नेपालको पर्यटन श्रमिक आन्दोलन र यसको इतिहास !

पर्यटन बजार१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

नेपालको पर्यटन श्रमिक आन्दोलन र यसको इतिहास !

मंसिर १४,काठमाडौं । क्रूर राणा शासन काल अर्थात् बि.स. २००३ बाटै नेपालमा श्रमिक आन्दोलनको सुरुवात भएको इतिहास पढ्न पाइन्छ । बि.सं. २०१० जेठ १७ अर्थात्  सन १९५३ मे  २९ को दिनमा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन हिलारीले विश्वको सर्वोच्च शिखरको सफल आरोहण गरे पछि मात्र नेपालको पर्वतीय पर्यटन सम्बन्धी अलि बढी चर्चा भएको पाइन्छ ।
बि.सं.२०१० पछि तीव्र गतिमा पर्यटकीय गतिविधि बढेपनी नेपालको पर्यटन श्रमिक आन्दोलनको गतिविधि भने धेरै पछिबाट सुरु भएको थियो । बि.सं. २०३९ सालसम्म पनि नेपालमा पर्वतीय पर्यटन श्रमिकहरू सङ्गठित हुन पनि सकेका थिएनन् । त्यस समयसम्म पर्वतीय पर्यटन क्षेत्रका कामदारहरू आन्दोलन, हडताल गर्न पुग्ने गरी एकीकृत हुन सकेका थिएनन् र गर्न सक्ने अवस्था पनि थिएन होला । पर्यटन श्रमिकहरू पञ्चायती शासन कालको विभिन्न शोषण दमन सहेर काम गर्नु पर्ने बाध्यताको सामना गरी रहेका थिए ।

समय परिवर्तनशील हुन्छ, त्यो कटु सत्य हो, त्यस्तै बि.सं.२०४० साल वैशाख १ गतेको दिन भने नेपालको पर्वतीय पर्यटन क्षेत्रका कामदारहरूको निम्ति एक ऐतिहासिक दिन बन्न पुग्यो । हो त्यही दिन नेपालको इतिहासमै पहिलो पटक पर्वतीय पर्यटनका कामदारहरू एक भए । आफ्नो हक अधिकारको निम्ति आवाज बुलन्द गर्ने निर्णय गरे । फलस्वरूप ट्रेकिङ मजदुर सङ्घ नेपालको स्थापना भयो । त्यस पछि  बिस्तारै पर्वतीय पर्यटनका कामदारहरूलाई गोलबन्द गर्दै अघि बढ्न थाले ।

समयको मागअनुसार पञ्चायत कालमै बि.सं.२०४६ सालमा ट्रेकिङ मजदुर सङ्घ नेपालका तत्कालीन अध्यक्ष  दोर्जे सुशील शेर्पाले हङकङबाट ४७ सूत्रीय माग तत्कालीन नेपालको सरकार समक्ष राखेर नेपालको पर्वतीय पर्यटन ठप्प पारे । बि.सं. २०४६÷४७ को जनआन्दोलनमा सशक्त भूमिका खेले, त्यस पछि प्रजातन्त्रको पुनः स्थापना भयो ।

बि.सं.२०४९ मा तत्कालीन सरकारले ट्रेड युनियन ऐन ल्यायो । सोही ऐनमा अनुसार श्रम विभागमा ट्रेकिङ मजदुर सङ्घलाई दर्ता गरे । समयको माग अनुसार आफ्नो कार्यक्षेत्र बढाए, त्यही ट्रेकिङ मजदुर सङ्घ यतिबेलाको राजनीतिक दलको भातृसंगठनको अस्तित्वमा छ ।

नेपालको पर्यटन श्रमिक आन्दोलनको विकास क्रम, भत्किँदो अवस्था 

दस बर्षे जनयुद्ध र ०६२÷६३ को जनआन्दोलनको समाप्ति सङ्गै देशमा लोकतान्त्रिक गणतन्त्रको आगमन भयो । अनगिन्ती राजनीतिक दलहरूको विकास भयो । पेसागत ट्रेड युनियनहरु पनि राजनीतिक दलको भातृसंगठनको रूपमा रूपान्तरण भए । राजनीतिक दल पिच्छेका पेसागत ट्रेड युनियन सङ्घ र महासङ्घ बन्न थाले । त्यस्तो गतिविधिबाट पर्यटन श्रमिकहरू पनि अछुतो रहन सकेनन् । समयको माग अनुसार कहिले तीन वटा त कहिले ४  हुँदै कहिले ५ वटासम्म पर्यटन श्रमिक नामको ट्रेड युनियन बन्ने र हराउने गतिविधि अहिलेसम्म पनि यथावत् छन् ।
जब ट्रेड युनियनहरूमा माथिल्लो तहका नेताहरू हाबी भएर निर्देशन दिन थाले, तब श्रमिकहरूको जीवनस्तर रूपान्तरण गर्ने कसम खाएका ट्रेड युनियनका नेताहरू बिस्तार बिस्तार आफै रूपान्तरण हुन थाले । श्रमिकहरूको आँखा छल्दै व्यवसायीहरू सँगको उठबस बढाउन थाले । श्रमिकमुखी नारा र मुद्दा उग्र रूपमा उचाल्ने तर सम्झौता व्यवसायीमुखी गर्ने जस्ता हर्कत बढाउन थाले । हुदाँहुदै श्रमिक पक्षीय ट्रेड युनियन भन्ने तर व्यवसायीका प्रतिनिधिहरू युनियनको कार्यकारी पदमा बस्नेसम्मको गतिविधि अत्याधिक रूपमा वृद्धि हुँदै गयो र अहिलेसम्म पनि छ । अहिलेको प्राय सबै राजनितिक दलका भातृसंगठन बनेका पर्यटन श्रमिक युनियनहरूमा व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूले नेतृत्व गरिरहेका छन् ।

समय सापेक्ष श्रमिकहरूमा पनि चेतनाको बिस्तार हुँदै गयो । केही नेपाली श्रमिक युनियनहरू अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घहरूको सदस्य बन्न थाले । अन्तर्राष्ट्रिय श्रम आन्दोलनको अध्ययन बढ्न थाल्यो । अन्तर्राष्ट्रिय ट्रेड युनियन सङ्घ र  महासङ्घहरूको नजर नेपालका ट्रेड युनियन सङ्घ र महासङ्घ माथी पर्न थाल्यो । तिनै अन्तर्राष्ट्रिय ट्रेड युनियन सङ्घ र महासङ्घहरूले  नेपालका श्रमिकहरूमा चेतनाको विकास गर्दै सङ्गठित गर्ने उदेश्य लिन थाले र केही लगानी गर्न थाले । नेपाली ट्रेड युनियनहरू भने विभिन्न कार्यक्रम गरेर सदस्य बिस्तार गर्न पाएकोमा मख्ख नपर्ने कुरै भएन । त्यही प्रशिक्षणबाट प्रशिक्षित भएका श्रमिकहरूले आफ्नो आवाज बुलन्द गर्ने तरिका बिस्तारै बदल्दै गए र आफ्नो नेतृत्वलाई घचघच्याउन थाले, दबाब दिन थाले । तर आफ्नै शाषण प्रणालिमा चुर्लुम्म डुबेका राजनीतिक दलका भातृसंगठनका नेतृत्वकर्ता पत्तो पाउन सकेनन् ।

एकातिर यसरी श्रमिकहरू सचेत हुँदै गएका छन् भने अर्कातिर श्रमिक नेताहरूले व्यवसायीहरू सँगको उठबसमा कमी ल्याउन सकेका छैन । अहिले पनि श्रमिक नेताहरू श्रमिकको भन्दा बढी व्यवसायीको भाषा प्रयोग गर्ने गर्छन् । व्यवसायीको हकहितको कुरा गर्छन् र अन्त्यमा भन्छन् व्यवसाय र व्यवसायी नरहे कसरी श्रमिक रहन सकिन्छन् । त्यस कारण पर्वतीय पर्यटनका अधिकांश श्रमिकहरूले कामदार हक अधिकारको आवाज ट्रेड युनियनहरूले बुलन्द गर्ने नसकेको बताउन थालेका छन् । त्यही कारण श्रमिकहरूले आफ्नो सदस्यता नवीकरण गर्न छोडेर युनियनबाट बाहिरिन थालेका छन् ।

कामदारहरूमा राजनीतिक दलीय ट्रेड युनियन प्रति वितृष्णा बढ्न थालेको छ । प्राय पर्यटन श्रमिक युनियनमा १०० देखि  २०० भन्दा माथि सदस्य भेटाउन मुस्किल पर्छ भने आवश्यक परेको समयमा ५० जना श्रमिक सडकमा उतारेर आन्दोलन गर्न सक्ने क्षमता गुमाइ सकेका छन् ।

कोरोना महामारीको कारण पर्यटन श्रमिकको अवस्था

विश्वको पर्यटन गतिविधि २२ महिना देखि ठप्प छ, यसबाट नेपाल पनि अछुतो रहन सकेन । पर्यटन क्षेत्रका कामदार बेरोजगार छन्, अबको २÷४ महिना पछि पर्यटन श्रमिकहरू के लाउने के खाने पुग्ने अवस्थामा छ । यति सम्मको अवस्थामा पुग्दा पनि सरकारले पर्यटन श्रमिकहरूको निम्ति दीर्घकालीन जीवन यापनको विकल्प दिन सकेको छैन ।

यस्तो अवस्थामा ट्रेड युनियनहरूले सरकार, व्यवसायी र श्रमिकहरूको बिचमा समन्वयकारी भूमिका खेल्न सकेका छैनन् । राजनीतिक दलका भातृसंगठन बनेका ट्रेड युनियनहरूले आम श्रमिकहरूप्रतिको विश्वास गुमाउँदा नेपालको ट्रेड युनियन आन्दोलन थप धरापमा पर्ने देखिन्छ । जसको कारण समग्र पर्यटन श्रमिश्रमिकहरूको बेहाल हुने अवस्था सिर्जना भएको छ ।

अबको विकल्प के हुन आवश्यक छ ?

चरम भ्रष्टाचारमा डुबेका राजनीतिक दलका भातृसंगठन बनेका ट्रेड युनियनहरूले नेपालको पर्यटन श्रमिक आन्दोलनलाई थप उचाइमा पुर्याउन सक्दैनन । नेपालको पर्यटन श्रमिक आन्दोलनलाई थप उचाइ पुर्याउन अबको अन्तिम विकल्प भनेको ट्रेड युनियन आन्दोलनलाई स्वतन्त्र वा  राजनीतिक दल मुक्त बनाउनु हो । पुराना ट्रेड युनियनहरूलाई यो लयमा फर्काउन सम्भव देखिँदैन । त्यसको कारण आम पर्यटन श्रमिकहरू नयाँ बनेका पर्यटन क्षेत्रका स्वतन्त्र ट्रेड युनियनले नेतृत्व गरेको आन्दोलन होमिनुको विकल्प छैन ।

राम काजी तिवारी “प्रयास”
अध्यक्ष, नेपाल स्वतन्त्र पर्यटन श्रमिक सङ्घ (निटोग)

Facebook Comment

छुटाउनुभयो कि?