हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दशैंको महत्त्व !

पर्यटन बजार२७ आश्विन २०७८, बुधबार मा प्रकाशित

हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दशैंको महत्त्व !

असोज २७, काठमाडौं ।चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछ्न। हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक  तर्फ परिवर्तन गरिदिन्छ । साथीभाई, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ।त्यसको बेग्लै मज्जा छ । दशैमा दक्षिणा, टिका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्वका रुपमा लिइन्छ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ। त्यो मध्ये नेपालीहरूको सबैभन्दा महत्वपुर्ण चाड हो बडादशैँ अर्थात् विजयादशमी । चलनचल्तीको भाषामा भारतमा दसहरा र नेपालमा दशैँको नामले जानिन्छ । अधिकांश हिन्दूहरूले मनाउने पर्वहरू ऐतिहासिक घटनाहरूसँग जोडिएका छन् । त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । हामीले मनाउने बडादशैँको निम्नानुसारको ऐतिहासिक, आध्यात्मिक र सामाजिक महत्व रहेको छ ।
बडादशैँको आध्यात्मिक महत्व
पञ्चमहाभूत (पृथ्वी, जल, तेज, वायु, आकाश) को संयोजनबाट बनेको शरीरमा पाँचवटा कर्मेन्द्रीय, पाँचवटा ज्ञानेन्द्रीय र एक सूक्ष्म इन्द्रीय गरी जम्मा एघार इन्द्रीय रहेका हुन्छन् । मानवले मन लागेको कर्म गर्छ, तर मन इन्द्रीयको वशमा हुन्छ । मीठो खाने, राम्रो लाउने, ऐशआराम गर्न खोज्नु यसको स्वभाव हो । मानवको जीवनचक्र कर्म र फलमा नियमित हुन्छ । कर्म र फल केही हदसम्म उसले लिने आहारसँग जोडिएको हुन्छ । भनिन्छ, जस्तो आहार त्यस्तै विचार, जस्तो विचार त्यस्तै व्यवहार, जस्तो व्यवहार त्यस्तै कर्म, जस्तो कर्म त्यस्तै फल । तसर्थ आहार परोक्ष रूपमा फलसँग जोडिएको हुन्छ । आत्मानुभूति गराउने प्रथम दश दिनको समय निकै महत्वपूर्ण रहने गर्दछ । यो नै मुख्य आधार वा जग हो । यस अवधिमा साकाहारीवर्गभित्र पर्ने सात्विक आहार मात्र ग्रहण गर्नुपर्दछ । वर्जय दश इन्द्रीयबाट अपभ्रंश र सङ्क्षिप्त रूप बडादशईं हुँदै बडादशैँ भएको हुन सक्दछ । दश दिनको प्रयासमा दश इन्द्रीयहरूलाई शान्त बनाउँदै ११औँ इन्द्रीयलाई प्रबल बनाएर एकादशीको दिनमा अल्पहार गरी ध्यान बस्ने र चन्द्रमाको वृद्धिसँगै आत्मासाक्षात्कारको बाटोमा अघि बढ्नु नै बडादशैँको आध्यात्मिक महत्व हो ।

बडादशैँको सामाजिक महत्व
नेपालमा मनाइने दशैँको आफ्नै मौलिकता छ । जसको सम्बन्ध हाम्रो सामाजिक परिवेशसँग जोडिएको छ । नेपालमा मनाइने दशैँ विशेष परिस्थितिको सिर्जना हो । नेपाल स–साना राज्यमा छरिएर रहेको समयमा छिमेकी राज्यहरूमा स–साना कुरामा समेत जुँगाको लडाइँ भइरहन्थ्यो । समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न विशेष तालिमप्राप्त दस्ता थिएनन् । समाजमा कुनै आपत्विपत् आइपरेमा गाउँमा रहेको कटवालले हाँक लगाई उर्दी जारी गर्दथ्यो । सोहीअनुसारको काम गर्नयोग्य युवायुवती भेला भई परिआएको काम फत्ते गर्ने चलन थियो । कसैसँग युद्ध गर्नुपरेमा उनीहरूले आ–आफ्नो घरमा भएका हातहतियार लिएर जम्मा हुन्थे । त्यसप्रकारको लडाकु दस्तालाई एक–आपसमा कसरी समन्वय गरी लडाइँ गर्ने भन्ने निश्चित तालिम थिएन । समयको मागसँगै यी युवालाई प्रत्येक वर्षको एकपटक अनुकूल समयमा पन्ध्रदिने युद्धकलासम्बन्धी तालिम दिइने व्यवस्था मिलाइयो । प्रतिरक्षाका लागि बनाइने दुर्ग वा कोतको स्थान अग्लो ठाउँमा छानिन्थ्यो । हातहतियार वा खरखजना सुरक्षित तरिकाले राखिने स्थानलाई कोत भनिन्छ ।
बडादशैँको ऐतिहासिक महत्व
रावणले गरेको घोर तपको फलस्वरूप मृत्युन्जयको वरदान पाएपश्चात् आफू अजर, अमर र अजेय भएको घमण्डले अहङ्कारी हुन पुग्यो । एकपटकमा दशवटासम्म टाउको सिर्जना गर्न सक्ने सिद्धि प्राप्त गरेको रावणलाई मार्न असम्भवप्रायः नै थियो । अनन्तकालसम्म राज्य भोग गर्ने इच्छाले प्रसस्त धन आर्जन गरेको रावणले आफ्नो दरबार सुनको इँटाले बनाएको थियो भनेर भनिन्छ । पृथ्वीमा जन्मेको जो–कोहीले पनि आफ्नो आयु पूरा गरेपश्चात् मर्नैपर्छ । तसर्थ, सृष्टिनियमको पालना हेतु अहंकारी रावणको अन्त्य आवश्यक थियो र उसको बध गर्न सदाशिवले भगवान् विष्णुको सहायता लिनुप¥यो । नाटक मञ्चन भयो, युद्ध भयो । सात दिनको युद्धमा दश शिरवाला रावणको हार भयो । यसको सङ्क्षिप्त रूप दसहरा बन्न पुग्यो । यही ऐतिहासिक घटनालाई सम्झिनका निम्ति हरेक वर्ष दसहरा वा दशैँ मनाइँदै आएको छ । नेपालमा मनाइने दशैँ र भारतमा मनाइने दसहराको प्रकृति केही फरक रहेको छ ।

बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो। दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ ।यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो ।यहाँ दशैंको प्रमुख चार दिनको चर्चा गरिएको छ ।
महासप्तमी
नवरात्रिको सातौं दिन फूलपाती हो। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घर  घरमा भित्र्याइन्छ।
वर्षा ऋतु सिद्धिएर शरद ऋतु को स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश -भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहदैनन् भन्ने धार्मिक तथा साँस्कृतिक मान्यता रहिआएको छ।यस दिन सदर टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ।
महाष्टमी
नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली -भद्रकालीको विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली (करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको छ। पूजापश्चात्  मानिसहरू नवदुर्गा ,आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिन्छ्न्।  शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ।
महानवमी
नवरात्रिको नवौ दिन महानवमीमा  विशेष गरी सिद्धिधात्री  देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु  भन्ने हुन्छ।  नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुणहरू हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणहरुको त्याग गर्दै आएकोमा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मान्दै  बलि चढाउँने चलन आएको मानिन्छ ।
विजया दशमी
नवरात्रिको दशौ दिनलाई विजयादशमी भनिन्छ।आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ। यो दशैंको खास दिन हो ।
यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । यस दिन घर घरमा सबैभन्दा पाको र जानकार ब्यक्तिले सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीहरु तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरुलाई चढाइ आरती र पुष्पाञ्जलि गर्ने गरिन्छ ।यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ ।
दशैंको आर्शिवाद:
आशिष अर्थात आर्शिवाद । आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा ।
दशैंमा अक्सर आफुभन्दा ठूला, मान्यजनबाट टिका लगाएर आशिर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरुले आफुभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो यो ।
दशैंको टीका:

दशैंमा  आफुभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा  टिका थापिन्छ।  यसरी मान्यजनले आशिष दिदै लगाइदिने टिकाको पनि निकै अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ ।  यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ।  टिका जसलाई अक्षता पनि भनिन्छ । गाईको दुधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टिका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुबै आँखीभौंको माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ । आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो । यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ ।
दशैंको जमरा:
दशैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा  टीका थाप्नेको टोपी भित्र,टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिदै राखिन्छ । जमरा राख्ने यसको आफ्नै खास विधि छ ।मन्त्र छ।अँध्यारो स्थान, जहाँ सूर्यको प्रकास आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।
धर्मशास्त्रहरुले यसलाई समृद्धिको प्रतीक मानिएका छन् । संस्कृतमा यव भनिने जौको जमरा खासमा भन्ने हो भने पौष्टिक खाद्यपदार्थ हो । जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधी मानिन्छ । यसमा कार्बोहाइड्रेड, प्रोटिन र भिटामिनहरु पाइन्छ । जमरा वा यसको रस निकै स्वास्थ्यबर्द्धक मानिन्छ ।
दशैंको दक्षिणा:
दशैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन; वा द्रब्य नै दक्षिणा हो।बिजयदशमीको दिन आ- आफ्नो गच्छे अनुसार मान्यजनबाट टीका लगाइसकेपछी दक्षिणा दिने गरिन्छ ।
सुख,शान्ती ,शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु भनेको लक्ष्मीलाई भित्राउनु हो भन्ने आम बिश्वास छ । र त्यस्तो दक्षिणा खर्च नगरी राख्ने गरेको पनि पाइन्छ ।
बास्तबमा वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम को काल थियो ।  त्यहिबाट दशैंको शुरुवात भयो। बडादशैं सनातन परम्परा, संस्कार -संस्कृति, धर्म, आस्था र बिश्वाससँग जोडिएको बिषयमात्र नभएर अव यसको बैज्ञानिक महत्वको बिषय पनि  रहेको पुष्टि भएको छ। यो समाजबिज्ञान,मनोबिज्ञान र ब्यवहार बिज्ञानसँग निकट रहेको छ ।

यो पर्व आडम्बरी, खोक्रो, मूल्यहिन हुँदै होइन्। तर आजको समयमा दशैँ मनाउने चलनमा निकै परिवर्तन आइसकेको छ । वास्तविकता र मौलिकताबाट टाढा हुँदै गएको संस्कृति विकृतिको रूपमा देखापरेको भान हुन्छ । समयको परिवर्तनसँगै यसको मौलिकतामा केही परिवर्तन आउनु स्वाभाविक हो । तर, परिवर्तन विकृत रूपमा भन्दा परिस्कृतको रूपमा भएमा प्रकृति, प्राणी र समाज सबैको भलाइ हुने कुरामा कसैको दुईमत नहोला । यो धार्मिक,सामाजिक सांस्कृतिक र बैज्ञानिक महत्व र मूल्यको पर्व हो । कुनै पनि चाडपर्व मनाउनु भनेको धर्मलाई निर्वाह गर्दै पुण्य कमाउनका लागि हो । तर पर्व मनाउँदा त्यसको वास्तविक मूल्य बुझेर,यथार्थ विधि पद्धति अनुसार निष्ठावान तरिकाले मनाउँनुपर्छ भन्ने कुरा पक्का हेका होस् । किनकी साधना नगरी फल त्यसै पाइन्न ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ भन्ने शास्त्रको सारांशले कसरी मनाइएको चाडपर्व मात्र फलदायी हुन्छ भनेर प्रस्ट पारेको हुन्छ । यस तर्फ सबैको ध्यान जाओस।

Facebook Comment

छुटाउनुभयो कि?