्भव हुन्छ।

दुई बुद्धको समयबीचमै निकै लामो अन्तराल हुन्छ। दीपङ्कर बुद्ध र गौतम बुद्ध बीचको कालअन्तर सामान्यतः तीन असङ्ख्य कल्पभन्दा बढी भएको मानिन्छ। एक कल्प साठी वटा शून्य भएको अंक हो। यो कालावधि यति लामो हो, यसबीचमा पृथ्वीसहित अहिलेको जस्तो जगत् सयौं पल्ट उत्पत्ति र विनाश भइसकेको हुन्छ।

यी बुद्धहरूलाई सामान्यतः मानव बुद्ध भन्ने गरिए पनि अहिलेको जस्तो मानव देह नभई प्राणीका रूपमा बुझ्दा उचित हुन्छ। बौद्ध दर्शनका अनुसार, सत्व (प्राणी) हरू पुनर्जन्मका क्रममा प्राकृतिक रूपमा विभिन्न जीवमा रूपान्तरित भइरहेका हुन्छन्। यसले इन्द्र र ब्रह्मा लगायत असंख्य देवताहरूलाई पनि प्राणी नै मान्छ र अरू जस्तै तिनीहरू पनि परिवर्तनशील हुन्छन्। 

सत्व (प्राणी) बाट बुद्धत्व प्राप्त गरेका बुद्धहरू बाहेक महायानी बौद्ध दर्शनले अन्य बुद्धहरूको पनि अवधारणा विकास गरेको पाइन्छ। ‘बुद्धत्व’ को मूललाई ‘आदिबुद्ध’ मान्ने अवधारणा पनि महायानी बौद्ध दर्शनकै हो। काठमाडौं उपत्यकास्थित स्वयम्भू महाचैत्य यही आदिबुद्धका नाममा बनाइएको विशिष्ट स्तूप हो। विभिन्न तत्त्वको प्रतिनिधित्व हुने गरी पञ्चबुद्धको अवधारणालाई अगाडि सारिएको हो। यस अन्तर्गत वैरोचन, अक्षोभ्य, रत्नसम्‍भव, अमिताभ र अमोघसिद्धि पर्छन्। चित्रकला र मूर्तिकलामा यिनीहरूलाई सजीव रूपमा प्रस्तुत गरिन्छ। महायानी बौद्ध समाजले यी बाहेक पनि अनगिन्ती बुद्धहरूको कल्पना गरेको छ।

के हो सतबुद्ध?

अब लेखको उठानमा आएको सतबुद्धबारे चर्चा गरौं।

यो पंक्तिकारले आफ्नो पुस्तक ‘खस साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन’ मा ‘सप्तबुद्ध’ लेख्दा गल्तीवश ‘सतबुद्ध’ हुन पुगेको वा बोधिसत्वलाई यताउता पारेर सत्वलाई ‘सत’ र बोधि नभनी बुद्ध भनेको झिनो अनुमान गरेको थियो। यस सम्बन्धमा थप विचारविमर्श आवश्यक छ।

पादुकास्थानको त्यस अभिलेखमा अन्यत्र कतै नआएको ‘सतबुद्ध’ को प्रसंग उल्लेख भएको देखिन्छ। सप्तबुद्धको प्रचलन काठमाडौं उपत्यकाको नेवार समाजमा प्रचलित भएकाले त्यो सन्दर्भ यहाँनेर मेल खाने कुरै भएन। यो पंक्तिकारले आफ्नो पुस्तक ‘खस साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन’ मा ‘सप्तबुद्ध’ लेख्दा गल्तीवश ‘सतबुद्ध’ हुन पुगेको वा बोधिसत्वलाई यताउता पारेर सत्वलाई ‘सत’ र बोधि नभनी बुद्ध भनेको झिनो अनुमान गरेको थियो। यस सम्बन्धमा थप विचारविमर्श आवश्यक छ।

कर्णाली भेकमा प्रचलित बौद्ध धर्म महायानी बौद्ध धर्म अन्तर्गत पनि मूलतः बज्रयानी हो। यस क्षेत्रमा तिब्बतको ङारी प्रदेशबाट आएका राजा नागराजले ईस्वीको बाह्रौं शताब्दीमा सिंजा उपत्यकालाई राजधानी बनाई विशाल साम्राज्य खडा गर्नुअघि पनि बज्रयानी बौद्ध धर्म मौजूद देखिन्छ। 

तिब्बती भूमिमा सातौं शताब्दीमा बौद्ध धर्मको प्रवेश भएदेखि नै बज्रयानी सम्प्रदायले पकड जमाएको थियो। बौद्ध धर्मविरोधी राजा लाङ्दार्माको हत्यापछि तिब्बत विभिन्न राज्यमा विखण्डित भएको र त्यहाँ प्रचलित बौद्ध धर्ममा पनि विकृति शुरू भएको भन्दै सुधारका लागि एघारौं शताब्दीमा भारतको विक्रमशील महाविहारबाट आचार्य अतीशा दीपङ्कर श्रीज्ञानलाई ङारी प्रदेशमा आमन्त्रण गरिएको थियो। यस सुधार कार्यबाट तिब्बतमा नयाँ र पुरानो बौद्ध धर्म भनेर छुट्टिएको पाइन्छ। अतीशाको आगमन हुनुअघिको अभ्यासलाई पुरानो अर्थमा ‘न्यिङ्मा’ सम्प्रदाय र त्यसपछिको ‘सारमा’ सम्प्रदाय बन्यो। 

अतीशा दीपङ्करकै उपदेशको आधारमा संगठित उनका शिष्यहरूले ‘सारमा’ अन्तर्गत ‘कदम’ नामको बेग्लै सम्प्रदाय शुरू गरे। त्यसपछि ‘काग्यू’ र ‘सक्य’ नामबाट अरू दुई सम्प्रदाय जन्मिए। कदम सम्प्रदायलाई नै परिमार्जन गरी विद्वान् चोङ्खापाले ‘नयाँ कदम’ शुरू गरेका थिए, जुन आजभोलि ‘गेलूक्’ सम्प्रदायको नामबाट चिनिन्छ। भारतमा निर्वासित जीवन बिताइरहेका दलाइ लामा र उनका अनुयायी यही ‘गेलूक्’ सम्प्रदायका हुन्।

कर्णाली क्षेत्रमा अभ्यास हुने बज्रयानी बौद्ध धर्ममा तिब्बती प्रभाव देखिन्छ। यस अनुसार, तिब्बतमा प्रचलित उपसम्प्रदायमा कसको वर्चस्व थियो भन्ने प्रश्न महत्त्वपूर्ण छ। तर, यसबारे ठोस जवाफ दिने स्रोत भेटिँदैन। तिब्बतमा आचार्य अतीशा दीपङ्कर श्रीज्ञानलाई आमन्त्रण गर्ने ङारी प्रदेशका राजा ‘ल्हा–लामा–येशे–ह्वे’ कै वंशज हुन्, खस साम्राज्यका संस्थापक राजा नागराज। उक्त राजवंश ‘कदम’ सम्प्रदायसँग सम्बन्धित भएको हुनसक्ने धेरै सम्‍भावना छ। तर, राजा जितारी मल्लका माहिला राजकुमार आदित्य मल्ल तिब्बतमा निर्वासित जीवन बिताउन जाँदा शाक्य मठमा भिक्षु बनेर बसेका थिए। 

शक संवत् १२२१ मा श्रीनाथ राउतद्वारा राखिएको ‘सतबुद्ध’ उल्लिखित दैलेखको अभिलेखमा राजा आजित मल्लको नाम उल्लेख पाइन्छ। आदित्य मल्ललाई नै आजित भनेको हुनसक्छ र तत्कालीन राजकुमार भए पनि मालिकको स्तुति गर्ने क्रममा राजा भनिदिनु अनौठो होइन। काका रिपु मल्लपछि जितारी मल्लका जेठो राजकुमार दाजु अक्षय मल्ल राजगद्दीमा बसे। त्यसपछि उत्तराधिकारी सम्हाल्न आदित्य मल्ल भिक्षु जीवन छाडेर सिंजा फर्किए। 

यिनै आदित्य मल्लका नाति प्रताप मल्लले राजा हुनुभन्दा भिक्षु हुन मन पराए। तर, कुन मठमा गएका थिए भनेर खुल्दैन। तत्कालीन सबै खस राजाहरू बौद्ध धर्मका पक्षपाती थिए। तर, बौद्ध विरुद्धावली वा उपास्य देवताको स्तुतिको आधारमा सम्प्रदाय विशेषको नाम खुल्दैन। 

कतिपय ससाना बौद्ध सम्प्रदायको उदय भएर स्थानीय स्तरमै सीमित भएको पनि पाइन्छ। यस्ता सम्प्रदायहरू कालान्तरमा हराउँछन् वा अन्यमा विलय हुन्छन्। तिब्बत वा कर्णाली क्षेत्रमा पनि त्यसरी नै कुनै सानो उपसम्प्रदायको उदय भएको र ‘सतबुद्ध’ को अवधारणा बोकेको अनुमान गर्न सकिन्छ। यदि यो अनुमान सही हो भने, बौद्ध इतिहासमा यो ज्यादै रोचक पक्ष हुन्छ। अध्ययनको सुई अब यतातिर पनि सोझिनुपर्ने देखिन्छ।

Facebook Comment

छुटाउनुभयो कि?