सगरमाथा यात्रामा हराएको २८ दिन

पर्यटन बजार२५ पुष २०७८, आईतवार मा प्रकाशित

सगरमाथा यात्रामा हराएको २८ दिन

संगीता भट्टराई , पुष २५ काठमाडौँ।
सोलुखुम्बुको सोताङ गाउँपालिकाको सुस्ला भन्ने ठाउँमा जन्मिएका अशोक तामाङ अति सामान्य परिवारमा हुर्किएका हुन्। सामान्य परिवारमा जन्मिएकै कारण गाउँमा घाँस दाउरा, हलो कोदालो गर्दै उनको बाल्यकाल बित्यो । पढ्न, लेख्न तीव्र इच्छा हुँदाहुँदै पनि न त त्यहाँ कुनै स्कुल थियो न त भएरै पनि पढ्न पाउने अवस्था थियो। बाबा आमालाई उनको पढाईको भन्दा धेरै पेट भर्दिनको लागि गर्ने सङ्घर्ष ठुलो थियो। उनको काम आमा बुबा घरमा नहुँदा घरको रेखदेख गर्ने घरमा भएका गाई बस्तुलाई घाँस काट्ने, चराउन लैजाने र आफूले सके जति बाबा आमालाई बाहिरको काम सघाउन जाने हुन्थ्यो। धेरै अभाव नै अभावमा हुर्किएका उनले जीवनमा आफ्नो धेरै इच्छाहरूको त्याग गर्नुपर्छ भन्ने भाव जीवनको पूर्वार्द्ध मै सिकिसकेको थिए। यो अवस्थामा उनलेकसरी पाठशाला जाने कुरा सोच्न सक्थे र ?

‘लेकका हामी केटाकेटी कुहिरो भित्र स्कुल छ चौँरीलाई चराउँदै दिन बित्छ पढ्न र लेख्न मुस्किल छ’ ठ्याक्कै यही गीत जस्तै बाल्यकाल थियो उनको।तर स्कुल नै जान नपाए पनि उनले धेरै कुराहरू सोलुखुम्बुमै पढ्न जाने। गोठालोमा गाईबस्तुको सङ्ख्या गनेर गणित सिके, त्यही समाज हेरेर सामाजिक शिक्षा पढे, घाँसपात र पशुपालन गर्दै विज्ञान सिके।

पर्यटन क्षेत्रमा कदम राख्दा
सोलुखुम्बु आफैमा पनि पर्यटकीय क्षेत्र। यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छ। यस जिल्लालाई पर्यटकहरूको साङ्ग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधैँ आकर्षित गरिरहेको पाइन्छ। त्यसैले होला सो क्षेत्रको महत्त्व बुझ्नेहरू उनि सानो उमेरको हुँदा देखिनै त्यहाँ पुग्ने गरेका थिए। अशोकलाई उनीहरूको जीवन, स्वतन्त्रता, र निडर व्यक्तित्वले सानै हुँदा नै आकर्षण नगरेको होइन तर चाहेर पनि अशोक उनीहरू जस्तो बन्न सक्दैन थिए। उनको घरको पारिवारिक स्थिति र आर्थिक अवस्था सुधार गर्नुपर्ने एउटा दायित्व छोरा भएको कारणले उनको काँधमा थियो। त्यसैले पैसा कमाउनकै निमित्त काठमाडौँ आए उनि। सुरु सुरुमा घरबाट टाढाको जीवन सकस पूर्ण रह्यो। आफ्नो घर, वातावरण र आमाको यादले निदाउन दिएन धेरै दिनसम्म , तर पछि पछि बिस्तारै बानी पर्‍यो। यही उनले पर्यटन क्षेत्र संग सोलुखुम्बुमा भन्दा धेरै नजिक भएर काम गर्ने मौका पाए। पहिलो पटक सन् १९९८ मा भरियाको रूपमा पर्यटनमा प्रवेश गरे।

दुखको पेसो

“झट्ट हेर्दा पर्यटन क्षेत्र राम्रो देखिए पनि भरिया बनेर काम गर्नेहरूको अनुभव मिठो भने हुँदैन रहेछ। आफ्नो ज्यान भन्दा ठुलो तौलको भारी बोकेर अप्ठ्यारा ठाउँहरूमा पुग्दा सास मात्र पुग्थ्यो कहिले काहीँ त।दिनभरिको सुख सम्झँदा यस्तो दुखको पेसो नि अँगाल्नु जस्तो भावना उब्जिन्थ्यो तर कमाई राम्रो भएको हुनाले दुखैमा पनि रमाउने बानी पर्दै गयो ,उनी हाँस्दै बताउँछन् । “

लगभग दुई वर्ष भरियाको रूपमा काम गरिसकेपछि उनले पर्यटन क्षेत्रमै अरू कामहरू पनि गर्न थाले, त्यतिकैमा पथप्रदर्शक तालिमहरू लिने र भाषा सिक्ने काम गरे। स्कुल समेत राम्रो सँग नगएका उनि एक्कै पटक अङ्ग्रेजी भाषा सिक्न पुग्दा कहाँ आए कहाँ जस्तो भएको थियो तर आफ्नो तीव्र इच्छाशक्तिको कारण अङ्ग्रेजी सिक्न सफल भएको उनि बताउँछन्। साथै पछि पछि हिन्दी र टिबेटियन पनि सिके। आँट्यो भने गर्न नसकिने केही रहेनछ भन्ने अशोकलाई लाग्यो ।


सपनाको अर्को तला
पर्यटन क्षेत्रमा प्रवेश गरेपछि त्यहाँको कतिपय नीति नियमहरू हेपाहा प्रवृत्तिको थियो भने कुनै पनि पर्यटन क्षेत्रहरू सङ्गठित थिएनन्। यसैको कारण कतिपय जायज मागहरूको पनि आवाज उठाउने संस्थाहरू थिएनन्। यही कमिलाइ मध्यनजर गर्दै पथप्रदर्शकहरूलाई सङ्गठित बनाउन मन लाग्यो उनलाई । केही साथीहरू बिचमा छलफल गरी २०६७ सालमा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपाल (निगाट)को स्थापना भयो । उनी निगाटको संस्थापक सदस्य समेत हुन् भने एक कार्यकाल पदाधिकारी भित्र रहेर काम गरेको अनुभव पनि छ उनी सँग। भनिन्छ नि मान्छेलाई जति भयो उति धेरै आवश्यकता र चाहानाहरूले घर बनाउँछ भनेर ठ्याक्कै त्यस्तै भयो उनलाई। अब उनको इच्छा पर्वतारोहण क्षेत्रमा बढ्न थाल्यो ,त्यो पनि सगरमाथा । ६००० मिटरका धेरै हिमालहरूमा पुगिसकेको उनलाई स्वास्थ्य क्षेत्रबाट अवरोध आउने कुरै थिएन। त्यसैले इच्छालाई वास्तविकता बनाउन सन् २०१२ बाट निरन्तर उच्च पर्वतारोहण सम्बन्धी फरक फरक ६ थरिका तालिमहरू सुरु गर्न थाले। तालिमकै क्रममा पर्वतारोहण पथ प्रदर्शक आङफुर्वा शेर्पा सँग भेट भयो। जसले धेरै पटक सगरमाथा आरोहण गरिसक्नुभएको थियो । २०१८ मा आङफुर्वा शेर्पालाई नै यस पटक सगरमाथा आरोहणमा काम मिलाई दिन अनुरोध गरे । उहाँकै सिफारिसमा मैले काम पाए। त्यही सिलसिलामा हामी लाग्यौ सगरमाथाको आधार शिविर तिर। मेरो जीवनको सबैभन्दा ठुलो सपना थियो सगरमाथा। आफ्नो सपनाको शिखर र विश्वकै उच्च स्थानमा पाइला राख्न अघि बढ्दा मन नै फुरुङ्ग भएको अनुभव मिठो छ उनको।

जीवन र मृत्युबिचको लडाई
म पहिलो पटक सगरमाथाको चुचुरो टेक्नकै लागी भनेर सगरमाथा आधार शिविर पुगेको थिए। सधैँ भन्दा फरक खालको उमङ्ग महसुस गरिरहेको थिए मैले। आफ्नो समूहको लागि क्याम्प आधार शिविर लगभग २ हप्तामा सकियो। मेरो ठाउँमा अरू मान्छे भएको भए त्यति काम गर्दा नै थाकेर अन्य काम गर्न नसक्ने भईसक्ने थियो होला तर उनले आफ्नो पहिलो सगरमाथाको टोलीलाई आफूमाथि कामलाई लिएर कुनै पनि प्रकारको प्रश्न नउब्जियोस् भनेर आराम भन्दा धेरै काममा ध्यान दिइरहे। आफूले पाएको जिम्मेवारी पुरा गर्न कुनै पनि प्रकारको दबाब अनुभव नगरी लागिरहे । सुरुवाती चरणमा कामको चापले थाकेको थिए उनि । आधार शिविरबाट १४ पटक दोस्रो आधार शिविर गएका थिए । त्यो दिन सगरमाथाको दोस्रो आधार शिविरबाट चौथो शिविरमा ग्याँस, पाल लगायतका समान पुर्‍याउन गए । “अरू दिन पनि हिँडेकै बाटो हो, सम्झेकै ठाउँ हुन । अहिले पनि त्यो दिन सम्झन अनेक प्रयास गर्छु तर याद गर्नै सक्दिन । त्यो दिन बिहान कति बजे हिँडे । के खाएँ ? कहाँ खाएँ ? खाएँ कि खाइनँ ? केही पनि याद छैन । त्यसको कारण थियो सदा झैँ हिँडेर दोस्रो आधार शिविर नै फर्कन सकिन छु । म त बिच बाटोमै दुर्घटनामा पो परेछु , अशोक भन्छन्। “

२८ दिनपछि बिउँझँदा
सगरमाथाको चौथौँ आधार शिविमा सामान पुर्‍याउन गएका उनि बिउँझँदा त कहाँ छु कहाँ छु भनेर ठम्याउनै सकेनन। ” यसो हेर्दा नर्सहरू हिँडे जस्तो लाग्छ, अरू बिरामी पनि छन् जस्तो लाग्छ, बिरामी कुरुवा पनि छन् जस्तो लाग्छ । त्यो दिन मैले लगभग एक महिना पछि आँखा खोलेको रहेछु। जुन दिन मेरो दुर्घटना भयो त्यो २०७५ वैशाख २६ गते थियो भने मा होसमा आउँदा २०७५ ज्येष्ठ २८ गतेको दिन थियो। मलाइ कहाँ लडे, कसरि लडे, दुख्यो, दुखेन केही याद छैन। मलाई लडेकै दिन सगरमाथाको दोस्रो आधार शिविरबाट उद्धार गरी अस्पताल ल्याइएको रहेछ , उनले सुनाए। “

लगभग ८००० मिटरको चौथौँ आधार शिविमा समान पुर्याएर दोस्रो आधार शिविर फर्कने क्रममा ७७०० मिटरको उचाइबाट खसेर ६६०० मिटरको हाराहारीमा पुगेछन अशोक । त्यो पछि साथीहरूले देखाएको भिडियो हेरेर थाहा पाएको उनले सुनाए । उनि २ जना मित्रहरू( प्रेम मगर र रितेन जाङबु शेर्पा ) लाई दोस्रो जिन्दगीको भगवान् मान्छन। जसले त्यस दिन, त्यो उचाइमा उनको तुरुन्तै उद्धार गरे ।

त्यो दिन उनको लागि सौभाग्यशाली दिन पनि थियो । किनकि त्यस दिन अर्कै बिरामीको उद्धार गर्न सगरमाथाको दोस्रो आधार शिविर तिर हेलिकप्टर आएको रहेछ । उद्धार गर्नु पर्ने बिरामी भन्दा उनि सिकिस्त भएको कारण सब थोकको व्यवस्था मिलाएर अशोकलाई उद्धार गरिएछ । प्रेम मगर र रितेन जाङबु शेर्पा सहितको समूहले उद्धार गरी हेलिकप्टरमा पठाएकै कारण आज आफु जीवित बनेको उनि ठान्छन । उहाँहरू २ सहितको उद्धार समूह प्रति आजीवन ऋणी रहनेछु । सायद त्यो दिन त्यो हेलिकप्टर नभएको भए आज म यहाँ हुन्न थिए होला भाब शुन्य मुद्रामा उनी बताउँछन्।

होससँगै आँखा गुमेको क्षण
दुर्घटना भएपछि चोटपटक लाग्नु सामान्य कुरा हो। त्यो उचाइबाट लडेर पनि अझै जीवित हुनु ठुलो कुरा थियो उनको लागि। टाउकोमा हेलमेट थियो तर पनि गहिरो चोट लागेछ, अनुहार ठोकिएछ, दाँतमा समस्या भयो, अहिले पनि धेरै साह्रो कुराहरू चपाउन सक्दैनन् उनि । आँखाको नशा (अपटिक न्युरो) मा समस्या भएको कारण देब्रे आँखाको ज्योतिले काम गर्दैन । उनले आँखा परिवर्तन गर्न खोजेका पनि थिए तर आँखाको नशा (अपटिक न्युरो) काम नगर्ने भएको कारण परिवर्तन गर्न पनि नमिल्ने रहेछ । आँखाको नशा (अपटिक न्युरो) परिवर्तन गर्न मिल्छ कि मिल्दैन फेरि एक पटक चेकजाँच गर्न मन छ उनलाई ।
“मेरो उपचारमा मैले व्यक्तिगत खर्च गर्नु परेन, म आरोहणमा गएको कम्पनी हिमालयन गाइडले मेरो उपचारमा लाग्ने खर्चको सबै व्यवस्था गर्‍यो । त्यो खर्चको लागि कम्पनीले मेरो बिमा गरेको हुन्छ, त्यही बिमाबाट खर्चको सबै व्यवस्था गर्न पुग्यो होला भन्ने लागेको छ तर नपुगेको पनि हुन सक्छ । मेरो उपचारमा कुनै पनि कन्जुस्याइँ नगरी खर्च जुटाई दिनु भयो, मलाई पुर्नःजिवन दिनु भयो । पुरै तलब भत्ता दिनु भयो । उहाँहरूको म खुलेर प्रशंसा गर्छु, उनि भन्छन। “

अर्को जुनीका कुरा
“मैले आफ्नो त्यो एक महिनाको सुरुवाती क्षण सम्झन धेरै कोसिस गरे, साथीभाइहरूलाई पनि नसोधेको होइन। तर डक्टरले अझै केही दिन आराम चाहिन्छ दिमागलाई स्ट्रेस नदिनुस् भनेपछि मैले यो कुरामा जोड दिइन् । त्यसको केही हप्ता पछिसम्म पनि मेरो मस्तिष्कले राम्रो सँग काम गर्न सकेको थिएन रे ।भेट्न आएका साथीहरूसँग कुरा गर्दा पनि म त भोलि चुचुरोमा पुग्ने दिन हो , जसरी पनि जानु पर्छ भन्थे अरे । कति साथीहरूलाई त चिन्न समेत सक्दिन थिए रे । अहिले पनि केही साथीहरू त्यो कुरा गर्दै जाँदा ती पलहरूको स्मरण गराई दिनुहुन्छ । मलाई साथीहरूसँग अस्पतालमा गरेका यी कुराहरुको पनि सम्झना छैन । म आफैले भोगेर पनि याद नभएको त्यो समय सम्झँदा मैले साँच्चै दोस्रो जुनी पाएको महसुस गर्छु । तस्बिरहरू हेर्दा म कसरी बाँचे होला म आफै पनि कल्पना गर्न सक्दिन, उनी थप्छन्। ”
सपना अझै सगरमाथाकै
एउटा आँखाले राम्ररी काम नगरे पनि बिस्तारै निको हुँदै गए , पहिला भन्दा धेरै ठिक छन् अहिले उनि। दुर्घटनामा परेपछि लगभग एक डेढ वर्षको समय लाग्यो उनलाई पहिला जस्तै सामान्य अवस्थामा फर्किन। त्यो बिचमा धेरै पारिवारिक समस्याहरू पनि नआएको हैन। कमाउने एक्लो मान्छे थिए उनि तर उनकै यस्तो हालत भएपछि घरको हालत खराब हुने नै भयो। सकेसम्म समस्याको समाधान गर्दै गए । जसोतसो काम गर्न सक्ने अवस्थामा पुगेपछि कोरोना महामारीको सुरुवात भयो । समग्रमा पर्यटन उद्योग नै ठप्प भयो । “अझै पनि उद्योग सामान्य अवस्थामा फर्कन केही समय लाग्छ । पहिलाको जस्तो गाह्रो काम गर्न सक्दिन, तर एक पटक सगरमाथाको चुचुरोमा पुग्ने इच्छा छ। उनी मुस्कुराउँदै आफ्नो इच्छा जाहेर गर्छन्। ”
अन्त्यमा
आफ्नो जीवनको महत्त्वपूर्ण बर्सहरू पर्यटन क्षेत्रमा नै बिताएका अशोक कुमार तामाङ आफ्नो अबको जीवन पर्यटन क्षेत्र मानै नयाँ आयाम सहित काम गर्न चाहन्छन्। सगरमाथाको उँचाइबाट उनको शरीर जमिनमा पछारिए पनि उनको सोच र काम गर्ने क्षमता सगरमाथा भन्दा अग्लो छ। आठ हजार मिटर भन्दा होचा २५ भन्दा बढी हिमालहरूको आरोहण गरी सकेका म अबका दिनमा जुनसुकै हिमालको आधार शिविरमा बसेर आरोही समूहको व्यवस्थापन गर्न सक्छु उनी भन्छन् । यो हौसला देखेर युवा पुस्ताहरू केही कारण बस आफ्नो सपनालाई छाड्ने सोचमा हुनुहुन्छ भने अझै दृढ बनेर सपना सकार गराउन प्रेरित गर्छ भन्नेमा उनी विश्वस्त छ। दुर्घटनाको कुनै पनि याद बाँकी नभएको कुरालाई सकारात्मक पाटोमा लिन्छन् उनी। मलाई याद थियो भने म मा फेरी पनि सगरमाथाको तयारी गर्ने आट आउँदैन थियो होला। उनको यो हौसलालाई पर्यटन बजारको नमन।

Facebook Comment

छुटाउनुभयो कि?