बेलायतको रेड लिस्ट बाट हट्यो नेपाल

पर्यटन बजार२२ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

बेलायतको रेड लिस्ट बाट हट्यो नेपाल

असोज २२, काठमाडौं। बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ ।

यसअघि नेपाल लगायत ५४ वटा मुलुक बेलायत सरकारको ‘रेड लिस्ट’ मा थिए । सरकारले अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र द डोमिनिकन रिपब्लिक गरि ७ मुलुक मात्रै ‘रेड लिस्ट’ मा रहने घोषणा गरेको छ ।

ब्रिटिस यातायात मन्त्री ग्रान्ट साप्सले नयां नियमहरु ब्रिटेनमा अन्तर्राष्ट्रिय यात्रा खुला गर्ने दिशामा ‘एउटा नयाँ पाइला’ भएको बताएका बीबीसीले उल्लेख गरेको छ । ‘रेड लिस्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टाइन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउन्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउन्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउन्ड तिर्नुपर्ने हुँदा नेपालसहितका यात्रुलाई निकै सास्ती भइरहेको थियो । नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीसमेत चर्को मूल्य तिर्न बाध्य थिए । अब होटल क्वारेन्टाइनको बाध्यकारी नियम हटेको छ । यात्रा गर्नुअघि पीसीआर टेस्टको नेगेटिभ रिपोर्ट भने जरुरी छ ।

दक्षिण एसियामा नेपालमात्र ‘रेड लिस्ट’ मा रहँदा बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाले सूचीबाट नेपाललाई हटाउन ब्रिटिस सरकारसँग अपिल गरेका थिए । लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले ब्रिटिस सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताइन् । ‘दूतावासले नेपाललाई रातो सूचीबाट हटाउन ब्रिटिस सरकारसँग पहल गरेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?