पर्यटन बजार१३ कार्तिक २०७८, शनिबार मा प्रकाशित
कात्तिक १३,काठमाडौं । घरघरसँग अनि मनमनसँग भावनात्मक नाता जोडिएको पेय पदार्थ हो चिया। बिहान बिस्तराबाट उठिसकेपछि सबैले सम्झने भनेको चिया नै हुनुपर्छ । चाहे त्यो कालो होला, सेतो होला, हरियो होला वा तातो पानी मात्र होला, वा कफीको लत भएकाहरूले पिउने चियाको साटो होला । अझ हामीमध्ये धेरैको उठ्नुभन्दा अगाडि अल्छी गरेर बस्नु परेमा, चिया बनाइदिने कोही भए, बेड टिको रूपमा पिउने बानी पनि छ । कसैसँग भेट्नुपर्दा चिया पिउने ठाउँमा वा समयमा भेटौँ न भनेर पेटभरि चियासँगै नास्ता गर्नेहरू पनि प्रशस्तै हुन्छन् ।
फोन, भेटघाट होस् या आतिथ्यता पहिले चिया नै सोधिने हुनाले विगत केही समय यता नेपालमा पनि चियाको प्रचलन ह्वात्तै बढेको देख्न पाइन्छ। पहिले पहिले चोक र गल्लीका केही साँघुरा स्थानमा मात्र भेटिने चिया पसल अहिले फराकिएर चिया क्याफे, चिया लाउन्ज, चिया बार बन्न थालेका छन् जुन सदाबहार चियासँगै ग्राहकहरूसँग चियाजस्तै मिठो नाता जोड्न व्यस्त देखिन्छन् । त्यस्तै एक ठाउँ हो धुम्बाराहीमा रहेको ‘चियावाली’ जहाँ चियाको पारखीहरूले आफ्नो स्वास्थ्यको मध्यनजर गर्दै एक खाले मात्र नभई धेरै प्रकारको चियाको स्वाद लिन सक्छन्।
चियाका फरकखाले स्वाद पस्कँदै आइरहेको चियावाली पछिल्लो समय कोरोना कहरबिचमै पनि नेपाली ग्राहकहरूको लोकप्रिय बन्न पुगेको छ। सफा,सुन्दर, शान्त वातावरण भएको भयको यस स्थानमा पुग्ने बित्तिकै चियाका विभिन्न प्रकारहरू, चियाका विभिन्न खाले कपहरू, चिया राख्ने कित्लीका भेराइटिजलाई कलात्मक ढङ्गले सजाएको दृश्य साँच्चै मनमोहक देखिन्छ।
अझै चियावालीको चिया टिप्दै गरेको तस्बिरहरूले सुनमा सुगन्ध थपेको छ। साँच्चै भन्दा चिया पारखीहरूको लागि यो सजावटले मनै लोभ्याउँछ। विशेष आफ्नो ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर अपनाइएका मापदण्ड, ग्राहकको स्वादलाई ख्याल गर्दै चिया पस्कने शैली अन्य स्थानमा भन्दा लोभलाग्दो छ।
उसो त ‘चियावाली’ले सबै खाले पर्यटक र चिया/कफी पारखीहरूको लागि आफ्नो स्वाद पस्कँदै आइरहेको छ। नेपालको पहिलो चिया बार जसले रोडोरेण्डन टी, मिण्ट टी,ब्लाक टी, मिल्क टी, ग्रीन टी, पर्ल ग्रीन टी, प्रिमियम टी लगायत भिन्न भिन्न ३० प्रकार भन्दा बढी स्वादको चिया वितरण गर्दै आइरहेको छ। प्रोसेष्ड र नन् प्रोसेष्ड चिया सँगै कफीहरू खाने र लैजाने सुविधा पनि उपलब्ध छ।
म आफैँ पनि चियाको सौखिन मान्छे ! इलाममा जन्मिएकी म सानै बाट चियाको छायामा हुर्के। सेरोफेरो नै चिया भएपछि चियाको बारेमा थाह नहुने कुरा भएन। चियाको हरेक मुना सँग, रङ्ग सँग मेरो बाल्यकालको मिठो याद घोलिएको छ । त्यसैले होला मैले चिया भन्दा पर रहेर अरू व्यवसाय अङ्गाल्नै सकिन। चिया नै रोजे व्यवसायमा ‘भावनात्मक रूपमा जोडिएको व्यवसायमा अरू व्यवसायमा भन्दा सफल हुने सम्भावना धेरै हुने रहिछ’- सञ्चालिका ज्योति दाहाल भन्छिन्।
मैले यहीबाट थाहा पाए कि चियाको म भन्दा धेरै सौखिन मान्छेहरू पनि रहेछन्। ठमेलमा हुँदा प्राय विदेशी ग्राहकहरू धेरै हुन्थे तर अहिले धुम्बाराहीमा सरेपछि नेपाली मान्छेहरूको बाक्लै उपस्थिति हेर्दा लाग्छ नेपालमा पनि यति धेरै चिया पारखीहरू रहेछन् । सायद यो लकडाउनको समयले गुम्सिएका मानिसहरू बाहिर निस्कनको लागि मात्र बहाना चाहन्छन्। त्यसैले त चियाकै बहानाले भए पनि बाहिर निस्किएका छन्।
चिया पिउन आउने हरेक ग्राहकहरूको आफ्नो बेग्लै बेग्लै कथाहरू छन् । सफलता, विफलता, हर्ष र आँसुको। सबै खाले संवेदनाको एउटै माग हुन्छ ‘चिया’ ! चियाको अन्तिम घुट्की सम्म पुग्दा हाम्रो ग्राहक पात्रहरू नाफा र घाटको समिश्रण नै असल जिन्दगी रहेछ भन्नेमा मत हुँदैनन्। यही चियालाई माध्यम बनाएर उनीहरूको परिस्थितिमा ‘चिया’ लेप लगाउन पाउँदा खुसी छौ। हामीले वहाँहरूलाई कोरोना सँगै लिभिङ्ग टुगेदरमा बाच्न राम्रो प्लेटफर्म तयार गर्दिएको रहेछौ भन्ने सोचेर खुसी लाग्छ उनी थप्छिन्।
चिया भन्ने बित्तिकै धेरै मान्छेहरूले चाहना हुँदाहुँदै पनि स्वास्थ्यको कारणले नाक खुम्च्याउने गरेको देख्न पाइन्छ। धेरै मान्छेहरू अरूको लहै लहैमा लागेर पनि चियाले असर गर्छ भन्दै नखाने पनि छन् तर जानेर बुझेर चिया खायो भने हाम्रो शरीरलाई क्लिन र फ्रेस राख्न मद्दत गर्छ भन्ने कुराहरू थाहा नै छैन।
मन भरि चिया खाने चाहाना हुँदा हुँदै पनि आफ्नो शरीरले नसहेको गुनासो पोख्नेहरूको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर सञ्चालन गरिएको यस स्थानमा सुगर, प्रेसर, ग्यास्ट्रिक भएकाहरूको लागि विशेष प्रकारका चियाहरू उपलब्ध छन्। ‘चियावाली’मा सामान्य चिया देखि उत्कृष्ट र गुणस्तरीय स्तरका चिया पाइन्छ भने चियाका लागि प्रयोग हुने विभिन्न ‘टी पट” र आकर्षक गिफ्ट ह्याम्पर समेत खरिद गर्न सकिन्छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit