१० लाखको बिमासहित झापामा संचालनमा आयो गुलेली पिङ

पर्यटन बजार२० आश्विन २०७८, बुधबार मा प्रकाशित

१० लाखको बिमासहित झापामा संचालनमा आयो गुलेली पिङ

असोज २० ,झापा। झापाको बुद्धशान्तिमा साहसिक खेल स्वीङ संचालनमा आएको छ। झापा बुद्धशान्ति–७ का युवा सुनिल ढुंगानाले नेपालीहरुको महान् चाड बडादशैँको सन्दर्भ पारेर यही घटस्थापना देखि एक करोडको लगानीमा स्वीङ सञ्चालनमा ल्याएका हुन् ।

लामो समय विदेश रहेका उनले इन्डोनेसियाको बालीमा रहेको भन्दा आधुनिक र अग्लो ठाउँबाट स्वीङ सञ्चालनमा ल्याएको जानकारी गराएका छन् । कान्छा कान्छीको स्वीङ भनेर नामाकरण गरिएको सो ठाउँ मेची राजमार्गको बुद्धशान्ति–७ को सुनमाईमा पर्दछ । पूर्वपश्चिम लोकमार्गबाट चारआली हुँदै पूर्वका धार्मिक तथा पर्यटकीय क्षेत्र पाथिभरा, कन्याम, अन्तु लगायतका ठाउँ जाँदा बाटोमा नै पर्दछ ।

पूर्वी नेपालका धार्मिक तथा पर्यटकीय क्षेत्र दर्शन तथा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि कान्छाकान्छीको स्वीङ थपिएकोले अर्को मज्जा बन्नेछ । यत्ति मात्र होइन पूर्वी नेपालको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि कान्छाकान्छीको स्वीङ जीवनको अविस्मरणीय पल बन्नेछ । दशैँ अघिबाट सञ्चालनमा आउन लागेको स्वीङका लागि आवश्यक सम्पूर्ण सामान आफूले विदेशबाट ल्याएको सञ्चालक ढुंगानाको भनाई छ ।

बुद्धशान्ति गाउँपालिकाको टिमाई खोलाको भिरमा कान्छाकान्छीको स्वीङ रहेको छ । सञ्चालक ढुंगानाले नेपालको सबैभन्दा अग्लो ठाउँमा आफूले स्वीङ सञ्चालन गर्न लागेको दाबी गरेका छन् । आङ नै सिरिङ्ग हुने अनुभूति दिलाउने स्वीङका लागि उनले सुरक्षाको हिसाबले पूर्ण सावधानी अपनाएको बताएका छन् ।

सोइल टेस्ट र पूर्ण इन्जिनियरिङ सर्भे गरेर सञ्चालनमा आउन लागेको स्वीङ पूर्वी नेपालका लागि साहसिक खेलको हब बनाउन सकिने सम्भावनालाइ मध्यनजर गर्दै पहिलो कदम चलन सुरु गरेको उनले बताएका छन् । ढुंगानाले सो ठाउँमा अन्य संरचना निर्माण गरि साहसिक खेलका लागि एउटा गन्तव्य बनाउने आप्mनो योजना रहेको बताएका छन् । साहसिक खेलमा रमाउनेका लागि यही घटस्थापनाबाट सञ्चालनको तयारीमा रहेको कान्छाकान्छीको स्वीङ उत्कृष्ट नयाँ गन्तव्य बन्ने निश्चित प्रायः छ ।

बिमा सुबिधा
स्विङ्ग अर्थात् गुलेली पिङ्गको प्रत्येक टिकटमा रु १० लाखको बिमा समेत गरिएको संचालकले बताएका छन्। “हामीले पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाएका छौं भने चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग संगै दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरेका छौं ” उनले भने।

Facebook Comment

छुटाउनुभयो कि?