लमजुङमा जुर्मुराउँदै सुस्ताएको पर्यटन व्यवसाय

पर्यटन बजार११ आश्विन २०७८, सोमबार मा प्रकाशित

लमजुङमा जुर्मुराउँदै सुस्ताएको पर्यटन व्यवसाय

असोज ११, काठमाण्डौ। कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै सुस्ताएको लमजुङको पर्यटन व्यवसायले विस्तारै गति लिन थालेको छ।

पाँच महिनादेखि बन्द भएको व्यवसाय यतिबेला कोरोना संक्रमणको जोखिम कम भएकाले खुल्न थालेको हो। क्व्होलोसोथर गाउँपालिका-३ स्थित एसियाकै नमूना तथा नेपालकै पहिलो स्मार्ट भिलेजको रूपमा रहेको घलेगाउँसहित राइनास नगरपालिका–९ स्थित राइनासकोट, मर्स्याङ्दी गाउँपालिका–३ सिउरुङलगायत घरबास (होमस्टे) तथा पर्यटकीयस्थलमा यतिबेला विस्तारै पर्यटक आउन थालेका हुन्।

पर्यटकको अभावमा आम्दानी गर्न नसकी चिन्तित बनेका यहाँका व्यवसायी अहिले न्यून मात्रामा भए पनि पर्यटक आउन थालेकाले खुसी भएका छन्।

लामो समयसम्म एउटै पर्यटक पनि नआउँदा सुनसान रहेका यहाँको घरबासमा केही दिनदेखि दैनिक २०/३० जना आउन थालेकाले आफूहरू हर्षित भएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए।

एकातिर कोभिड संक्रमणको डर अर्कोतिर पर्यटक नआउँदा आम्दानी नभएर दैनिक गर्जो टार्न कठिन भइरहेकामा कोभिडको जोखिम कम भई पर्यटक आउन थालेकाले गुजारा चलाउन सहज भएको उनले उल्लेख गरे।

घलेगाउँ घरबास सञ्चालक तथा पर्यटन व्यवसायी दीर्घराज घलेले भने, ‘यहाँका पर्यटन व्यवसायीको मुख्य आम्दानीको स्रोत नै पर्यटक हो, कोभिड कहिले हट्ला र पर्यटकको आगमनले आम्दानी होला भनेर हामी पर्खाइमा थियौं। अहिले पर्यटक आउन थालेसँगै दिनमा दुई/चार हजार भए पनि आम्दानी हुन थालेको छ।’

यहाँ यतिबेला पर्यटकीय याम भएकाले अब पर्यटक बढे प्रत्येक घरबास सञ्चालकले मासिक रु ६० हजारसम्म आम्दानी गर्न सक्ने घरबास सञ्चालकको भनाइ छ।

कोरोनाको संक्रमण हुनुअघिसम्म पर्यटकीय याममा दैनिक ५०० सम्म पर्यटक आउने गर्थे। वि.सं २०५७ देखि घरबास सञ्चालन गरिएकामा अहिले ३७ घरमा घरबासको व्यवस्था छ।

ncell in
घरबासमा पुग्ने पर्यटकको सत्कारसँगै आफ्ना कला, भेषभूषा संस्कार र संस्कृति जोगाइराख्न यहाँका बासिन्दा जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत गर्ने गर्दछ।

वि.सं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्र मन्त्रिस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय गाउँका रूपमा घोषणा गरेको थियो।

समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ प्राकृतिक सम्पदाले भरपूर हुनाका साथै आदिवासी जनजातिमध्ये गुरूङको उद्गमथलो र घले राजाले राज्य गरेको गाउँ हो।

यहाँबाट आठ हजार १६३ मिटर अग्लो मनास्लु, सात हजार ८३५ मिटर अग्लो ङादीचुली (डा हर्क हिमाल), सात हजार ९३५ मिटर अग्लो अन्नपूर्ण (दोस्रो), अन्नपूर्ण (चौथो), छ हजार ९६३ मिटर अग्लोे माछापुच्छ्रे, सात हजार ८९३ मिटर अग्लो हिमालचुली, छ हजार ९८६ मिटर अग्लो लमजुङ र छ हजार ६७२ मिटर अग्लो बुद्ध हिमालसहित १८ हिमाल देख्न सकिन्छ।

घलेराजामध्ये अन्तिम ज्याल्बु रुजा क्लेको सालिकसमेत देख्न सकिने यहाँ पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जिएको प्राङ्गारिक चामल, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गरिन्छ।

यसअघि घरबासमा आएका पर्यटकलाई गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत लोपोन्मुख साँस्कृतिक नृत्यसमेत प्रस्तुत गर्ने गरिएकामा अहिले बन्द छ।

राइनासकोट होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्काबहादुर गुरूङले भने,’कोरोनाको सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञासँगै पर्यटक आगमन बन्द भएको थियो। जोखिम कम हुँदै गएपछि गत भदौ २८ गतेदेखि घरबास खुला गरेकै दिनमा २० पर्यटक आएको र दैनिक वृद्धि हुँदै गइरहेको छ।’

यहाँ स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटकलाई गाउँमा राख्न थालिएको छ। राइनासकोटमा योगस्तम्भका साथै ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेवलगायत ऐतिहासिकस्थल छन्।

नेपालका बाइसेचौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य गरेर राइनासकोटमा बसेका थिए। रासस

Facebook Comment

छुटाउनुभयो कि?