पर्यटन क्षेत्रमा अनिवार्य गरिएको क्वारेनटाइन व्यवस्था हटाउन प्रतिबद्ध छु – स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

पर्यटन बजार१ भाद्र २०७८, मंगलवार मा प्रकाशित

पर्यटन क्षेत्रमा अनिवार्य गरिएको क्वारेनटाइन व्यवस्था हटाउन प्रतिबद्ध छु  – स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

भदौ १, काठमाडौँ। पर्यटन क्षेत्रका छाता सङ्गठनहरूले संयुक्त रूपमा  स्वास्थ्य राज्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।

कोरोनाले गर्दा करिब २ वर्ष देखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको पुन सुरुवातका लागी खोप मात्रै एक विकल्प रहेको बताउँदै सङ्गठनहरूले छिटो भन्दा छिटो सबै जनतालाई खोप लगाउने वातावरण मिलाउन मन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका हुन ।

नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीहरूले खोपको मात्रा पुरा लगाएका र नेपाल घुम्न चाहने पर्यटकलाई पिसिआर गराई क्वारेनटाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन् ।

कोरोना पोजेटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था गरे पनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजताका साथ नेपाल घुम्ने वातावरण मिलाई पर्यटन क्षेत्रलाई पुन सुचारु गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् ।

त्यसै गरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी रूपमा तालिम तथा अनुगमनको व्यवस्था गरिनुपर्ने उनीहरूले माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको समस्या सँग आफू जानकार रहेको र फ्रान्लाटइनरलाई खोप लगाउन कसरत गरिरहेको भन्दै  क्वारेनटाइनको व्यवस्था हटाउन आफूले पनि कुरा राखिरहेको र केही दिन भित्रमा नै निर्णय गरेर सूचना निकालिने वहाँले बताउनुभयो ।

पर्यटन व्यवसायीको माग जायज भएको र आर्थिक हिसाबले यस क्षेत्रले भोग्नुपरेको समस्यालाई छिट्टै नै सम्बोधन गरिने समेत मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाउनु  भएको छ । विशेष पर्यटकीय गन्तव्यका स्थलका सर्वसाधारणहरूलाई केन्द्रित गरेर खोप लगाउने र पर्यटकीय गन्तव्यहरूलाई खुलाउन आफू दृढ भएको र योजना बनाएर काम गरिरहेको समेत उहाँले जानकारी गराउनु भयो।

सेप्टेम्बर र अक्टोबरमा पनि पर्यटकीय क्षेत्र र संस्थाहरू खुलेनन्  भने पर्यटन व्यवसायीहरू पलायन हुने अवस्थामा पुगिसकेको र व्यवसायी पलायन हुँदा यहाँ बाट रोजगारी पाएका जनशक्ति सँगै सबैको लगानी नै खतरामा पर्ने टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताउनु भयो ।

नाटाका अध्यक्ष अच्युत गुरागाईँले व्यवसायीहरू सूचना बाट टाढिनु परेको र गलत सूचनाको सिकार हुनुपरेको कुरा जानकारी गराउँदै सी सी एम सी को टिम मा एक जना भए पनि पर्यटन व्यवसायीलाई समेटी दिन आग्रह गर्नुभयो ।

पर्यटन क्षेत्रसँग आबद्ध यी संस्थाहरूले बारम्बार क्वारेनटाइन हटाउनुपर्ने माग र खोपको माग गर्दै ज्ञापन बुझाउँदै आएका छन् तर कुनै पनि मन्त्री तथा मन्त्रालय र सरकारले  सकारात्मक सम्बोधन गरेको देखिँदैन।

तस्बिर: बर्षा सिवाकोटी

Facebook Comment

छुटाउनुभयो कि?