भिटोफ गाउँ गन्तव्य मा “भदुवार ,टुटेपानी र जेफाले” होमस्टे छनौट

पर्यटन बजार१२ आश्विन २०७८, मंगलवार मा प्रकाशित

भिटोफ गाउँ गन्तव्य मा “भदुवार ,टुटेपानी र जेफाले” होमस्टे छनौट

असोज १२ ,काठमाडौँ। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ ) नेपालले यस वर्षको मोडल भिलेज तथा गाउँ गन्तव्य अन्तर्गत ३ ओटा होमस्टे लाई घुम्ने पर्नेको सुचीमा राखेको छ। ४२ औँ पर्यटन दिवस अवसरमा पर्यटन बोर्डमा भएको कार्यक्रममा भिटोफ नेपालका अध्यक्ष ध्रुव सिम्खडाले धादिङको भदुवार कालिका होमस्टे ,तनहुँको टुटे पानी सामुदायिक होमस्टे र मोरङको जेफाले होमस्टे लाई गाउँ गन्तव्यको रूपमा घोषणा गरेका हुन्।

ग्रामीण क्षेत्रमा स्थापना भई सफल सञ्चालन गरी आन्तरिक एवम् बाह्य पर्यटन भित्राउन महत्त्वपूर्ण भूमिका खेलेका होमस्टे लाई थप प्रोत्साहन गर्न भिटोफले हरेक वर्ष ३ गन्तव्य तोक्ने गरेको छ।

भदुवार कालिका होमस्टे

यस होम स्टेमा ९ ओटा घरमा एक पटकमा ३० जनासम्म पाहुनाहरू राख्नसक्ने गरी सञ्चालनमा ल्याइएको छ। धादिङको सदरमुकाम धादिङ बेसीबाट एक घण्टाको मोटर बाटोमा रहेको भदुवार कालिका होम स्टेमा मगर खानाको साथै सोरठी, घाटु लगायतका मगर संस्कृतिको मनोरञ्जन लिन सकिन्छ।

कोदो र चामलको रोटी, लोकल कुखुरा तथा बङ्गुरको मासुका विभिन्न परिकारहरू यहाँका विशेष खाने परिकारहरू, सिजनअनुसारका विषादीरहित साग, सिम्लीकानको अचार लगायतका परिकारले मनै लोभ्याउने होम स्टे सञ्चालकहरू बताउँछन् ।

टुटेपानी सामुदायीक होम स्टे

यस होम स्टे मा १६ घरमा एक रातमा करिब ६० जनासम्म पाहुनालाई राख्ने गरी होमस्टे सञ्चालित छ । युवाहरू पनि अहिले गाउँमै होमस्टे सञ्चालनमा केन्द्रित भएका छन् ।

गुरुङ समुदायको परम्परागत कला, संस्कृति, स्थानीय स्तरमै उत्पादन भएका खानाका परिकारका साथै प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक क्षेत्रले भरिपूर्ण यो होमस्टे सुन्दर छ ।

जेफाले होमस्टे सेवा

जेफाले क्षेत्रलाई पर्यटकयि गन्तव्यका रूपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान बस्नको सुविधा प्रदान गर्ने उद्देश्यले सिंहदेवीस्थित बिहीबारेमा होमस्टे सञ्चालनमा ल्याइएको छ । जेफाले डाँडा घुम्न पुग्ने पर्यटकलाई लक्षित गरी बिहीबारेका पाँच घरमा होमस्टे सञ्चालन गरिएको छ ।

करिब ३० घर परिवार रहेको बिहीबारेमा जेफाले सामुदायिक होमस्टे सेवा प्रदान गरिँदै आएको हो । जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरूबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ ।

१ हजार ९ सय ७० मिटर उचाइमा रहेका भ्यु टावरवाट पूर्वका १६ जिल्ला साथै सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ ।जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीका अनुसार भ्यु टावर वाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगा देख्न सकिन्छ ।

Facebook Comment

छुटाउनुभयो कि?