पर्यटन दिवस : पोखरामा मिनी महोत्सव गरिने

पर्यटन बजार१० आश्विन २०७८, आईतवार मा प्रकाशित

पर्यटन दिवस : पोखरामा मिनी महोत्सव गरिने

असोज १० ,पोखरा । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराले पर्यटन दिवसका अवसरमा असोज ११ गते मिनी महोत्सव गर्ने भएको छ । रेबान पोखराले हरेक वर्ष गर्दै आएको मिनी महोत्सवलाई यस वर्ष स्वास्थ्य सतर्कतासहित निरन्तरता दिइने संस्थाका अध्यक्ष लक्ष्मण बरालले बताए ।

खोपको सहजता र निषेधाज्ञा खुला भएसँगै पर्यटनलाई चलायमान गराउन एकदिने मिनी महोत्सवको आयोजना गरिएको जानकारी उनले दिए । उनका अनुसार महोत्सवमा सांगीतिक ब्यान्ड, नेवार समुदायको लाखे नाँच, पञ्चेबाजा, थारू समुदायको प्रचलित झुम्रा नृत्य, गन्धर्व समुदाय लगायतको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

कोरोना महामारी पूर्णरूपमा निर्मूल भइनसकेकाले महोत्सव क्षेत्रमा ‘नो भेइकल जोन’ अवधारणा अपनाएर भीडभाड व्यवस्थित गरिने बरालले बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाका कारण सुस्ताएको पर्यटनलाई चलायमान गराउन पर्यटक लक्षित गतिविधि आवश्यक रहेको भन्दै मिनी महोत्सवले पोखरा सुरक्षित र खुला रहेको सन्देश दिने बताए । कोरोना महामारीले आक्रान्त भएको पर्यटन क्षेत्रलाई वित्तीय संस्थाले ब्याजदर बढाएर थप पीडा दिएको भन्दै उनले सिंगल डिजिटमा ऋण उपलब्ध गराएर पर्यटन व्यवसायीलाई विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत नवीन पोखरेलले पर्यटन दिवसका अवसरमा कूटनीतिक नियोगका पदाधिकारीको टोली पोखरा र आसपासको पदमार्गमा पुग्ने र यसले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिने बताए ।

रेबानका सचिव भीष्मराज पौडेलले पोखरा खुल्दै छ र यहाँका व्यवसायी पाहुनालाई सेवा दिन तयार छन् भन्ने सकारात्मक सन्देश र पर्यटन दिवस पोखरामा मनाउन निम्तो दिन पनि महोत्सव आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक र प्रदेश सरकार पर्यटन मन्त्रालय र पोखरा पर्यटन परिषद् सहयोगी रहेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?