मुस्ताङको उपल्लो क्षेत्रमा घुम्न विदेशी पर्यटकलाई अनुमति

पर्यटन बजार१७ भाद्र २०७८, बिहीबार मा प्रकाशित

मुस्ताङको उपल्लो क्षेत्रमा घुम्न विदेशी पर्यटकलाई अनुमति

भदौ १७ ,काठमाडौँ। निषेधाज्ञाको समयमा पनि हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो क्षेत्रमा घुम्नका लागि विदेशी पर्यटकलाई अनुमति दिएको छ । मुस्ताङमा निषेधाज्ञाका कारण देखाउँदै नेपाली पर्यटकलाई सीमानाका घाँसाबाटै फर्काइने गरिएको भए पनि विदेशी पर्यटकलाई भने निषेधाज्ञा जारी रहेकै अवस्थामा मुस्ताङ प्रवेशको अनुमति दिइएको हो ।

निषेधाज्ञा उल्लंघन गर्दै साउन २६ गते अस्ट्रेलियन नागरिक (पुरुष) मुस्ताङ प्रवेश गरेका छन् । कास्कीको मर्दी हिमाल क्षेत्रको अनुमति मात्र लिएर आएका ती अस्ट्रेलियन नागरिकको साथमा मुस्ताङ घुम्नका लागि अनुमति नरहेको स्रोतले जनाएको छ । बिनाअनुमति आएका ती विदेशी पर्यटकलाई मुस्ताङ प्रवेशको अनुमति दिन स्थानीय प्रशासनसमक्ष साउन २६ गते वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सिफारिस गरेको थियो । उपल्लो मुस्ताङको ऐतिहासिक तथा पुरातात्विक गुम्बा र छोर्तेनको अध्ययन अवलोकनलाई उपल्लो मुस्ताङ जाने अनुमति पाएका ती अस्ट्रेलियन नागरिक भदौको १७ गतेसम्म उपल्लो मुस्ताङमै रहने बताइएको छ ।

कोरोना जोखिमका बेला नेपाली पर्यटक नै मुस्ताङ आउँदा समस्या हुने अवस्थामा पालिकाकै सिफारिसमा स्थानीय प्रशासनले मुस्ताङ प्रवेश गर्ने अनुमति दिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जानकारी दिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिफारिसमा उक्त विदेशीलाई उपल्लो मुस्ताङ भ्रमण गर्ने अनुमतिको सिफारिस स्थानीय प्रशासनलाई गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनुभयो ।

निषेधाज्ञा जारी गरिएको मुस्ताङमा दुई साताअघि मुस्ताङ प्रवेश गरेका अस्ट्रेलियन नागरिक पुरुषको साथमा एक महिला पथप्रदर्शकसमेत रहेकी छन् । उनीहरु पालिकाकै समन्वयमा वारागुङ मुक्तिक्षेत्र–२ झारकोटमा बसेका थिए । बिनापरमिट मुस्ताङ आएका ती विदेशी पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जरिवानासहित परमिट काटेको पाइएको छ । उपल्लो मुस्ताङको ऐतिहासिक धार्मिक, सांस्कृतिक सभ्यता र संरचनालगायतको अध्ययन अवलोकन गर्ने उद्देश्यले मुस्ताङ प्रवेश गरेका ती विदेशी पर्यटकले अध्यागमन विभागको अनुमति लिएका थिएनन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको स्वामित्वमा रहेको मुस्ताङ भ्रमण गर्न नेपाली पर्यटकले १ सय, सार्कका विदेशी पर्यटकले १ हजार र तेस्रो मुलुकका विदेशी पर्यटकले ३ हजार शुल्क तिरेर अनुमति लिनुपर्ने हुन्छ ।

कोरोना कहरकै कारण गत वैशाखदेखि मुक्तिनाथ मन्दिर र कागबेनीमा पूजापाठमा पूर्णरूपमा रोक लगाइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?