ज्ञानका सागर “हर्क गुरुङ” को १५ औं स्मृती सभा सम्पन्न

पर्यटन बजार८ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

ज्ञानका सागर  “हर्क गुरुङ” को १५ औं स्मृती  सभा सम्पन्न

असोज ८ , काठमाडौं । तत्कालीन वन तथा भूसंरक्षण मन्त्री गोपाल राई, योजनाविद् डा. हर्क गुरुङलगायत २४ जनाको ज्यान जाने गरी ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पुरा भएको छ ।

२०६३ असोज ७ गते श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना हुँदा गुरुङले आफ्नो मृत्यु मितिबारे पूर्वानुमान भए जस्तो गतिविधि गरेको उनी निकटहरूको भनाई छ । डा. गुरुङसँग नजिक रहेर लामो समय काम गरेका गणेश गुरुङ भन्छन्, ‘उहाँको सुसाईड नोट त होइन तर, अचम्म लाग्ने दुई वटा उदाहरण छन् ।’

डा. गुरुङको पन्ध्रौँ स्मृति पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एनएमए का अध्यक्ष सन्तबीर लामाले हर्क गुरुङ लाई एक दुरदर्शी र मेहेनती व्यक्तित्व को रुपमा सम्झिए।

हर्क गुरुङबारे चर्चामा नआएका पाँच तथ्य

डा. गुरुङलाई धेरैले योजनाविद्, भूगोलविद्, पूर्व मन्त्री, परामर्शदाता, लेखकको रुपमा चिन्छन् । तर उनीबारे चर्चामा नआएका तथ्यहरू पनि छन् ।

उनी राम्रो चित्रकार समेत रहेको गणेश गुरुङले जानकारी दिए । डा. गुरुङले आफ्नो पोट्रेट पेन्टिङ आफैंले गरेका थिए ।

उनले सन् १९६६ मा ५२९६ मिटर अग्लो हिमाल आरोहणको प्रयास समेत गरेका थिए । तर उनको आरोहण सफल भने भएन । ‘त्यसहिसाबले उहाँलाई असफल आरोही पनि भन्न सकिन्छ’, गणेश गुरुङ भन्छन् ।

इडनवर्ग विश्वविद्यालयबाट विद्यावारिधी गरेका डा. गुरुङले स्नातकोत्तर भने नपढेको गणेश गुरुङको भनाइ छ । उनकाअनुसार स्नातकबाटै विद्यावारिधी गर्न पाइने भएकाले स्नातकोत्तर गरेका थिएनन् ।

सन् १९३९ मा लमजुङमा जन्मेका डा. गुरुङले राजा, काँग्रेस, एमाले लगायतसँग निकट रहेर काम गरेको देखिन्छ । यसहिसाबले उनलाई वैचारिक अडान नभएको बौद्धिक मान्नेहरू पनि छन् ।

गलैंचा काण्डताका उनी पर्यटन राज्यमन्त्री थिए । राज्यमन्त्री भए पनि मन्त्रिपरिषद बैठकमा सहभागी हुने पाउने भएकाले डा. गुरुङ नै पहिलो पर्यटन मन्त्री भएको गणेश गुरुङ बताउँछन् ।

घुन्सा दुर्घटनामा परेकाहरू

विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर र्फकने क्रममा हेलिकाप्टर दुर्घटना भएको थियो ।

योजनाविद् डा. गुरुङ र तत्कालीन मन्त्री राईसँगै राईकी श्रीमती मीना राई, संरक्षणविद् डा. तीर्थमान मास्के, वन मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल पनि दुर्घटनामा परेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?