निगमको महाप्रवन्धक बन्न करोडको डिल

पर्यटन बजार१५ भाद्र २०७८, मंगलवार मा प्रकाशित

निगमको महाप्रवन्धक बन्न करोडको डिल

भदौ १५,काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई कम्पनी मोडलमा लैजाने निर्णय फिर्ताका लागि आन्दोलनमा उत्रिएका कर्मचारीहरू अहिले नयाँ महाप्रवन्धकको खोजीमा लागेका छन् ।

आफू अनुकूल महाप्रबन्धक ल्याउने र निगममा हालिमुहाली गर्न सहज होस् भन्ने उद्देश्यका साथ कर्मचारी संगठनका केही नेताहरू अहिले विभिन्न व्यक्तिहरूसँग ‘डिल’ गर्दै आएको रहस्य खुलेको छ ।

स्रोतका अनुसार महाप्रबन्धक बन्नका लागि २ करोड रुपैयाँसम्मको डिल हुन थालेको छ । केही व्यक्तिले भने आफूलाई महाप्रबन्धक बनाइ दिन करोडौं रुपैयाँको अफरसमेत कर्मचारी नेताहरूलाई दिँदै आएका छन् ।

अर्कोतर्फ भने तत्काल १ करोड रुपैयाँ दिन र बाँकी १ करोड कमाएर दिनसमेत कर्मचारीहरूले अफर राख्दै आएका छन् । निगममा राजनीतिक नियुक्तिका धेरै कर्मचारीहरू रहेको तिनीहरूले आफू अनुकूल महाप्रबन्धकलाई काम लगाउन प्रयास गरेका छन् ।

कर्मचारीहरूले भनेको नमान्ने र उनीहरूलाई आउने सोर्स कटौती गर्न लागेपछि महाप्रवन्धकलाई असल बनाउनका लागि विभिन्न प्रपन्च अपनाउँदै आउने गरेका छन् ।

राजनीतिक हस्तक्षेपको कारण थिलथिलो भएको निगममा पछिल्लो २ महिनादेखि कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । जसको कारण निगम भित्रका धेरै कामहरू लथालिंग भएको छ । कर्मचारीहरुले निगममा आउन नदिएपछि महाप्रवन्धक डिमप्रकाश पौडेल अहिले पर्यटन मन्त्रालयबाट काम गरिरहेका छन् ।

अतिसंवेदनशील क्षेत्रका रूपमा रहेको एयरलाइन्समा २ महिनादेखि कर्मचारीहरू आन्दोलनमा उत्रिँदासमेत सम्बन्धित निकाय मौन जस्तै देखिएको छ । यता सरकारका प्रतिनिधिहरूले पनि यस विषयमा ठोस पहल गरेको पाइँदैन ।

तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री नभएको बाहना गर्दै आन्दोलनरत कर्मचारीहरूले वार्ता भाड्दै आएका छन् । जसले मन्त्रालयका सचिवको भूमिका समेत खुम्चिएको देखिन्छ । मन्त्री नभएको बेला मन्त्रालयको सबै जिम्मेवारी सचिवको काँधमा रहे पनि पर्यटन मन्त्रालयका सचिव यादव कोइराला भने मुखदर्शक बनेका छन् ।

अतिसंवेदनशील क्षेत्रमा आन्दोलनकारीहरूले आन्दोलन गरेर तहसनहस बनाउँदासमेत सचिवले कुनै भूमिका निर्वाह नगरेको र मुख्य सचिवलाई समेत जानकारी नगराएको भन्दै कोइरालाको आलोचना समेत भइरहेको छ ।

को छन् आन्दोलनरत कर्मचारीको ब्याकफोर्स ?

आन्दोलनमा उत्रिएका कर्मचारीहरूलाई सघाउन ब्याकफोर्सका रूपमा निगमका पूर्वसञ्चालक समिति सदस्यहरू, पूर्वमहाप्रबन्धकहरू र केही उच्च कर्मचारीहरूले सहयोग गर्दै आएका छन् । तर, कर्मचारीका नेताहरूले भने आफूहरूले स्वस्फूर्त रूपमा आन्दोलनमा उत्रिएको बताउँदै आएका छन् ।

पूर्वसञ्चालक समितिका सदस्यसहित निगममै कार्यरत क्याप्टेन सुवास रिजालले समेत उनीहरूलाई सहयोग गर्दै आएका छन् । निगमभित्र सधैं विवादमा रहँदै आएका क्याप्टेन यसअघि अप्रेसन डाइरेक्टरसमेत रहेका थिए । त्यो बेला उनले केही रकम हिनामिना गरेको भन्दै अख्तियारमा समेत मुद्दा परेको थियो ।

त्यति मात्र होइन, उनकै कारण धेरै नेपाली पाइलटहरूले जागिरसमेत छोडेका छन् । उनलाई निगममा झगडालु क्याप्टेनका रूपमा लिने गरेको छ । उनी अहिले महाप्रबन्धक बन्न कांग्रेस नेता मीनेन्द्र रिजालकोमा धाउँदै आएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?