ऋण परिचालनमा श्रमिक प्रतिनिधिले नै  पर्यटन श्रमिकहरूलाई विभेद: निटोग

पर्यटन बजार६ आश्विन २०७८, बुधबार मा प्रकाशित

ऋण परिचालनमा श्रमिक प्रतिनिधिले नै  पर्यटन श्रमिकहरूलाई विभेद: निटोग
भदौ ६,काठमाडौँ। नेपाल पर्यटन बोर्डको पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालयले कोरोना महामारीको कारण बेरोजगार बनेका ट्रेकिङ गाइडहरूका लागि सहुलियतपूर्ण ऋण लिन ७दिनको समय तोकी आवेदन खुल्ला गरेको थियो ।नेपाल पर्यटन बोर्डले २०७१ चैत्र ५ गते टिम्स कार्ड खरिद तथा विक्रीको आम्दानीको दश प्रतिशत रकमको श्रमिक कल्याणकारी कोष निर्माण गरेको थियो ।
उक्त कोषमा रहेको कुल रकमको ८० प्रतिशत रकम कृषि विकास बैङ्कमा धितो राखी ट्रेकिङ कम्पनीमा कार्यरत रहेकै बखत कोभिड १९ महामारीको कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरूलाई वैकल्पिक व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न सहुलियत दरमा ऋण प्रदान गर्न लागेको बोर्डले जनाएको छ ।
पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालयले गाइडहरूले ऋण लिनु पूर्व पुरा गर्नुपर्ने केही सर्तहरू तोकेको छ । सर्त अनुसार ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, कोभिड १९ महामारी पूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कार्यरत रहेको हुनुपर्ने, गाइडले सञ्चालन गर्ने वैकल्पिक व्यवसायको परियोजना प्रस्ताव पेस गर्नुपर्ने छ । तर यी सर्तहरू अर्थहीन रहेको नेपाल स्वतन्त्र पर्यटन श्रमिक सङ्घ निटोगका अध्यक्ष  रामकाजी प्रयासले बताए ।
ट्रेकिङ गाइडले ऋण पाउन भर्नुपर्ने विवरणहरू यस्ता छन्
१. गाइडको नाम २. ट्रेकिङ गाइड लाइसेन्स नम्बर ३. ट्रेकिङ गाइड लाइसेन्स लिएको मिति (प्रतिलिपि संलग्न गर्नु पर्ने), ४. ट्रेकिङ गाइड कार्य सुरु गरेको मिति, वर्ष र महिना, ५. ट्रेकिङ गाइड कार्यमा संलग्न रहेको अन्तिम मिति, वर्ष र महिना, ६.कोभिड१९ महामारी पूर्व कम्तीमा ३ वर्ष कार्यरत रहेको ट्रेकिङ कम्पनीको नाम, ७. गाइडले नागरिकता लिएको जिल्ला, ८. गाइडले सञ्चालन गर्न चाहेको व्यवसायको किसिम मागिएको छ । होमस्टे, रेष्टुरेन्ट, कृषि तथा पशुपालन, गर्न पाइने पनि उल्लेख गरिएको छ । त्यसरी व्यवसाय संचालनगर्न १ लाखसम्म देखि ५ लाख सम्म हुने छ ।
उक्त ऋण लिनु पूर्व गाइडहरूले १. ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, २. कोभिड १९ महामारी पूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कार्यरत रहेको हुनुपर्ने, ३. गाइडले सञ्चालन गर्ने व्यवसायको परियोजना प्रस्ताव पेस गर्नुपर्ने जस्ता सर्तहरू पुरा गर्नुपर्ने जनाइएको छ ।
ऋण परिचालनमा श्रमिकहरूलाई विभेद भयो
लाइसेन्स भएका गाइडहरूले मात्र टे«किङ्ग चल्दैन, एउटा टे«किङ्ग  सम्पन्न गर्न कुक, सहयोगी र भरियाहरूको पनि उत्तिकै ठुलो देन हुन्छ  । तसर्थ टिम्समा योगदान आम पर्यटन श्रमिकहरूको हुन्छ । लाइसेन्स भएका टे«किङ्ग गाइडलाई मात्र ऋण परिचालनको नीति अवलम्बन गरी आम श्रमिकहरूको योगदानको अपमान गर्दै निश्चित श्रमिकहरूलाई मात्र ऋण वितरण गरी श्रमिकहरूकै बिचमा विवाद ल्याउन खोजिएका छ । यस्तो विवाद सिर्जना गर्ने श्रमिक प्रतिनिधि नै भएको नेपाल स्वतन्त्र पर्यटन श्रमिक सङ्घ निटोगका अध्यक्ष रामकाजी प्रयासले बताए ।
अहिलेको व्यवस्था सुधार गरेर आम पर्यटन श्रमिकहरूलाई ऋण उपलब्ध गर्ने व्यवस्था गर्नु पर्दछ । यदि उक्त व्यवस्था नसुधारी निश्चित श्रमिकहरूलाई मात्र ऋण वितरण गर्न खोजिए तुरुन्तै आम पर्यटन श्रमिकहरू आन्दोलनमा जान बाध्य हुने निटोगले जनाएको छ ।
Facebook Comment

छुटाउनुभयो कि?