नेपालमा भएका ७ प्रदेश मध्ये पर्यटकीय हिसाबले पिछडिएको अन्तर्गत पर्दछ २ नम्बर प्रदेश। राम जानकी मन्दिर, गढीमाई , पर्सा राष्ट्रिय निकुञ्ज, विभिन्न ताल तलैया लगायत धेरै चर्चित गन्तव्यहरू हुदाहुदै पनि सोचेअनुरूप पर्यटन गतिविधिमा फड्को मार्न सकेको छैन। प्रस्तुत छ , प्रदेश २ को पर्यटन क्षेत्रलाइ समेटेर यसै प्रदेशका प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारसंग गरिएको कुराकानी :
२ नम्बर प्रदेशमा पर्यटकीय हिसाबले पछि पर्नुको कारण के हो ?
पर्याप्त पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि प्रदेश २ को पर्यटन विषयमा खासै चर्चा हुन सकेको छैन । यो प्रदेशमा भएका गन्तव्यको न कुनै प्रचार छ न त पर्यटकलाई यहाँ सम्म ल्याउन खासै कसरत नै भएको छ । यस प्रदेशमा हुने विभिन्न द्वन्द्वले पनि यस प्रदेशलाई पछि पारेको हो कि जस्तो लाग्छ मलाई । यहाँका जिल्लाहरूमा मधेसी जातिहरूको बाहुल्यता भएको र सुरु बाटै मधेसीलाई हेर्ने दृष्टिकोण नै पनि अलि फरक छ। त्यस्तै अर्को कारण चाहिँ अशिक्षा नै हो । शैक्षिक हिसाबले पनि हाम्रो प्रदेश थोरै पछि परेको छ , जसले गर्दा युवाहरू आफ्नै ठाउँमा केही गर्नु भन्दा खाडी मुलुक जान रुचाउँछन् । युवा नै बाहिरिएपछि विकास पनि बाहिरिँदै जाँदो रहेछ। तर पहिला जस्तो समय छैन , यहाँका बासिन्दा बाठा भएका छन् , आफ्नो गाउँको महत्त्वपूर्ण गन्तव्यलाई जगेर्ना गर्न अग्रसर देखिन्छन ।
प्रदेश २ मा पर्यटकको चहलपहल बढाउन गर्नै पर्ने कार्यहर के के छन् ?
२ नम्बर प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि सबैभन्दा पहिला यहाँका पर्यटकीय सम्भाव्यताको पहिचान हुनुपर्दछ । धार्मिक आस्था र संस्कृति नै प्रदेश २ को पर्यटनको मूल आधार हो ।
प्रदेश २ मा धार्मिक, प्राकृतिक, ऐतिहासिक वा सेवाका आधारमा अन्य पर्यटन स्थलहरू तोक्नु अत्यावश्यक देखिन्छ । त्यसरी स्थलहरूको पहिचान गरेर कनेक्टिभिटीका लागि पूर्वाधार तयार नगरे सम्म यस प्रदेशले गति लिन सक्ने अवस्था धेरै न्यून छ ।प्रदेश २ ले नयाँ पर्यटकलाई नयाँ बजार सिर्जना गरेर आर्कषित गर्नुपर्छ । त्यसका लागि गुरु योजना अति आवश्यक छ।
प्रारम्भिक चरणमा रहेको प्रदेश २ को पर्यटन उद्योगलाई अगाडि बढाउन व्यवसायी, मिडिया, अन्य सरोकारवाला सबै मिलेर लाग्नुपर्ने खाँचो छ । प्रकृति अवलोकनका लागि कोश टप्पुबाट सबै मिलेर सुरु गर्न सकिन्छ । त्यसपछि मध्य भागको जनकपुरको धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्धन गर्नुपर्ने देखिन्छ ।
वीरगन्ज अहिले पनि नेपाल प्रवेशको मुख्य प्रवेशद्वार हो । तर यो औद्योगिक र व्यापारिक वस्तुको पहिचानमा बढी समेटिएको छ । अहिलेसम्म अधिकांश भारतीय पर्यटक भैरहवा–सुनौली नाकाबाट भित्रिन्छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी त्यस क्षेत्रमा रहनुका कारण यो सम्भव भएको हो ।
यस प्रदेशमा भएका पर्यट्किय सम्भावना बोकेका क्षेत्रहरूलाई भन्नुपर्दा ?
प्रदेश २ लाई चम्काउने धेरै गन्तव्यहरू रहेका छन् । केही गन्त्ब्यहरु आफैमा परिचित छन् भने अझै पनि धेरै गन्तव्यहरू छाँया मै छन् । उदाहरणमा हामीले जनकपुरलाई लिन सक्छौ ।
जनकपुरको राम जानकी मन्दिर मात्र होइन, मैथिल कला र संस्कृतिको पनि केन्द्र हो । मिथिलाको कला विश्व चर्चित छ । बरु हामी यही बस्नेलाई कम जानकारी होला तर विदेशी राष्ट्रका अनुसन्धानकर्ताहरूलाई मिथिला कलाबारे धेरै थाहा छ ।
त्यस्तै प्रदेश २ को बागमती नदी पनि पर्यटनको हिसाबले एकदमै धेरै सम्भावना भएको ठाउँ हो । त्यहाँ सबै प्रकारका ‘वाटर स्पोर्टस’ र ‘बिच रिल्याक्स’ गर्न सकिन्छ ।
प्रदेश २ मा प्राकृतिक पर्यटनका लागि पर्सा राष्ट्रिय निकुञ्ज, ऐतिहासिक सिम्रौनगढ, धार्मिक केन्द्र गढीमाई लगायतका स्थलहरू छन् । यस खाले पर्यटनमा पश्चिमका ठोरीदेखि दुग्धेश्वर महादेवसम्मलाई जोड्न सकिन्छ ।
त्यसैगरी बारा–पर्सा औद्योगिक कोरिडोर आफैँमा पर्यटक ‘हब’ हो । हामीले बालबालिका र विद्यार्थीहरूलाई उद्योग घुमाउन सक्छौ । उद्योगहरूलाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्न पनि सकिन्छ ।
प्रदेश २ का सीमा सहरहरू पनि आफैँमा पर्यटन केन्द्रहरू हुन् । नेपाल र भारत बिच रोटी बेटिको सम्बन्ध अझै विशेष रहेको छ । धेरै नेपालीहरूले भारतीय महिला पुरुषसंग विवाह गर्दछन् ती दुवै तर्फका विवाह समेत नेपालमै हुने गरेको छ।
अर्को महत्त्वपूर्ण चिज भनेको प्रदेश २ को कला र संस्कृति पनि हो ।नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा पर्यटकहरूले खासै भिन्न संस्कृति पाउँदैनन् । तर, प्रदेश २ आउँदा उनीहरूले धेरै फरक पाउँछन् । मधेसका मानिस र बसोबास नै उनीहरूको चासोको विषय हुन सक्छ ।
निजगढ विमानस्थल र फास्ट ट्रयाकले प्रदेश २ को पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुर्याउने प्रबल सम्भावना देखिन्छ । फास्ट ट्रयाक बन्नेवित्तिकै लाखौँ मानिस घण्टाको हिसाबले यो प्रदेशसँग जोडिन आउँछन् । त्यसले हामीलाई सेवा र उत्पादन दुवै बेच्न सक्ने बनाउने छ ।
प्रदेशका महत्त्वपूर्ण गन्तव्यहरू कुन कुन हुन ?
वीरगंजनजीकै धार्मिक महत्त्वको गढीमाई छ । तर यो स्थलको पहिचान अहिलेसम्म प्रत्येक पाँच वर्षमा बढी बलि चढाइने मेलाबाट बाहिर ल्याउन सकिएको छैन, प्रयास नै भएको छैन । बारा जिल्लाकै सेरोफेरोमा कैयौँ यस्ता धार्मिक तथा पुरातात्त्विक महत्वका स्थानहरू छन् । तर जानकारीको अभावमा पर्यटक पुग्दैनन् ।
गढीमाईकै पूरक मेला मानिने बाराको जीतपुर, रौतहटको सुन्दरपुर, दुधियाधार, बलुवा, मदनपुर, माधोपुर, हर्दिया पल्टुवा तथा सर्लाहीको मिर्जापुर र खौर्वामा लाग्ने मेलाको खासै चर्चा सुनिँदैन । बाराकै सिम्रौनगढ ऐतिहासिक एवं पुरातात्त्विक धरोहर हो । यो अझै छाँया मै छ।
वीरगंजमैं घडीअर्वा पोखरी छ, तर त्यहाँ भएका आकर्षणको उपयोग त परको कुरा गतिलो सरसफाइसमेत छैन । वीरगंजका शक्ति पीठहरूको मह्तव र नजिकैको पर्सा राष्ट्रिय निकुञ्ज भारतीय पर्यटक लोभ्याउने आधार त हुन्, तिनको दोहनमा रणनीतिको अभाव छ । यी आकर्षणलाई मात्र व्यवस्थित गर्ने र रणनीतिक तरीकाले प्रचारप्रसार अभियान चलाउने हो भने वीरगन्ज पर्यटक भित्रिने मुख्य नाका बन्न सक्छ ।
वीरगन्ज भित्रिएका पर्यटकलाई कम्तीमा दुई दिन वीरगन्ज र दुई दिन जनकपुर क्षेत्रमा रोक्न सकियो भने त्यो २ नम्बर प्रदेशको पर्यटनमा ठुलो उपलब्धि हुनेछ । अहिले त वीरगन्ज बाटो मात्र बनेको छ । यहाँको पर्सा राष्ट्रिय निकुञ्ज पार गरेर पर्यटक चितवनको सौराहामा हात्ती चढ्न पुग्छन् । बाटोमैं पर्ने अमलेखगन्जमा पनि हात्ती चढ्न पाइन्छ भन्ने जानकारी पर्यटकसम्म पुर्याउन सकिएको छैन ।
महत्त्वपूर्ण गन्तब्यस्थल जानकी मन्दिर आस्थाको केन्द्र त हो, तर पर्यटकीय गतिविधि बढाउन थुप्रै सुधारको खाँचो छ । त्यहाँका ताल तलाउ, धार्मिक मेला महोत्सव, मिथिला संस्कृतिको प्रचार र व्यवस्थापन हुन सकेको छैन।
जनकपुर र भारतको अयोध्यासँग विशेष सम्बन्ध छ । यो धार्मिक आस्था र सांस्कृतिक सम्बन्धलाई हामीले पर्यटनको दृष्टिकोणबाट हेरेकै छैनौँ ।
यता सिराहाको सलहेश, सप्तरीको छिन्नजस्ता, ठेलिया दह, सर्लाहीको नाढिमन ताल, सतही बिहुला, नारायणपुर, नूनथर, महोत्तरीको पडौलस्थान, रौजा मजारलगायतका स्थानको उपयोग पर्यटकीय दृष्टिले हुन सकेको छैन ।
तपाईँ प्रतिनिधिसभा सदस्य भैसकेपछि २ नम्बर प्रदेश र यहाँको पर्यटनले कस्तो साथ पाएको छ ?
प्रतिनिधि सभा सदस्य भएपछि हाम्रो विशेष काम भनेको पोलिसी बनाउने हो । प्रदेश २ मा मात्र नभएर सिङ्गो नेपाल मै पर्यटक भित्र्याउन सहज वातावरण बनाउने कार्यमा निरन्तर लागेका छौँ । पहिला मलाइ स्विजरल्याण्ड , सिङापुर कस्तो होला जस्तो लाग्थ्यो तर जब म त्यहाँ पुगे तब थाहा भयो कि विदेशका भन्दा धेरै राम्रा ठाउँ त हाम्रै देशमा रहेछन् । हामी पर्यटन का हिसाबले विदेशी राष्ट्र भन्दा धेरै माथि छौँ तर हाम्रो पहुँच कम भयो , प्रचार प्रसार कम भएर मात्र नेपाल विश्व जगतमा पछि परेको हो भन्ने महसुस भयो। यिनै कुरालाइ मध्यनजर गर्दै विदेशी राष्ट्रका साथीभाइलाई हाम्रो क्षेत्रमा घुम्न आउने निम्तो गर्ने गरेका छौँ । उहाँहरू नेपालमा हाम्रो प्रदेशमा भएका गन्तव्य घुम्नु भनेको पनि एउटा राम्रो पक्ष हो ।
छुटाउनुभयो कि?