एसियाकै दोस्रो लामो सुपरम्यानको निर्माण अन्तिम चरणमा

पर्यटन बजार१८ आश्विन २०७८, सोमबार मा प्रकाशित

एसियाकै दोस्रो लामो सुपरम्यानको निर्माण अन्तिम चरणमा

असोज १८ ,काठमाडौँ । पर्यटकीय नगरी नगरकोटमा एसियाकै दोस्रो लामो सुपरम्यानको (सुतेर खेल्न मिल्ने खेल) निर्माण अन्तिम चरणमा पुगेको छ । नगरकोट जिपलाइन प्रालिद्वारा निर्माण गरिरहेको सो सुपरम्यानको लागत ६ करोड रुपैयाँ रहेको सञ्चालक केदार थापाले जानकारी दिए ।

काभ्रेको धुलिखेलमा जिपलाइन सञ्चालन गर्दै आएका थापाले नै नगरकोटमा सुपरम्यानसँगै रेस्टुराँसमेत निर्माण गरिरहेका छन् । मङ्सिरबाट सञ्चालनमा ल्याउने तयारी गरिएको सो सुपरम्यानलाई एसियाकै दोस्रो लामो दाबीसमेत गरिएको छ ।

अहिले एसियामा सबैभन्दा लामो सुपरम्यानको रूपमा दुबईमा छ । उसको लम्बाई २ हजार ८०३ मिटर रहेको छ । यस्तै थापाले निर्माण गरिरहेको सुपरम्यानको लम्बाइ १ हजार ९०० मिटर छ ।

नगरकोटमा आन्तरिक एवं बाह्य पर्यटकहरूको चाप अत्याधिक हुने भएकाले त्यसैलाई मध्यनजर गरी सुपरम्यान सञ्चालनको तयारी गरिरहेको बताए । बाह्य पर्यटकहरूलाई समेत यसले ध्यान तान्ने उनको अपेक्षा छ ।

अहिलेसम्म सञ्चालनमा रहेका जिपलाइन, बन्जिजम्प र स्काई साइक्लिङमा ९० प्रतिशत आन्तरिक पर्यटकहरूले भरिभराउ हुने गरेको बताउँदै नगरकोटको सुपरम्यानमा भने आन्तरिकसँगै बाह्य पर्यटकहरूको समेत उत्कृष्ठ गन्तव्य बन्न सक्ने उनको दाबी छ ।

अहिले नगरकोटमा धेरै पर्यटकहरू सूर्योदय हेर्नका लागि पुग्ने गरेका छन् । विभिन्न सेमिनारहरूसमेत त्यहाँ हुने गरेको छ । नगरकोटमा पर्यटकीय गन्तव्यको विस्तारसँगै पर्यटकको बसाईसमेत लोभ्याउने उद्देश्य आफ्नो रहेको सञ्चालक थापाको भनाइ छ । त्यहाँ धुलिखेल र अन्य ठाउँमा नभएका खेलहरूसमेत यहाँ खेल्न पाइने जनाएको छ ।

आफूले धेरै पहिलादेखि नै नगरकोटमा सुपरम्यान बनाउने तयारी गरे पनि एडभेन्चर टुरिजममा नयाँ भएकाले सुरुमा साना साना जिपनलाइनहरू सञ्चालन गरेर यता लगानी गरेको उनले सुनाए । सुपरम्यानको दैनिक क्षमता ३ सय जनाको रहने बताइएको छ ।

अन्तर्राष्ट्रिय पर्यटकहरूको जमघटसमेत त्यहाँ हुने भएकाले यसलाई विशेष महत्वकासाथ हेरिएको छ । नगरकोट जिपलाइन प्रालिद्वारा निर्माण भइरहेको सो सुपरम्यानले पर्यटकीयसँगै एडभेन्चर टुरिजमले समेत नगरकोटलाई परिचित गराउने मुख्य उद्देश्य राखिएको उनले बताए ।

बोजिनी ड्याममा एडभेन्चर पार्क

नगरकोटमै थापाको समूहले एडभेन्चर पार्कसमेत निर्माण गर्न लागेका छन् । त्यहाँको बोजिनी ड्याममा उडि एडभेन्चर प्रालिले २०० रोपनी क्षेत्रफलमा पार्क निर्माण गर्न लागेका हुन् ।

पार्कभित्र रुखमै सुत्ने,रुखमै बस्ने र रूखमै खेल्न मिल्ने खेल (क्यानोपी वाक) को निर्माण गर्न लागिएको हो । यसको निर्माण चैतदेखि सुरु गर्ने र जेठभित्रमा सञ्चालनमा ल्याइसक्ने गरी तयारी भइरहेको बताए ।

योसँगै पोखरीमा बोटिङ गर्ने, स्काई साइक्लिङ, रुखैरुखमा खेल्ने करिब २५ थरीका एडभेन्चर पार्क समेत निर्माण गर्न लागिएको उनले बताए ।

Facebook Comment

छुटाउनुभयो कि?