खप्तड – बुझ्नेलाई श्रीखण्ड

पर्यटन बजार२४ श्रावण २०७८, आईतवार मा प्रकाशित

खप्तड – बुझ्नेलाई श्रीखण्ड

साउन २४ ,काठमाडौँ।  घुम्न र आनन्द लिन पर्यटक नै आउँदैनन् भने प्रकृतिले जतिसुकै सुन्दरता दिए पनि त्यसको अर्थ नहुने रहेछ भन्ने उदाहरण हो खप्तड । अहिले खप्तडमा भुईफुलले ढकमक्क गलैँचा बिछाए झैँ  सुन्दर फाँटहरू मुसुक्क हाँसिरहेका छन् ।

फूल फुल्ने भएकाले खप्तड घुम्नका लागि साउन/भदौ महिनाको समयमा महत्त्वपूर्ण मानिन्छ । साउन महिनादेखि ‘भुईँ फूल’ फुल्न थाल्छन् भदौका अन्तिमसम्मै फुलिरहन्छन् । खप्तड क्षेत्रमा फूल फुलेको दृश्य निकै मनमोहक छ, जसलाई पनि लोभ्याउन सक्ने । त्यसैले त खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइन्छ ।

साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो । खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो । त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन् । उहाँले योग र ध्यान गर्नुभयो र किताबहरू समेत लेख्नुभएको छ। 


 सुदूर पश्चिमको सेती अञ्चलका चार पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको सङ्गम स्थल हो खप्तड ।

प्राकृतिक सुन्दरताको बाहेक धार्मिक हिसाबले पनि यसको उत्तिकै महत्त्व छ । त्रिवेणी मन्दिर र वरपर सानाठूला मनोरम फाँटहरू खप्तड क्षेत्रभित्र पर्दछन् । फाँटभरि विभिन्न जातका फूलहरू छन् । कतै हरियाली समथर ठाउँ त कतै डाँडा । सफा हरियाली फाँटमाथि उडिरहेका रंगीविरंगी चराले झनै प्रकृतिमय बनाउँछ  खप्तडलाई  र उत्तिकै आनन्द दिन्छ खप्तड पुग्ने आगन्तुकलाई  ।

 यसको क्षेत्रफल २२५ वर्ग कि.मी. छ । समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतिहरू र नेपालमा पाइने ८ सय ५० किसिमका चराचुरुङ्गी मध्ये २ सय ६० भन्दा पनि बढी चराचुरुङ्गी पाइन्छन् । खस्रे भ्यागुता र बझाङे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५०मिटर चौडाइ रहेको खप्तड दह छ भने ५२ वटा ताल(दह) रहेका छन् ।

  यहाँ आउँदा जो कोहीलाई लाग्छ, यति सुन्दर ठाउँको आनन्द लिन नसक्ने हो भने पर्यटन यात्रा अधुरो हुन्छ।  आजसम्म खप्तडको सुन्दरता ओझेल पर्नुमा सबैभन्दा दोषी राज्य नै रहेको छ।  राज्यले खप्तडको प्रचार प्रसारको साथै विकास र पूर्वाधार निर्माणमा ध्यान दिने हो भने खप्तडको पर्यटन विकासले स्थानीय बासिन्दाको जीवनस्तर बलियो बन्ने मा कुनै दुई मत नै छैन । 

साधु सन्तका लागी नेपाली स्वर्ग साधुसन्तहरुका लागि योग शिविर चलाउने र साधनाका लागि उचित प्रबन्ध मिलाउन सके धार्मिक पर्यटनलाई बढावा दिन सकिने हालसालै  खप्तडमा कुटि बनाएर बसेका योगी ब्याग्र वेदनाथ बताउनु हुन्छ । नेपालमा धेरै ध्यान गर्न लायकका सुन्दर स्थानहरू छन् , त्यसै मध्येको एक उत्कृष्ट गन्तव्य हो खप्तड। साधारण तया ध्यान गर्न  प्राकृतिक वातावरण , शान्त स्थान र चराचुरुङ्गीको सुमधुर चिरबिर चिरबिर आवाजको खोजीमा हिँड्ने गर्दछन् र यिनै चिज को संयोजनको गन्तव्य हो खप्तड।

खप्तड कसरि पुग्ने ?

काठमाडौँ र धनगढीबाट सिधै बस चढेर सुदूर पश्चिमको दिपायल अथवा सिलगढी  पुगिन्छ ।  काठमाडौँ बाट धनगढी दैनिक ६ वटा जहाज अवतरण हुन्छन् । धनगढीबाट दिपायल साताको शुक्रवार  समिट एयरको जहाज आउँछ।  ट्रेकिङ गर्नेहरुका लागि सिलगढीमा शैलेश्वरि मन्दिरको दर्शन गरी एक दिनको हिँडाइमा निकुञ्जको प्रवेशद्वार नेपाली सेनाको चेकपोस्ट झिग्राना बास बसेर भोलिपल्ट खप्तड पुग्न सकिन्छ ।

साथै सिलगढीबाट बगलेकसम्म पक्की सडक छ । सडक सुविधा भएपछि बगलेकमा आन्तरिक पर्यटक रमाइलोका लागि स – परिवार दिनहुँ जसो पुग्ने गरेका छन् । बगलेबाट झिग्राना सम्म ग्राभेल सडक छ । झिग्रानामा पर्यटकहरूका लागि खप्तड होमस्टे सञ्चालनमा रहेको छ ।  त्यहाँ स्थानीय आलु , फापर र लिउडाेकाे तरकारी, लोकल कुखुराको मासु खान पाइन्छ । झिग्राना २२०० मिटरमा छ यहाँ बस्दा खप्तड जान सजिलो हुन्छ । 

झिग्राना देखि देखिन थाल्छन्, मनोरम दृश्य । अनि विश्वमै दुर्लभ हरिया रङका छेपाराहरू । त्यहाँबाट घना जङ्गलै जङ्गल ४ घण्टा हिँडेपछि बीचपानीमा पुगिन्छ । बीचपानी  ३१०० मिटरमा छ । बीचपानीमा एउटा सानो होटल छ। त्यही होटलमा खाना र खाजा  खान पाइन्छ। अर्को दिन बुकी दह अर्थात् खप्तडको पहिलो पाटन (फाँट) हुँदै बेलैमा त्रिवेणी पुगिन्छ । 

त्यहाँ दुई ओटा खोलाको सङ्गममा त्रिवेणी मन्दिर छ। त्रिवेणी मन्दिरबाट हिँडाइ सुरु गरेपछि खप्तडका प्रख्यात मानिने गणेश मन्दिर, घोडा दाउने पाटन, सहस्रलिंग, नागढुंगा, केदारढुङ्गा तथा खप्तड बाबाको आश्रम स्थल हेर्न पाइन्छ । 

खप्तडमा दुईओटा साना होटल छन् । ती होटलमा सामान्य २५ / ३० जना बास बस्न सकिन्छ ।  यहाँ बास बस्नका लागि चार ओटा धर्मशाला छन् । खप्तड क्षेत्र पर्यटन विकास समितिले बीचपानी र निकुञ्ज कार्यालय नजिक पर्यटक बस्ने दुईओटा घर बनाएको छ। बाँकी निर्माणाधीन अवस्थामा छन् । नेपाल पर्यटन बाेर्डकाे लगानिमा खप्तडमा ८० बेड र बिचपानिमा २० बेडकाे  आवास गृहकाे निर्माणकार्य हुदैछ । ठेकेदार कम्पनिले छिटाे काम सके आवास गृह सञ्चालनमा केहि समय मै आउने छ ।  

खप्तड प्रकृतिको स्वर्ग एवं पवित्र भए पनि खान बस्नको उचित सुविधा नभएकै कारण पनि यहाँ कम पर्यटक आउने गर्छन् । आवश्यक भौतिक पूर्वाधार विकास हुन सके खप्तड क्षेत्र पर्यटन विकासमा फड्को मार्ने निश्चित छ ।   बझाङको लाेखडा , अछामको नैनी र बाजुराको काडा बाट पनि खप्तड प्रवेश गर्न सकिन्छ । 

खप्तड पुग्ने रुट !

  • काठमाडौँ–धनगढी हवाईजहाज
  • धनगढी – दिपायल हवाईजहाज
  • अत्तरिया–सिलगढी (डोटी सदरमुकाम) १ सय ७० किलोमिटर मोटर बाटो (कालोपत्रे सडक)
  • सिलगढी– झिग्राना १४ किलोमिटर (पक्की, कच्ची / ग्राभेल सडक)
  • झिग्राना –बीचपानी ४ घण्टा उकालो पैदल यात्रा
  • बीचपानी–खप्तड मेला स्थल त्रिवेणी नदी तीन घण्टा समथर पैदल यात्रा


खप्तडमा चाहिने सामाग्री 

– स्लिपिङ ब्याग, न्यानो ज्याकेट, रेनकोट, ऊनीको बाक्लो टोपी, बाक्लो मोजालगायतका न्यानो हुने कपडाहरू– चिसो ठाउँ भएकाले चिसो छेक्ने बडी लोसन, भिक्स, पेट काटेको, खोकी र टाउको दुखेको औषधि, हेन्ड प्लास्ट ।

 काठमाडौँबाट खप्तड पुग्न करिब एक हप्ताको समयले पुग्छ ।

 – पहिलो दिन-  जहाज बाट  काठमाडौँ – धनगढी – दिपायल – झिग्राना

– दोस्रो दिन झिग्राना – बिचपानि – खप्तड

– तेस्रो दिन खप्तड घुम्ने सहर्ष लिङ्ग , डाफेकाेट , खप्तड दह , खप्तड पाटन

– चौथो दिन खप्तड बाबा आश्रम , घोडा दाउने पाटन , नाग ढुङ्गा लगायतका ठाउँ

 – पाचौं दिन खप्तड बाट फर्कने दिपायल

 – छैटाे दिन  दिपायल – धनगढी – साताै दिन  धनगढी – काठमाडौँ 

काठमाडौँबाट खप्तड पुग्न खर्च कति लाग्छ ?

 जहाजबाट प्रतिव्यक्ति ४२ देखि ५० हजार

र गाडिबाट  देखि ३० देखि ३५  हजार ( न्यूनतम १० जना )

लेखक हाेटल ब्यवसायि महासंघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष दिपक बहादुर खड्का हुन्

Facebook Comment

छुटाउनुभयो कि?