पर्यटनमा ४४ करोड ५८ लाख बेरुजु

पर्यटन बजार८ भाद्र २०७८, मंगलवार मा प्रकाशित

पर्यटनमा ४४ करोड ५८ लाख बेरुजु

भदौ ८,काठमाडौँ — महालेखाको ५८ औं प्रतिवेदनले पर्यटन मन्त्रालय र मातहतका १२ वटा निकायमा ४४ करोड ५८ लाख बेरुजु देखाएको छ । जसमा १ करोड १४ लाख म्याद नाघेको पेस्की देखिएको छ । त्यस्तै मन्त्रालयका संगठित संस्था र समिति गरी १४ वटा निकायमा ९७ करोड ५४ लाख बेरुजु देखिएको छ ।

प्रतिवेदनअनुसार नागरिक उड्डयन प्राधिकरणमा संस्थाको इजाजत नवीकरण नगरी १० वटा वायु सेवा कम्पनी सञ्चालनमा छन् । प्राधिकरणले विभिन्न वायु सेवा, संस्थालगायतबाट उठाउनुपर्ने ८६ करोड ९९ लाख बक्यौता असुल गर्न सकेको छैन । जसमा अस्तित्वमा नरहेका दुई हवाई सेवा कम्पनीको मात्रै ८ करोड रुपैयाँ बक्यौता छ । देशभरका ५४ विमानस्थलमध्ये २२ मात्रै सञ्चालनमा छन् ।

नयाँ विमानस्थल बनाइँदा लाभ विश्लेषण गरेर मात्र बनाउन सुझाव दिइएको छ । हाल प्राधिकरणमा थप १२ वटा निर्माणका लागि प्रस्ताव अघि बढाइएको छ ।

यस्तै पर्यटन विभागले देशभरका १५ क्यासिनोमध्ये ५ क्यासिनोबाट २०७६/७७ सम्मको २२ करोड ७२ लाखसमेत गरी कुल १ अर्ब ८ करोड ६३ लाख असुल नगरेको जनाएको छ ।

प्रतिवेदनले सुरज वैद्यको संयोजकत्वमा गठन गरिएको नेपाल भ्रमण वर्ष २०२० ले गरेको ३५ करोड २८ लाख खर्च उपलब्धिमूलक नभएको भनेको छ । नेपालमा २६ करोड ६६ लाख र विदेशमा ३ करोड ९६ लाख खर्च भएको थियो । उक्त खर्च उद्देश्यअनुरूप नभएको प्रतिवेदनले जनाएको छ । पर्यटन प्रवर्द्धन गर्ने पर्यटन बोर्ड हुँदाहुँदै वैद्यको संयोजकत्वमा छुट्टै अस्थायी संरचना खडा गरी कार्यक्रम सञ्चालन गरिनु पनि उपयुक्त नदेखिएको पनि उल्लेख छ ।

त्यसैगरी ४ करोड रुपैयाँ खर्च गरिएको दशरथ रंगशालाको उद्घाटन कार्यक्रम पनि बोलपत्रको माध्यमबाट खरिद नगरी सोझै पटकपटक खरिद गरेर प्रतिस्पर्धी विधि नअपनाइएको जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?