बिदेशका समुन्द्री तट बिर्साउने “सप्तकोशी “

पर्यटन बजार२४ आश्विन २०७८, आईतवार मा प्रकाशित

बिदेशका समुन्द्री तट बिर्साउने “सप्तकोशी “

असोज २४,कोशी । सात वटा कोशीको एउटै रूप, सप्तकोशी । मुलुकमा बग्ने ठूला नदीहरू तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती यसैमा आएर मिसिएको छ । यो विशाल जलाशय यस क्षेत्रको खास आकर्षण हुन् ।

गोधुली साँझमा रैथाने माछाको स्वाद लिदै जलाशयको सौन्दर्य नियाल्नुको आफ्नै मज्जा छ । डुंगामा सयर गरिरहेका, माछालाई जाल हानिरहेका दृश्य पनि निकै मोहक लाग्छ ।
विशाल जलाशय, अनन्तसम्म फैलिएको बालुवा । यहाँ पुगेपछि समुद्रीतटकै अनुभव गर्न सकिन्छ । वन्यजन्तुमा रुची भएकाहरूलाई त यो स्वर्ग नै हो । कोशी टप्पुले सयौं वन्यजन्तुलाई सुरक्षित र न्यानो आश्रय दिएको छ ।

श्रीलंका टापु
धेरैलाई थाहा नहुन सक्छ, हाम्रो देशमा पनि टापु छ । तर, कोशी टप्पुको सेरोफेरो अवलोकन गर्नेले सहजै थाहा पाउँछन् यहाँ पनि टापु रहेछ । अनौठो त के भने, उक्त टापुको नाम नै श्रीलंका टापु ।

यो टापु सप्तकोशीको मूल प्रवाहले घेरिएको समतल भूभाग हो । सुनसरी र उदयपुरको मध्यमा छ यो । श्रीलंका टापु सुनसरी र उदयपुरका पाँचवटा वडामा फैलिएको छ ।

हिँउदमा मुस्किलले गाडी वा पैदलमा यो टापुसम्म पुग्न सकिन्छ । अरू बेला भने डुंगाको भर पर्नुपर्छ । यहाँभित्र तीन हजार परिवार बसोबास गर्छन् ।

त्यसो त यहाँ राष्ट्रिय चरा महोत्सव पनि मनाइन्छ । यहाँ साइबेरियादेखि घुमन्ते चराहरू आउजाउ गर्छन् । दुर्लभ गिद्ध, डल्फिन, लोपोन्मुख अर्ना (जंगली भैंसी) का लागि पनि यो राम्रो आश्रयस्थल हो । त्यसैगरी २० किसिमका विभिन्न वन्यजन्तु यस क्षेत्रमा पाइन्छन्, हरिण, नीलगाई, बँदेल, अजिंगर आदि । विश्वमा अन्यत्र नपाइने स्वाम प्यास्ट्रिज नामक चरा कोशी टप्पुमा देख्न पाइन्छ ।

विश्वमै दुर्लभ चराचुरुंगीसमेत कोशी टप्पुमा पाइन्छन् । यहाँ करिब पाँच सय प्रजातिका चराचुरुंगी पाइने बताइएको छ । नदीको भागसमेत गरी १ सय ७५ वर्ग किलोमिटरमा यसको आरक्ष क्षेत्र फैलिएको छ ।

सन् १९८७ मा यस क्षेत्रलाई रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । कोटी टप्पु वन्यजन्तु आरक्ष नेपालकै पहिलो ठूलो रामसार क्षेत्र हो ।

जलबिहारको लागि होस् वा बालुवामाथि ‘अफरोड बाइकिङ’, यो भेग उपयोगी हुनसक्छ । फिसिङ, वाटर स्पोर्टस्को पनि यहाँ ठूलो सम्भावना छ । कोशी बाँध, विशाल जलाशय, वन्यजन्तु, सिमसारजस्ता प्राकृतिक आकर्षण त छँदैछ । त्यसबाहेक अन्य किसिमको पूर्वाधारबाट पनि पर्यटक तान्न सकिने पर्याप्त सम्भावना छ ।

सडकको सहज पहुँच र नेपालको जुनसुकै कुनाबाट पनि सजिलै पुग्न सकिने भएकाले कोशी टप्पु एक रोज्जा पर्यटकीय गन्तव्य बन्न सक्छ ।
हुन त अहिले यहाँ थारू सामुदायिक होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । खासगरी आरक्ष र त्यस आसपासका धार्मिक स्थल घुम्न आउने पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालनमा ल्याइएको बताइन्छ । सप्तकोशी नदिमाथि र्‍याफ्टिङको आकर्षण पनि थपिएको छ ।
पर्यटन विकासका सम्भावना हुँदाहुँदै पनि प्राकृतिक पारखीको नजरबाट यो भेग ओझेलमा छ । देश-विदेश चाहर्ने पर्यटकहरू कोशी टप्पुमा नपुग्नु बिडम्बना हो । पर्यटन विकासका लागि पूर्वाधार निर्माण गर्न नसक्नु हाम्रो लागि दुर्भाग्य हो ।

Facebook Comment

छुटाउनुभयो कि?