पर्यटनमा रोजगारी गुमाएकालाई स्वरोजगार बन्न १५ लाख

पर्यटन बजार१ भाद्र २०७८, मंगलवार मा प्रकाशित

पर्यटनमा रोजगारी गुमाएकालाई स्वरोजगार बन्न १५ लाख

भदौ १, काठमाण्डौ। कोभिड–१९ का कारण पर्यटन क्षेत्रबाट रोजगारी गुमाएकाहरुले सहुलियत दरका कर्जा पाउने भएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो ।

“कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाख रुपौयाँसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था मिलाइने छ,” नीतिमा भनिएको छ ।

वाणिज्य बैंकहरुले कुल कर्जाको ५ प्रतिशत, विकास बैंक तथा फाइनान्स कम्पनीहरुले कुल कर्जा प्रवाहको ४.५ प्रतिशत लगानी पर्यटनमा गर्नुपर्ने नीतिगत व्यवस्था छ । यो व्यवस्थासँगै प्रत्यक्षरुपमा पर्यटन क्षेत्रमा रहेका ३ लाख ७१ हजार १४० जना प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हालसालै जारी गरेको प्रतिवेदन अनुसार सन् २०१८को अन्त्यसम्म पर्यटन क्षेत्रबाट प्रत्यक्ष रुपमा ३ लाख ७१ हजार १४० ले रोजगारी गुमाएको र यो क्षेत्र नेपालमा रोजगारी प्रदान गर्ने चौथो क्षेत्र भएको उल्लेख छ ।

कर्जा दिनको लागि व्यवसायको बीमा गरेर त्यो व्यवसायमा देखाउनु पर्छ र त्यो परियोजनालाई नै धितोका रुपमा प्रयोग गरी कर्जा प्राप्त गर्न सकिने व्यवस्था रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । उनले भने, “मौद्रिक नीतिमा व्यवस्था भएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्नेछ र बैंकहरुले कार्यान्वयनमा ल्याउने छन् ।”

सन् २०१९को अन्त्यतिर वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण पर्यटन गतिविधि विश्वभर नै प्रायः ठप्प भएपछि पर्यटन क्षेत्रका व्यवसायमा असर परेसँगै यो क्षेत्रलाई पेशा व्यवसाय बनाएकाहरुको रोजगारी संकटमा परेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२० मा गरेको अध्ययन अनुसार ७ लाख रोजगारी प्राप्त गरेको जनाइएको छ ।

प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी प्राप्त गर्नेको संख्या १० लाख भन्दा बढी रहेको अध्ययनले जनाइएको छ । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलको तथ्यांक अनुसार एक जना पर्यटकबाट ११ देखि १३ जना सम्मलाई प्रत्यक्ष तथा अप्रत्येक्ष रुपमा रोजगारी प्राप्त हुने जनाएको छ ।

मन्त्रालयले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक्स–२०२०’ अनुसार तारे होटलको संख्या १४२, पर्यटकीय होटलको संख्या ११ सय ७१ ती होटलमा ४५ हजार ८५० रुम रहेका छन् । साथै ३७ सय ४३ ट्राभल एजेन्सी, २७ सय ९७ ट्रेकिङ एजेन्सी र गाइडको संख्या ४२ सय ४१ र ट्राभल गाईडको संख्या १७ हजार ७६६ रहेको छ । यस्तै होटलमा मात्र काम गर्न २ लाख रोजगारी गुमेको अध्ध्यनले देखाएको छ । रेष्टुरेन्टमा प्रयोग हुने १ लाख बढी, ३८९ वटा होमस्टे ८२ वटा ¥याफ्टिङ एजेन्सीहरुमा प्रयोग हुने २ हजार जनशक्तिको रोजगारी गुमेको अवस्था छ ।

पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँ बढीको लगानी रहेको मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । पर्यटन क्षेत्रबाट हुने आम्दानी २०१९मा ७२ करोड ४३ लाख ३७ डलर थियो भने २०२०मा कोभिड महामरीका कारण २१ करोड ७० लाख अमेरिकन डलरमा सीमित रहेको छ । मन्त्रालयले पर्यटक क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा ७१ प्रतिशतले कमी आएर जनाएको छ । सन् २०२० मा कुल विदेशी पर्यटकको संख्या २ लाख ३० हजार ८५ मात्र सीमित भयो जुन अघिल्लो वर्षको तुलनामा ८१ प्रतिशत कम हो । यता सन् २०२०मा भने औसतमा खर्च प्रति पर्यटक प्रति दिन ६५ अमेरिकन डलर र बसाई अबधि १५.१ दिन रहेको तथ्यांकमा उल्लेख छ ।
मौद्रिक नीतिले ल्याएको कार्यक्रम सकारात्मक रहेको तर कार्यान्वयमा जोड दिनु पर्ने ट्रेकिङ एजेसिज एसोसिएन अफ नेपालका पूर्व अध्यक्ष नभराज दाहाल बताउँछन् । उनले भने, “गत वर्ष पनि सरकारले आर्थिक प्याकेज ल्यायो तर साना व्यवसायीले नपाएको अवस्था थियो । यस पटक राष्ट्र बैंकले नै जारी गरेकाले गर्दा कार्यान्वयन हुने र कोभिड–१९का कारण रोजगारी गुमाएकाहरुले लाभ प्राप्त गर्नुपर्छ ।”

सरकारले जारी गर्ने नीतिगत झन्भट्का कारण यसरी सहुलियतका रुपमा आउने कर्जा सुविधा मारमा परेकाभन्दा पनि अन्यले पाउने गरेको नेपाल ट्रेकिङ,ट्राभल्स,¥याप्mिङ,एयरलाइन्स मजदुर यूनियन(यूनिट्राभ)का अध्यक्ष सुमन पराजुली बताउँछन् । उनले भने,“यसको लागि प्रकृयागत जटिलतामा सरकारले सहिजकरण गर्नुपर्छ, तबमात्र प्रत्यक्ष मारमा परेको वर्गले सुविधा लिन सक्ने वातावरण बन्छ ।”

कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि नेपाल सरकारबाट व्यवस्था गरिएको व्यवसाय निरन्तरता कर्जा कार्यक्रम अन्तरर्गत २०७८ असारसम्ममा ९५ करोड ६७ लाख स्वीकृत भई ७३ करोड ६८ लाख रुपैयाँ लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?